कर्णाली सरकारले मनायो संविधान दिवस



सुर्खेत ।

कर्णाली प्रदेश सरकारले संविधान दिवस मनाएको छ । संविधान जारी भएको १० वर्षको अवसरमा प्रदेश राजधानी वीरेन्द्रनगरमा औपचारिक कार्यक्रम गरी दिवस मनाइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा शुक्रबार बिहान साढे ७ बजे वीरेन्द्रनगरको मंगलगढी चोकबाट दिवस झल्किने ब्यानर प्लेकार्ड, ब्यान्ड बाजासहित प्रभातफेरी गरिएको थियो । प्रभातफेरीपछि प्रदेश रङ्गशालास्थित कभर्ड हलमा औपचारिक कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख, सभामुख, सबै दलका सांसद, पूर्वमुख्यमन्त्री, कर्मचारी र सरोकारवाला निकायको उपस्थित रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यामलाल कँडेलले संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज भएको बताए। नागरिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकार प्रयासरत रहेको भन्दै भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकारको मागसहित सडकमा आएको जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिप्रति चिन्ता समेत व्यक्त गरे ।

‘नागरिकलाई राज्यप्रतिको भरोसा टुट्न नदिनु राज्यको दायित्व हो । युवा पुस्तामा देखिएको निराशालाई बुझेर समस्या समाधान गर्न पर्याप्त पहल नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढ्नुलाई अन्यथा मान्नु हुँदैन’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलनका नाममा भएका आगजनी, तोडफोड र विध्वंसात्मक घटनाले सबैलाई स्तब्ध बनाएको छ । लोकतन्त्र, कानुनी राज्य र विधिको शासनमा यस्ता घटना कल्पनासमेत गर्न सकिदैँन ।’

लोकतन्त्रका पक्षधरहरूलाई राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षार्थ एकताबद्ध हुन समेत उनले आग्रह गरे । संविधान निर्माणपछि जनताको राजनीतिक अधिकार प्राप्तिको चरण सम्पन्न भएको उनको भनाइ छ । अब सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नुपर्ने भन्दै जेन–जी पुस्ताले उठाएका मागहरू यसै संविधानभित्र रहेर पूरा गर्न सकिने प्रशस्त आधारहरू रहेको उनले बताए । साथै संविधानलाई संशोधन गरी थप परिष्कृत गर्न सकिने उनको तर्क छ ।

‘तर पछिल्लो आन्दोलनले मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुभन्दा थप राजनीतिक अस्थिरता र अराजकताको भुमरीतर्फ धकेल्ने स्पष्ट छ’ उनले थपे, ‘संघीयता, लोकतन्त्र, समावेशी समानुपातिक व्यवस्था लगायतका महत्वपूर्ण उपलब्धिमाथि प्रहार गर्ने नियतले गरिएका असंवैधानिक एवम् अराजक गतिविधिले सबै चिन्तित बन्नुपर्ने अवस्था आयो ।’

अहिलेको विषम परिस्थितिमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै सबै राजनीतिक दलहरू, नागरिक समाज र युवा पुस्तालाई धैर्य रही थप एकताबद्ध हुन उनको अपिल छ । प्रदेश संरचना नै संघीयताको खास पहिचान भएको भन्दै यसप्रति उठेका टीका–टिप्पणीलाई समयको माग बमोजिम सुधारात्मक बनाउनुपर्ने आवश्यकता उनले औँल्याए । मुख्यमन्त्री कँडेलले संविधान दिवसको शुभकामना सन्देश दिँदै जेन–जी पुस्ताको प्रदर्शनपछि देशैभरि भएका आगजनी, हिंसा र लुटपाटका घटनाले गम्भीर चुनौती सिर्जना गरेको बताए । यी घटनाले मुलुकलाई दशकौँ पछाडि धकेल्ने प्रयास भएको उनको भनाइ छ ।

‘‎यस्तो अवस्थामा राष्ट्रिय एकताका लागि सबैलाई एकताबद्ध हुन आह्वान छ । पछिल्लो आन्दोलनले मुलुकलाई आर्थिक समृद्धि भन्दा थप राजनीतिक अस्थिरतातर्फ धकेल्यो’ उनले भने, ‘राजनीतिक स्थायित्व कायम गरी समृद्धि हासिल गर्न तीन तहका सरकारबीच समन्वय जरुरी छ। संविधानको मूल मर्मअनुसार संविधान दिवसले सबैलाई थप जिम्मेवार बन्न प्रेरणा मिलोस् ।’

 

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ४ गते शनिबार