सुर्खेत ।
जेनजी आन्दोलनले कर्णाली प्रदेशमा ६० वटा भौतिक संरचनासहित ४५ वटा सवारीसाधन ध्वस्त भएका छन् । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कर्णालीमा अर्बौँ रूपैयाँँको क्षति भएको हो । आन्दोलनरत पक्षबाट भएको आगजनी र तोडफोडबाट कर्णालीका १० जिल्लामा रहेका सरकारी कार्यालय, निजी घर, पार्टी कार्यालय र विभिन्न संस्थाका गरी ६० वटा भौतिक संरचनामा क्षति पुगेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गरेको अनुगमनका क्रममा ४५ वटा सवारीसाधन तोडफोड तथा आगजनी गरेको पाइएको छ ।प्रदेशका १० जिल्लामध्ये सुर्खेत, जुम्ला, कालीकोट, मुगु र डोल्पामा सरकारी कार्यालय, संस्थाका कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय, सरकारी निवास र जनप्रतिनिधिका निजी निवासहरूमा तोडफोडसँगै आगजनी गरेको पाइएको हो । यस्तै जाजरकोट, हुम्ला, दैलेख, सल्यान र रूकुम पश्चिममा आन्दोलनकारीहरुले प्रदर्शन गरेपनि सार्वजनिक र निजी सम्पत्ति तोडफोडका घटना नभएको इन्सेक कर्णालीले जनाएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालयले आन्दोलनपछि क्षतिग्रस्त भौतिक संरचना तथा अन्य क्षतिको विवरण संकलन गरेको हो । इन्सेकको विवरणअनुसार सबैभन्दा बढी क्षति सुर्खेतमा भएको छ । त्यसमा पनि प्रदेश राजधानी रहेको वीरेन्द्रनगरका सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएको छ । इन्सेक कर्णाली संयोजक नारायण सुवेदीका अनुसार सुर्खेतमा मात्रै २८ वटा सरकारी संरचना तथा ८ वटा निजी सम्पत्तिका संरचना तोडफोड गर्नुका साथै आगजनी गरिएको छ भने पाँच वटा राजनीतिक दलका पार्टी कार्यालय र तीन वटा संघसंस्थाका कार्यालय गरी ४४ वटा भौतिक संरचनामा क्षति पुगेको उनले बताए ।
आन्दोलनरत पक्षले ती संरचनामा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका थिए । आन्दोलनकारीहरूले प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेका कर्णाली प्रदेशसभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, झुप्रा बृहत् खानेपानीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्य न्यायाधिवक्ताको कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।
यस्तै वीरेन्द्रनगर नगरपालिकाको कार्यालयसँगै १२ वटा वडा कार्यालय तोडफोड गर्नुका साथै जलाइदिएका छन् भने उच्च सरकारी वकिलको कार्यालय, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको कार्यालय, श्रीकृष्ण तथा साधारण माध्यमिक विद्यालय, मुख्यमन्त्रीको सरकारी निवास, कृषिमन्त्री, भौतिकमन्त्री निवास, हिमाली पुस्तकालय वीरेन्द्रनगर, नेपाल रेडक्रस सोसाइटी भैरवस्थान उपशाखा लगायतका सार्वजनिक कार्यालयहरूमा तोडफोडसँगै आगजनी गरिएको तथ्यांक सार्वजनिक भएको छ ।
इन्सेकको विवरणअनुसार नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ भने काँग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवास, मुख्यमन्त्री यामलाल कँडेलको निजी निवास, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमायाँ ढकाल र उपप्रमुख नीलकण्ठ खनालको निजी निवास, प्रदेश अस्पतालका पूर्वनिर्देशक डाक्टर डम्बर खड्काको निवास, विष्णु खड्काको माया पेट्रोल पम्पमा तोडफोडसँगै आगजनी गरी क्षति पु¥याइएको छ ।
आन्दोलनकारीहरूले प्रदेशसभा भवनसँगै त्यहाँ रहेको एनआईसी एसिया बैंकको एटीएमसमेत तोडफोडसँगै आगजनी गरेका छन् ।प्रदेशसभाका कानुन अधिकृत मदन खड्काका अनुसार सभाको सबै संरचना ध्वस्त भएको छ । सबै संरचना गरी अर्बको हाराहारीमा क्षति पुगेको अनुमान गरिएको उनले बताए । त्यस्तै सुर्खेतमा मात्र आन्दोलनकारीहरूले गरेको आगजनीका कारण ११ वटा सरकारी गाडी र आठ मोटरसाइकलमा क्षति पुगेको छ । निजी सवारीअन्तर्गत दुई गाडी र पाँच मोटरसाइकलमा क्षति पुगेको विवरण छ ।
