नगरपालिकासहित वीरेन्द्रनगरका १२ वडाको सेवा प्रवाह ठप्प



वीरेन्द्रनगर ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकासहित १२ वटा वडा कार्यालयको सेवा प्रवाह ठप्प भएको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा विभिन्न जिन्सी तथा सवारीसाधनमा क्षति पुग्दा नगरपालिकाको सम्पूर्ण सेवा ठप्प छ भने वडा नम्बर १ देखि १२ का सबै वडा कार्यालय जलेर ध्वस्त भएपछि सेवा प्रवाहको कुनै टुंगो छैन ।  जसबाट जन्म–मृत्युदर्ता, नागरिकता सिफारिस, कर संकलन जस्ता दैनिक काम रोकिँदा नागरिकहरू सेवाबाट बञ्चित भएका छन् ।

भदौ २४ यत ठप्प भएको नगरपालिकाको सेवा प्रवाह सुचारु गर्ने तयारी भइरहेको नगरप्रमुख मोहनमाया ढकालको भनाइ छ ।नागरिकहरूलाई अत्यावश्यक सेवाबाट वञ्चित हुन नदिन नगरपालिकाले सकेसम्म मंगलबारदेखि सेवा दिने तयारी गरेको उनले बताइन् । ‘जेनजी आन्दोलनका नाममा निन्दनीय घटनाबाट नगरपालिकामा आगजनी र तोडफोड हुदाँ सेवा सुरु गर्न सकेका छैनौँ । वडा कार्यालयहरू पनि ठप्प छन्,’ उनले भनिन्, ‘यसबारे प्रहरीलाई क्षति यकिन विवरण तयार गर्न अनुरोध गरेका छौँ । विवरण तयार भइसकेपछि खुला चौरबाटै भएपनि वडा कार्यालयहरूले सेवा दिन सुरु गर्नेछन् ।’

गत मंगलबारको जेनजी आन्दोलनले वीरेन्द्रनगर नगरपालिकाका १३ देखि १६ सम्म चार वटा वडा कार्यालयबाहेक अन्य सबै ध्वस्त पारेपछि यहाँको दैनिक जनजीवन पनि अस्तव्यस्त बनेको छ । रातभरी जलिरहेका वडा कार्यालय भवनहरू खरानीमा परिणत भएपछि जिन्सी सामग्री तथा कुनै पनि रेकर्ड छैन । भदौ २४ गते दिउँसो १२ बजेदेखि सुरु भएको प्रदर्शन राति १२ बजेपछिसम्म पनि चलिरहेको थियो ।

आन्दोलनकारीहरू छुट्टाछुट्टै समूहमा विभाजन भई आफूखुसी तोडफोड तथा आगजनी गर्दै हिँडेका थिए । उनीहरूले राजनीतिक दलका पार्टी कार्यालय, सरकारी कार्यालय र नेताहरूको घर निसानामा बनाए । आगजनीबाट वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १, ५, ७, ८, ९, १०, ११ र १२ वडा कार्यालय आंशिकरूपमा क्षति पुगेका छन् भने २, ३, ४ र ६ नम्बर वडा कार्यालय पूर्णरूपमा जलेर ध्वस्त भएका छन् ।

सबै वडाध्यक्षहरूका अनुसार आगजनीबाट सबै महत्त्वपूर्ण कागजात तथा सिस्टमहरू जलेर नष्ट भएका छन् भने भौतिक संरचनाहरू समेत क्षतविक्षत् भएका छन् । आगजनीका कारण वडा कार्यालयहरूमा रहेका साना ठूला गरी दर्जनौँ सवारीसाधनहरू जलेका छन् । वीरेन्द्रनगर–२ का वडाध्यक्ष गजबहादुर बुढाले आफ्नो वडामा भएका सम्पूर्ण सामाग्रीहरू जलेर नष्ट भएको बताए । कार्यालयमा भएका जिन्सी सामाग्रीहरू जलेर पूर्णरूपमा खरानी बनेको र केही सामान लुटपाट भएको उनको भनाइ छ ।

यसरी भयो नगरपालिका तोडफोड

आन्दोलनकारीहरूले वडा मात्रै होइन वीरेन्द्रनगर नगरपालिकासमेत दिउँसै आगजनी र तोडफोड गरेका थिए । आन्दोलनकारीको भीडले नगरपालिकाको मुख्य गेट तोड्दै भित्र पस्दा महत्वपूर्ण कागजात जल्ने भन्दै स्थानीयवासीको ढुकढुकी बढ्यो । ठूलो भिडले नगरपालिका पुगेर जिन्सी लगायतका सामाग्री रहेको कार्यालयको एक भवनमा आगजनी गरे । उनीहरूले नगर प्रहरी, जिल्ला प्रहरी र सशस्त्र प्रहरी बल अगाडी नै नगरपालिकाको गेट तोडफोड गरेर आगजनी गरेका थिए ।

उनीहरूले आगजनी मात्रै होइन नगरपालिकाका सामाग्रीहरू समेत लुटपाट गरे । नगरपालिकाका सूचना अधिकारी टंकप्रकाश लामिछानेले दुई वटा स्कुटर, एक मोटरसाइकल र करिब तीन लाखको डिजिटल बोर्डसहित धेरै सामग्री ध्वस्त बनाएको जानकारी दिए । उनका अनुसार पालिकामा राखिएका सोलाहरूसमेत लुटपाट भएका छन् । कार्यालय, दमकल र एम्बुलेन्सका केही सिसाहरू फुटेका छन् । तर के कति क्षति भयो भन्ने यकिन विवरण तयार पारिँदैछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार