नेपालगन्ज ।
बाँकेमा वर्षाजन्य विपद्को रोकथाम र उद्धारका लागि प्रहरी प्रशासन अलर्टमा रहेको अधिकारी र जनप्रतिनिधिहरूले बताएका छन् । आइतबार रातिदेखि सोमबार दिउँसोसम्म लगातार परेको वर्षापछि बाँकेमा डुबान तथा बाढीको ठूलो समस्या ननिम्तिएको भएपनि ठूलो पानी परेमा जोखिम निम्तन सक्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ । यही समयमा जेनजी आन्दोलनका कारण जिल्ला प्रशासन कार्यालय बाँकेमा आगजनी गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयसहित आपत्कालीन कार्यसञ्चालन केन्द्रमा रहेका ४९ थरीका करिब २० लाख रूपैयाँँबढीका उद्धार तथा राहत सामग्रीहरू आगजनी र लुटपाट गरिएका छन् । कन्टेनरसमेत तोडफोड गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका नगर प्रहरीका सबै सवारीसाधनहरू जलाइएका छन् ।
तर, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र जिल्ला प्रशासनमा रहेका उद्धार सामग्रीहरू सुरक्षित रहेकोले उद्धार तथा प्रतिकार्यको काम गर्न सकिने अवस्था रहेको नेपालगन्ज उपमहानगरपालिकाको आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । यसैगरी नगर प्रहरीलाई वैकल्पिक व्यवस्था गरेर भएर प्रतिकार्यमा खटाउन सकिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय वैकल्पिकरूपमा कार्यालय व्यवस्थापनमा व्यस्त छ । तर विपद्का बेला सबै सुरक्षा निकायहरू खटाएर उद्धारमा खटिन कुनै समस्या नहुने जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । ‘अहिलेको अवस्थामा सहज अवस्था त छैन । तर, विपद्को बेला एक्लाएक्लै भन्दा तीनवटै सुरक्षा निकाय खटिएर उद्धारमा जुट्नुपर्ने हुन्छ । त्यसमा समस्या हुँदैन,’ अधिकारीले भने । जिल्लामा विपद्का बेला चाहिने उपकरण र साधनहरू पनि सुरक्षित रहेका छन् ।
यसैगरी जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख एसपी रामप्रसाद घर्तीमगरले पनि विपद्का बेला उद्धारमा खटिन कुनै समस्या नरहेको बताए। प्रहरी साविकको जस्तै विपद् उत्पन्न भएमा खटिनका लागि अलर्ट अवस्थामा रहेको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको गरी दुईवटा भ्यानहरू जलाइएका छन् । तर, बचेका सवारीसाधन र उपकरणहरू प्रयोग गरी उद्धारमा खटिन तयार रहेको घर्तीमगरले बताए ।
बाँकेका बाढीजन्य विपद्को जोखिममा रहेका स्थानीय तहहरूले पनि विपद्बाट बच्नका लागि सचेतनाको काम जारी रहेको र परेका बेला उद्धारमा खटिनका लागि तयार अवस्थामा रहेका बताएका छन् । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले स्थानीयहरूलाई बाढी आउनसक्ने सम्भावनाका लागि सचेतना फैलाइरहेको र उद्धारमा खटिनका लागि आवश्यक तयारीमै रहेको बताए ।
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले पनि अहिलेको स्थितिमा आइपर्नसक्ने चुनौतीहरूबारे छलफल गरिएको र विकल्पबारे पनि तयारी भइरहेको बताए । उनले स्थानीयहरूलाई विपद् आउनुअघि सुरक्षित रहने उपायबारे सचेत गराइएको र सुरक्षित स्थलहरूलाई तयार अवस्थामा राखिएको बताए ।
‘अहिले जनताहरूमा आशा र सचेतना जगाउनुपर्ने अवस्था पनि छ । विपद् आइपरेमा जनताकै सहयोग लिएर भएपनि उद्धारको काम गर्नुपर्नेगरी छलफल भएको छ,’ पौडेलले भने । जिल्ला विपद् प्रतिकार्य योजनाले यसवर्ष करिब १५ हजार परिवार विपद्बाट प्रभावित हुने अनुमान गरेको छ ।









प्रतिक्रिया दिनुहोस्