बाँकेमा आगजनी र तोडफोड गर्ने दुईजना पक्राउ



नेपालगन्ज ।

बाँके प्रहरीले जेनजीका नाममा आगजनी र तोडफोडमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूमा एकजना नेपालगन्जका शालिकराम पाठक र अर्का सुर्खेतको बराहताल गाउँपालिकाका दीपक टमट्टा रहेका छन् । नेपालगन्जका ३९ वर्षीय शालिकराम पाठकले नेपालगन्ज उपमहानगरमा आगजनी र तोडफोड गरिरहेको भिडिओ नै सार्वजनिक भएको थियो ।

फेसबुकमा रहेको एक भिडिओमा पाठकले नेपालगन्ज उपमहागरपालिकाका प्रमुख प्रशान्त विष्टको गाडीमा आगजनी गरिरहेको र तोडफोड तथा आगजनीका लागि उक्साइरहेको देखिन्छ । सोही भिडिओका आधारमा पाठकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । उपमहागरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका अनुसार पाठक सधैँ उपमहानगरमा आएर बसिरहने गर्दथे ।

सोही आधारमा उनको पहिचान खुलेपछि प्रहरीकहाँ जाहेरी दिएर पक्राउ गर्न सहज भएको छ । यसैगरी सुर्खेतका ३५ वर्षीय टमट्टाका साथबाट स्मार्ट लाइसेन्सहरू बरामद भएको हुँदा उनको यातायात कार्यालय तोडफोड तथा आगजनीमा संलग्नता हुने आशंकामा पक्राउ गरिएको छ ।टमट्टालाई सोमबार नै पक्राउ गरी म्याद थपेर अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

पक्राउ परेकाहरूमाथि अहिले सरकारी सम्पत्तिमा हानीनोक्सानी पु¥याउने गरी उपद्रव गरेको कसुरमा अनुसन्धान भइरहेको र पछि प्रमाण तथा अनुसन्धानअनुसार आवश्यक कारबाही गरिने एसपी घर्तीमगरले बताएका छन् । प्रहरीले अहिले लुटपाट गरिएका वा कुनै कारणले आफूसँग रहेका सरकारी तथा व्यक्तिगत सम्पत्ति भए फिर्ता गर्न आग्रह गरिरहेको छ ।

यदि फिर्ता गर्न नआएमा कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । विभिन्न कार्यालयहरूले आगजनी तथा लुटपाटसम्बन्धीका भिडिओ, फोटो तथा अन्य सूचनाहरू उपलब्ध गराउन सूचना जारी गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १ गते बुधबार