सुदूरपश्चिम ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सुदूरपश्चिमका ९ जनाले ज्यान गुमाएका छन् । आन्दोलनका क्रममा पहिलो दिन ३ जना र दोस्रो दिन ४ जनाले ज्यान गुमाएका हुन् । जसमा २ जनाले भने आन्दोलनकै क्रममा कारागारबाट भाग्दै गर्दा ज्यान गुमाएका छन् । भदौ २३ गतेको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर धनगढी उपमहानगरपालिका – ५ तारानगरका गौरव जोशीको निधन भएको थियो । २७ वर्षीय गौरव ३ वर्षअघि धनगढीको ऐश्वर्य विद्या निकेतनबाट विज्ञानमा प्लस टु सकेर काठमाडौँ गएका थिए ।
गौरवले युके जाने तयारीमा थिए । जेनजी आन्दोलनमा गौरव अस्ताउँदा वृद्ध आमाबुबाको सहाराको टेको नै ढलेको छ । भदौ २३ गते प्रहरीको गोली लागेर खप्तड छान्ना गाउँपालिका–७, गोर्खाली गाउँमा सुवास बोहराको पनि निधन भएको छ । २१ वर्षीय सुवास भाषा परीक्षा पास गरेर जापान जाने तयारीमा थिए । तर, जापानको भिसा लागेको केही दिनमै उनका बुबा दीपक बेपत्ता भएपछि उनको जापान जाने सपनामा ब्रेक लागेको थियो ।
त्यसपछि भारतको बेङलुरु पुगेर फेरी आमाले जापान पठाउने ढाडस दिएपछि काठमाण्डौँ फर्किएका उनी संसद् भवन अगाडिको गेटमा गोली लागेर निधन भएको थियो । छोरोलाई जापान पठाउन भारतको बेङलुरुबाट मजदुरी गर्दै गरेकी आमा र सुवाससँगै काठमाडौँमा बस्दै गरेका भाइको बिचल्ली भएको छ । भदौ २३ गते आन्दोलनका क्रममा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ सुपाना गाउँका २१ वर्षीय योजन बुढा (ओजन)को पनि निधन भएको छ ।
उनी काठमाडौँको पशुपति क्याम्पसमा स्नातक अध्ययनरत थिए । काठमाडौँमा डेरा गरी बस्ने योजनका बुवा मअडीपालले भारतमा मौसमी मजदुरी गर्दै आएका थिए । प्रदर्शनका क्रममा बेपत्ता भएका योजनलाई टाउकामा गहिरो घाउ र एउटा हात भाँचिएको अवस्थामा आफन्तले अस्पतालमा शव फेला पारेका थिए । भदौ २४ गते कालीमाटीमा प्रहरीले चलाएको गोली लागेर बझाङका २८ वर्षीय भीमराज धामीको पनि निधन भएको थियो ।
कीर्तिपुर बस्ने भीमराज कृषि व्यवसायी थिए । उनकी श्रीमती, २ महिनाका छोरा र ७५ वर्षकी आमा छन् । भदौ २४ गते प्रहरीको गोली लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीका ४८ वर्षीय नीरज पन्तको पनि निधन भएको छ । उनी श्रीमतीसँगै काठमाडौँको महाराजगन्जमा आयुर्वेदिक औषधि व्यवसाय गर्थे । २५ वर्षअघि काठमाडौँ छिरेका उनी उतै व्यवसाय गरेर बस्दै आएका थिए ।
२४ भदौको प्रदर्शनमा गोली लागेर गम्भीर घाइते भएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदको पनि उपचारका क्रममा निधन भएको छ । काठमाडौँको कीर्तिपुरमा बसेर कोरियन भाषा सिकिरहेका उनलाई बुवा कालु सिंहले जेनतेन गरेर छोरालाई भाषा कक्षा लिन काठमाडौँ पठाएका थिए ।
गोली लागेर गम्भीर घाइते भएका दीपकको शुक्रबार साँझ ८ बजे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। भदौ २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनमा महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी जवान उत्तमसिंह थापाको पनि निधन भएका थियो । दार्चुलाको लेकम गाउँपालिका– ३ लाली घुम्खोली थापालाई आन्दोलनकारीले डिएसपी भन्दै क्रूर रूपमा कुटीकुटी हत्या गरेका थिए ।
बाल सुधारगृहमा २ जनाको मृत्यु
२४ भदौ राति बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा रहेका बालबिज्याइँकर्ता भाग्न खोज्दा प्रहरीले गोली लागेर ५ जनाको निधन भएको थियो । जसमध्ये २ जना सुदूरपश्चिमका रहेका छन् । गोली लागेर निधन हुनेमा अछामका २१ वर्षका उमेश विष्ट, कैलालीका १९ वर्षका जगत देउवा रहेका छन् । उनीहरू जबरजस्ती करणी मुद्दामा बाल सुधारगृह पुगेका थिए ।








प्रतिक्रिया दिनुहोस्