तोडफोड र आगजनीका संरचनाहरूको क्षतिको विवरण संकलन गरिँदै



श्यामलाल पोखरेल । बुटवल ।

जेनजी पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएका संरचनाहरूको रुपन्देहीमा अनुगमन गरी तथ्यांक संकलन गर्न थालिएको छ । सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, निजी तथा व्यवासायिक प्रतिष्ठान, दलका नेताहरूका घर तथा व्यक्तिका सम्पत्ति तोडफोड र आगजनीमा भएको क्षतिबारे बुझ्नका लागि अनुगमन गरेर तथ्यांक संकलन गर्न थालिएको हो ।

आन्दोलनका कारण असहज बनेको अवस्था सहज भएपछि रुपन्देहीमा क्षतिको विवरण संकलन गर्न थालिएको हो । सरकारको तर्फबाट जिल्ला प्रशासन कार्यालयको निर्देशनमा क्षतिको विवरण संकलन थालिएको छ । प्रशासनको तर्फबाट सरकारी कार्यालयहरू र राजनीतिक दलहरू राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, नेपाली काँगे्रस, एमाले, नेकपा एकीकृत समाजवादीका पार्टी कार्यालयहरूमा भएको क्षतिको विवरण संकलन गरिएको छ ।

निजी क्षेत्रको तर्फबाट बुटवल उद्योग वाणिज्य संघले तोडफोड र आगजनी भएका संरचनाहरूको अवलोकन गरेर क्षतिको अवस्थाबारे बुझ्ने काम गरेको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जेनजी आन्दोलनमा तोडफोड तथा आगजनी भएका सरकारी कार्यालय र निजी क्षेत्रका व्यवसायिक प्रतिष्ठानको स्थलगत अवलोकन गरेको हो ।

संघका अध्यक्ष हरिप्रसाद अर्याललको नेतृत्वको टोलीले बुटवल तथा आसपासका क्षेत्रमा तोडफोड तथा आगजनी गरिएका व्यवसायिक प्रतिष्ठानहरूमा स्थलगत अवलोकन गर्नुका साथै उद्योगी व्यवसायीहरूलाई सान्त्वना दिएको छ । स्थलगत अवलोकनपछि अध्यक्ष अर्यालले ठूलो लगानी भएका होटल तथा व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिले मनै विक्षिप्त बनाएको प्रतिक्रिया दिए ।

सरकारी कार्यालयहरू र व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिगत सम्पत्ति र दलका पार्टी कार्यालयहरू तोडफोड गर्नेहरूलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउन बुटवल उद्योग वाणिज्य संघले राज्यसँग माग गरेको छ । संघको टोलीले उक्त प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएको बुटवल उपमहानगरपालिका, बुटवलको सुख्खानगर रहेको भाटभटेनी सुपरमार्केट, मिलनचोकमा रहेको ड्रिम इन्टरनेशनल होटल, तिलोत्तमाको ड्राइरभरटोलमा रहेको होटल टुलिप, मणिग्राममा रहेको होटल ड्रिमल्याण्ड लगायतका व्यवसायिक प्रतिष्ठानहरूमा स्थलगत अवलोकन गरिएको संघ कार्यसमिति सदस्य कृष्ण पाण्डेले मिसन टुडेलाई जानकारी गराए ।

जेनजीको प्रदर्शनको क्रममा निजी क्षेत्रबाट सञ्चालित बुटवलका भाटभटेनी, मिलनचोकमा रहेको होटल ड्रिम इन्टरनेशनल तथा तिलोत्तमाको ड्राइभरटोलमा रहेको होटल टुलिप र मणिग्राममा रहेको होटल ड्रिमल्याण्डमा आगजनी गरिएको थियो । बुटवल उपमहानगरपालिकासहित वडा नं. ४, वडा नं. १३ को कार्यालय, तिलोत्तमा नगरपालिकाको कार्यालय, वडा नं. ५, आन्तरिक राजस्व कार्यालय बुटवल, इलाका प्रशासन कार्यालय बुटवल, लुम्बिनी प्रदेश वन निर्देशनालय, यातायात कार्यालय लगायतका सरकारी कार्यालयहरूमा तोडफोड र आगजनीले ठूलो क्षति पुगेको छ ।

पूर्वगृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँण, निवर्तमान सांसद् बासुदेव घिमिरे, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री लिला गिरी, नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको घरमा तोडफोड गरी आगजनी गरिएको थियो ।

तोडफोडपछि भएको आगजनीले ठूलो भौतिक क्षति भएको र सबैको अनुगमन गरेको विवरण संकलन भैसकेपछि कति क्षति भयो भन्न सकिने प्रहरी प्रशासनले बताएको छ । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते रुपन्देहीका स्थानीय जनप्रतिनिधिहरूका घरहरू पनि तोडफोड र आगजनीमा परेका छन् । विशेष गरेर नगरप्रमुख, उपप्रमुख, पूर्वनगर प्रमुख÷उपप्रमुख र केही वडाध्यक्षका घरहरूमा भएको आगजनीले ठूलो क्षति भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार