शेरबहादुर ऐर । कैलाली ।
बाहिर प्राङ्गणमा नवनिर्मित प्रतिक्षालय आगजनीका कारण तहसनहस छ । भवनको ढोका अगाडिको झ्याल तोडफोड गरिएको छ । प्राङ्गणमा रहेका गाडीहरूको सिसा फुटाइएको छ । तर, सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अहिले सुचारु राख्न सकिने अवस्थामा रहेको छ ।
भदौ २४ गते उग्र बनेको जेनजी समूहको आन्दोलनका कारण प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशसभा सचिवालय आगजनीले भग्नावेश बनिरहँदा मन्त्रालयको संरचना जोगाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कर्मचारीहरू सफल भए । असार १९ गते मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि मन्त्रीविहीन छ । यो मन्त्रालयको जिम्मेवारी हालसम्म मुख्यमन्त्री शाहकै नेतृत्वमा रहेको छ ।
मन्त्रालयका प्रवक्ता भरत श्रेष्ठले भने, ‘कर्मचारीहरूले आन्दोलनकारीलाई अनुरोध गरेका कारण भौतिक संरचनामा क्षति हुन पुगेन । भवनको अगाडिपट्टीका झ्यालको सिसा फुटेको छ । प्राङ्गणमा रहेको गाडीको सिसा फुटाइएको छ । मन्त्री र उपसभामुख निवास सुरक्षित रहेको छ ।’
उनले भौतिक संरचना जोगाउन सफल कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले भने, ‘भवनमा आगजनी भएको भए मन्त्रालयमात्र नभई मन्त्री र उपसभामुख निवास पनि क्षतविक्षत हुनेथियो ।
तर, कर्मचारीहरूको अनुरोध गरेकै आधारमा प्रदर्शनकारीले आगजनी गर्न पाएनन् । केही गाडी देखेका कारण उनीहरूले तोडफोड गरेका छन् ।’ मन्त्रालयको प्रिफ्याबबाट बनाइएको पर्यटन इकाई तोडफोडका कारण क्षतविक्षत रहेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगै प्रदेशको सामाजिक विकास मन्त्रालय पनि भग्नावेश हुनेबाट सुरक्षित रह्यो । जेनजी आन्दोलनका क्रममा मन्त्रालयमा भएको आगजनीले सभाहल कक्षमा रहेका कुर्ची र टेबल जलेर नष्ट भएको छ । सोही कक्षको पर्खाल भत्किएको छ ।
तर, मन्त्री कक्ष, सचिव कक्ष तथा अन्य कक्षहरूमा क्षति पुगेको छैन । आगजनी समयमै नियन्त्रण भएकोले भवनभित्र अन्य संरचनामा क्षति नपुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सवारीसाधनहरू जलाइएको छ । प्रदेशको मुख्य न्यायधिवक्ता कार्यालयको पुरानो भवन जलेर नष्ट भएको छ भने नवनिर्मित भवनका झ्यालका सिसाहरू तोडफोड गरिएको छ । पुरानो भवनमा आगलागी हुँदा अभिलेखहरू संरक्षण गर्न नसकिएका कार्यालयले जनाएको छ । यद्यपि नवनिर्मित भवनबाट सेवा सुचारु गर्न सकिने जनाइएको छ ।
मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले निरीक्षणका क्रममा केही मन्त्रालयहरू वैकल्पिक भवन उपयोग गरि सेवा सुचारु गर्ने अवस्थामा रहेका छन् । तर, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला मन्त्रालय र सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा अझै सेवा सुचारु गर्न समय लाग्ने देखिएको जनाइएको छ ।
जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम सरकार मातहत रहेको प्रदेश लेखा नियन्त्रक कार्यालय, श्रम तथा रोजगार कार्यालय, प्रदेश लोकसेवा आयोग, नीति तथा योजना आयोग, वन निर्देशनालय, डिभिजन वन कार्यालय धनगढीका भवनहरू संरक्षण भएपनि त्यहाँका सामानहरू लुटपाट तथा नष्ट गरिएको छ । निरीक्षणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले जेनजी आन्दोलनका क्रममा अकल्पनीय घटना घटेको र थुप्रै संरचनामा क्षति पुगेको बताए ।
प्रदेश सरकारबाट विषम परिस्थितिमा पनि सेवा सुचारुका लागि संयन्त्र परिचालन यसअघि नै भइसकेको दाबी मुख्यमन्त्री शाहको थियो । ‘सेवा सुचारुको अवस्था के छ भन्नेबारे जानकारी लिनका लागि निरीक्षणमा निस्केका हौँ,’ उनले भने, ‘दुई–चार दिनभित्र नै सबै सेवा सुचारु गर्ने तयारीमा छौँ ।’ २४ भदौमा भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरामा बढी क्षति पुगेको थियो ।
कैलालीमा क्षतिको प्रारम्भिक विवरण संकलन भइसकेको छ । आन्दोलनका क्रममा कैलालीमा मात्रै एक सय ३७ वटा भवनमा क्षति पुगेको छ । छ सय ७८ वटा सवारीसाधन जलाइएको छ । यस्तै जेनजी आन्दोलनमा सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा तीन करोडको क्षति पुगेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार त्यहाँ सरकारी र निजी भवन गरी ३२ वटा भवनमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका छन् ।
प्रदेशसभामा ९० प्रतिशतभन्दा बढी क्षति
सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिममेलीहरूको मानसिकता नै विकासप्रेमी नभएको बताएका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालयलगायत अन्य कार्यालयको अनुगमन गर्ने क्रममा ठूलो क्षति भएको अनुमान गरिएको छ ।
प्रदेशसभा भने करिब ९० प्रतिशत जति क्षति भएकाले प्रदेशसभा सञ्चालनका लागि लामो समय लाग्ने सभामुख भण्डारीले बताए । ‘जेनजी आन्दोलनका क्रममा नहुनुपर्ने दुःखद् घटना भयो । निर्वाचित प्रतिनिधिहरूसँगको आक्रोश भौतिक संरचनामाथि देखाउनु हामी सबैको साझा क्षति गर्नु हो । आज हामी छौँ, भोलि अरु कोही आउँछन् । यो कमजोर मानसिकता भएका विकासै नचाहने व्यक्तिहरूबाट भएको कार्य भएकाले यसमा जो जो संलग्न छन् कारबाहीको भागीदारसमेत हुनुपर्छ,’ सभामुख भण्डारीले भने ।
सभामुख भण्डारीले जेनजीको आन्दोलन एकातिर, काम कर्तव्य अर्कातिर निर्वाह भइरहेकाले कतै यो आन्दोलन औचित्यविहीन हुन्छ कि भन्ने लागिरहेको समेत बताए । यस्तै परिस्थिति रहे कतै देशलाई गृहयुद्धमा धकेल्छन् कि भन्ने चिन्ता लागिरहेको सभामुख भण्डारीको भनाइ रहेको छ ।








प्रतिक्रिया दिनुहोस्