वीरेन्द्र जैसी । नेपालगन्ज ।
राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट राजस्वसम्बन्धी अनुसन्धानका लागि बरामद गरिएका नोट र सुनचाँदीहरू भदौ २४ गते आन्दोलनका बीच केही व्यक्तिहरूले लुटेर लगे । लकरसमेत तोडेर नगद रकम तथा सुनचाँदी निकालिँदै गरेको सामाजिक सञ्जालमा आएको भिडिओमा देखिन्छ । यसबीच अनुसन्धान कार्यालय र प्रहरीले पनि सरकारी कार्यालयबाट लगिएका सामग्रीहरू फिर्ता गर्न सूचना जारी ग¥यो ।
सूचनापछि मंगलबार केही व्यक्तिहरूले त्यसरी लगिएको केही रकम र सुनचाँदी फिर्ता गरेका छन् । तर, राजस्व अनुसन्धान कार्यालय कोहलपुरका सूचना अधिकारी खगकप्रसाद उपाध्यायले कार्यालयबाट लगिएका सबै सुनचाँदी र रकम प्राप्त नभएकाले कार्यालयले अहिले बुझिनसकेको बताए । ‘हामीले सबै रकम र सुनचाँदी फिर्ता नआएसम्म बुझ्न सकिँदैन भनेर लिएका छैनौँ । सबै रकम र सुनाचाँदी प्रहरी कार्यालयमै छ,’ उपाध्यायले मिसन टुडेसँग भने ।
यता इलाका प्रहरी कार्यालय कोहलपुरले कर्मचारी र स्थानीय समाजसेवीहरूको रोहबरमा फिर्ता गर्न आएको रकम बुझी रकम लिएका व्यक्तिहरूलाई पक्राउ नगरी छोडिदिएको छ । कोहलपुर इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले त्यसरी सामान फिर्ता गर्न आएका व्यक्तिहरू सोझै नआई स्थानीय समाजसेवीमार्फत बुझाउन आएकाले हाललाई कागज गरेर उक्त सामानहरू बुझेर पठाइएको र थप सामान पनि बुझाउन भनिएको बताउँछिन् ।
तर, सामान बुझाउन आएका एकजना व्यक्ति ३२ वर्षका अजय परियारलाईसमेत प्रहरीले नियन्त्रणमा नलिई छोडेको छ । यस्तोमा फिर्ता आउन बाँकी रकम र सुन चाँदी फिर्ता आउने नआउने यकिन छैन । कोहलपुर प्रहरीका अनुसार फिर्ता आएको रकम नेपाली रूपैयाँँ एक लाख सत्र हजार ६ सय ५०, भारतीय रूपैयाँँ ८४ हजार तीन सय ६० फिर्ता आएको छ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरका अधिकृत उपाध्याय नेपाली रकम पाँच लाख बढी रहेकोमा अहिले प्राप्त रकम निकै कम भएको र भारु भने लगभग फिर्ता आएको बताउँछन् ।
अर्काे सुन ४२१.३२ ग्राम फिर्ता आएकोमा त्यो लुटिएकोमध्ये आधामात्रै रहेको उपाध्यायले बताए । चाँदी करिब ११ किलोग्राम रहेकोमा नौ किलो नौ सय ८४ ग्राम मात्रै फिर्ता आएको छ । उपाध्यायले सबै रकम र सुनचाँदी फिर्ता नआएसम्म बुझ्न अप्ठ्यारो हुने बताउँछन् । डीएसपी खनालले अहिलेसम्म लगेको सामान वा रकम फिर्ता गर्न आउनेबाट बुझ्ने मात्रै निर्देशन रहेकाले बाँकी थप अनुसन्धानका लागि माथिल्लो निकायबाट निर्देशन आएबमोजिम गरिने बताइन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्तीमगर पनि अहिले सार्वजनिक सूचना जारी गरेर सामान फिर्ता गर्न आउने समय दिइएको बताउँछन् । तर, फिर्ता गर्न नआएमा प्रहरी चुप लागेर नबस्ने उनले बताए । प्रहरीले विशेष टोली बनाएर अहिले सर्च र निगरानी गरिरहेको उनको भनाइ छ । ‘नागरिकहरूले यतिबेला इमानदारिपूर्वक लगेका सम्पत्तिहरू फिर्ता गर्नुहुन्छ भन्ने विश्वास । गर्नुभएन भने प्रहरीले त आफ्नो काम गर्छ नै । हामी अहिलेपनि गरिरहेका छौँ,’ एसपी घर्तीमगरले भने ।
तर, अहिले सामान फिर्ता गर्न आउनेहरूलाई धेरैजसो कार्यालयले धन्यवाद दिँदै पठाइरहेका छन् । फर्निचर, कम्प्युटरलगायकतका धेरैजसो सामानहरू लुटपाट नै भएको कर्मचारीहरूको भनाइ छ । यस्ता सामानहरू फिर्ता गराउन सकिएमा धेरै राहत हुने उनीहरूको भनाइ छ । तर, खराब नियत रहेका व्यक्तिहरूलाई त्यसै छोड्न नहुने कर्मचारीहरू बताउँछन् । नेपालगन्जस्थित भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख सविनसिंह चौधरी पनि धेरैजसो कम्प्युटरलगायतका सामानहरू लुटिएको बताउँछन् ।
अहिले कार्यालयहरूले के गुमाए भन्दा पनि के बचेको छ त्यसलाई उपयोग गरेर सेवा थालनीको उपाय लगाउनुपर्ने अवस्था रहेको चौधरीको भनाइ छ । यस्तोमा लुटिएका सामानहरू फिर्ता गर्न सकिएमा धेरै राहत हुने उनले बताए । प्रहरीले अहिले लुटपाटमा संलग्नहरूमाथि धेरै कडाइ नगरेको देखिन्छ । अहिलेसम्म आगजनी र लुटपाटमा संलग्न दुईजना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि अहिले म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।
अर्काेतिर लुटपाटमा संलग्नहरू कुनै न कुनै राजनीतिक दलमा आबद्ध रहेको देखिन्छन् । यस्तोमा प्रहरीले सबै संलग्नहरूमाथि प्रभावकारी अनुसन्धान गर्ने÷नगर्नेमा आशंका गर्न सकिन्छ । अहिले प्रहरीको कुरा सुन्दा लुटपाटमा संलग्नविरुद्ध ठ्याक्कै कस्तो रणनीति अपनाउने भन्ने अन्यौलमा रहेको देखिन्छ । बाँकेका प्रहरी प्रमुख एसपी घर्तीमगरले भने, ‘अहिले पहिलो चरणमा हामीले सम्भावित व्यक्तिमाथि निगरानी राख्ने, सर्च गर्ने काम गरिरहेका छौँ । तर, अहिलेको समस्या राजनीति घटनासँग पनि जोडिएकोले मन्त्रालयबाट पनि केही निर्देशन आउला । त्यसपछि सोहीअनुसार अघि बढ्छ,’ एसपी घर्तीमगरले मिसन टुडेसँग भने ।
बाँके जिल्लामा सरकारी र निजी गरी करिब ४७ वटा कार्यालय, भवन तथा संरचनामा आगजनी तथा तोडफोड गरिएको छ । जसबाट अर्बाैँ रूपैयाँँ बराबरको नोक्सानी भएको छ । अहिले क्षतिको विवरण संकलन गर्ने काम चलिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्