उता जुम्लामा आन्दोलनकारीहरूले एक सरकारी कार्यालय, पाँच पार्टी कार्यालय गरी ६ वटा कार्यालयमा आगजनीसँगै तोडफोड गरेका छन् भने आठ वटा सरकारी गाडी र ११ वटा मोटरसाइकल तोडफोडसँगै आगजनी गरेका छन् । आन्दोलनकारीहरूले एम्बुलेन्स, शववाहन र दमकलमा समेत तोडफोड गरेको इन्सेक कर्णाली संयोजक सुवेदी बताउँछन् । यसैगरी कालीकोटमा आन्दोलनकारीहरूले काँग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, समाजवादी, नेमकिपा र राप्रपाका गरी सात वटा पार्टी कार्यालयमा तोडफोडसँगै आगजनी गरेका छन् ।
मुगुमा काँग्रेस र एमालेको पार्टी कार्यालय तोडफोड भएको छ । आन्दोलनकारीले मुगुको छायाँनाथ रारा नगरपालिकामा नगर प्रमुखको कार्यकक्षभित्र पसेर राष्ट्रपति र प्रधानमन्त्रीको फोटो निकालेर जलाएका थिए । त्यसैगरी भदौ २४ गते नै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरस्थित काँग्रेस नगर समितिको कार्यालय रहेको स्थानीयको घरमा आन्दोलनकारीले ढुंगामुढा हानेर तोडफोड गरेका थिए ।आन्दोलनबाट अर्बौँको सार्वजनिक तथा निजी सम्पत्ति क्षतिग्रस्त भएको छ भने सेवा प्रवाह गर्ने कार्यालयहरूमा समस्या भइरहेको छ ।
कागजात जलेपछि नापीलाई सकस
नापी कार्यालय सुर्खेतमा २०२८ सालदेखिका कागजात जलेर नष्ट भएका छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनीबाट कागजात जलेका हुन् । नागरिकको सम्पत्तिको मुख्य प्रमाण नै नष्ट भएपछि कार्यालयलाई थप कामको जिम्मेवारी थपिनुका साथै अन्योलता छाएको छ । आगजनीबाट नापी कार्यालयको पहिलो र दोस्रो तलामा राखिएका नक्सा, पुराना निर्णय तथा दस्ताबेज, कित्ताकाट, प्लट रजिस्टरलगायत महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् ।
कार्यालय प्रमुख दिनेश भण्डारीका अनुसार मानिसको सम्पत्तिको प्रमाण मानिने जग्गाको नक्सालगायतका कागजात नष्ट भएका छन् । २०२८–०२९ सालदेखिका महत्वपूर्ण कागजात सबै जलेर खरानी भएको उनले बताए । ‘वीरेन्द्रनगर नगरपालिका–७, ८ र ९ को नयाँ नापीका कागजात पनि जलेका छन््,’ उनले भने, ‘अब सेवाग्राही सेवा लिन आएको खण्डमा उहाँलाई सेवा दिने कुनै पनि कागजात छैनन् । कागजातका साथै महत्वपूर्ण तथ्यांक रहेका २२ वटा कम्प्युटर पनि जलेका छन् ।’
यस्तैै नेटवर्किङ, वायरिङ, सिसी क्यामरा, डिजिटल टोकन, नक्सालगायतका सामान पनि जलेर नष्ट भएका छन् । कार्यालयले सूचना जारी गरेर अर्को व्यवस्था नभएसम्मका लागि सेवा प्रदान गर्न नसकिने जनाएको छ । कार्यालय प्रमुख भण्डारीले कार्यालयका सामान तथा कागजात सबै जलेर खरानी भएको बताउँदै अर्को सूचना जारी नभएसम्म सेवा दिन नसकिने बताए । उनका अनुसार पुरानो अवस्थामा फर्कन अझै धेरै समय लाग्ने देखिन्छ ।
तर केन्द्रीय कार्यालयसँग समवन्य गरेर तथ्यांक रिकभर गर्ने प्रयास भइरहेको उनले बताए । ‘बाक्लो फलामे दराजमा रहेका कारण केही फिल्ड बुक बचेका छन् । अन्य सामान जलेर ध्वस्त छन्,’ उनले थपे, ‘आगजनी भएको करिब एक सातापछि कार्यालयमा भएको क्षतिको मुचुल्का आइतबार तयार गरिएको छ । आगजनीबाट दुई वटा मोटरसाइकल र एउटा गाडी पनि जलेको छ ।’ फर्निचर र भौतिक संरचनाबाहेक कार्यालयमा दुई करोड बढीको क्षति भएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।
कार्यालय प्रमुखदेखि सबै कर्मचारी सोमबारदेखि कार्यालयको सरसफाइमा जुटेका छन् । जलेका कागजात हेर्दा पनि पहिचान गर्न नसक्ने अवस्थामा छन् । कार्यालयका कागजात क्षति भएपछि कामको भार थपिएको कर्मचारी बताउँछन् । कार्यालयमा कुनै कागजात नभएपछि मालपोतबाट मगाउनुपर्ने, रुजु गर्नुपर्ने हुँदा समयको चाप, कामको भार थपिदाँ सकस परेको हो । क्षति भएको कार्यालयको मर्मत गर्नपनि समय र रकम बढी नै लाग्ने देखिन्छ ।








प्रतिक्रिया दिनुहोस्