‘भ्रष्टाचारविरुद्धको नाममा वितण्डा मच्चाउनेलाई कारबाहीको दायरामा ल्याउन पहल गछौँ’



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले भ्रष्टाचारविरुद्ध जेनजीको आन्दोलनका नाममा वितण्डा मच्चाउनेलाई कारबाहीको दायरामा ल्याउन पहल सुरु भएको बताएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले सुशासन अभियानको नाममा वितण्डा मच्चाउने जो सुकै कारबाहीको दायरामा आउनुपर्ने तर्क गरे । जेनजी आन्दोलनका नाममा भदौ २४ गते सुर्खेतमा भएको भौतिक संरचना तोडफोड तथा आगजनी कार्य निन्दनीय भएको भन्दै त्यस्ता काममा संलग्न व्यक्ति क्षमायोग्य नरहेको उनको दाबी छ ।

उक्त घटनामा मुख्यमनत्री कँडेलको निजी निवाससमेत जलाइएको थियो । ‘मेरो घर मेरै नाममा छ । त्यो घर पैत्रिक सम्पतिले जोडेको हो,’ उनले भने, ‘अब मेरो घर जलाउनेलाई कारबाही गर्न म आफैँ जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन्छु । यसरी अन्य निजी घर, सरकारी कार्यालय र पार्टी कार्यालय जलाउनेलाई पनि क्रमशः कारबाहीको दायरामा ल्याउने पहल जारी रहनेछ ।’ भदौ २४ को घटना हेर्दा सबै सुनियोजितरूपमा घटना घटाइएको दाबी गर्दै अब विषम परिस्थितिलाई सामान्यीकरण गर्न सबै पहल गर्नुपर्ने उनले बताए ।

उक्त घटनामा घरहरू जलिरहन दिने, लुटपाट गर्ने, आन्दोलनकारीलाई घरसम्म पुग्न बोटो नै देखाउने जस्ता गतिवधिले समाजमा सहयोगको भावना नै रहेन भन्ने पुष्टि गरेको उनको तर्क छ । सुरक्षा निकायको संयन्त्रसमेत कमजोर भएछ भन्ने पुष्टि भएको भन्दै आम नागरिकलाई पनि असुरक्षित अनुभूति भएको उनको भनाइ छ । ‘आन्दोलनलाई उद्देश्यभन्दा फरक ढंगले प्रयोग गरियो ।

जेनजी प्रदर्शनमा भएको तोडफोड र आगजनीको जिम्मेवार को हुने भन्ने विषयमा जेनजीबीच नै अन्यौल देखियो,’ उनले थपे, ‘आन्दोलनमा सहभागी युवाहरूलाई समेत भड्काएर घटना गराइएको हो । संघीय राजधानीमा अप्रिय घटना घटेपछि त्यसको प्रत्यक्ष, अप्रत्यक्ष दुवै प्रभाव कर्णालीमा पनि देखियो ।’ उनका अनुसार घटनामा सबैभन्दा बढी नोक्सानी कर्णाली प्रदेशसभामा भएको उल्लेख गर्दै प्रदेश सचिव र मन्त्रीहरूसँग आगामी जिम्मेवारी कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ ।

मुख्यमन्त्री कँडेलले जनप्रतिनिधिले गल्ती गरे कानुनी निकायले सजाय दिने प्रावधान रहेको उल्लेख गर्दै व्यक्तिगत प्रतिशोधका आधारमा पनि आन्दोलनलाई भड्काइएको दाबी गरे । आन्दोलनपछि घटेका घटना र क्षतिग्रस्त स्थानहरू सबैमा उनले अनुगमन पनि गरेका छन् । ‘जेनजीका नाममा भएको आगजनी र तोडफोड स्वीकार्य छैन । समस्याका बाबजुद सरसल्लाह गरेर अगाडि बढ्नुपर्छ,’ मुख्यमन्त्री कँडेलले थपे, ‘अब देशका प्रमुख तीन दल नेकपा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेस बलियो भए समाज आफैँ बलियो हुन्छ । दलहरूले कमजोरी सुधार गर्दै जनअपेक्षा अनुसार अघि बढ्नुपर्छ ।’

मुख्यमन्त्री कँडेलले बजेट कार्यान्वयनको विषयमा प्रदेश मातहतका कार्यालयहरूले आन्दोलनको बाहाना नबनाई काम कारबाही अगाडि बढाउनसमेत निर्देशन दिएका छन् । जेनजी आन्दोलनका नाममा कर्णालीमा धेरै सरकारी संरचना तोडफोड र आगजानी भएका छन् । सबैभन्दा क्षति प्रदेशसभा, प्रदेश लेखा नियन्त्रण कार्यालय, नापी कार्यालय र राजधानीस्थित प्रमुख तीन दलका पार्टी कार्यालय र वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकालको घर जलेर तहसनहस भएका छन् । यस्तै नगर उपप्रमुख निलकण्ठ खनाल, काँग्रेस नेता पूर्णबहादुर खड्का र उनका दुई भाइको घरसमेत आगजनीले ध्वस्त भएका छन् ।

कार्यसम्पादन लयमा फर्किँदै 

जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको कर्णाली प्रदेश सरकारको कार्यसम्पादन लयमा फर्किन थालेको छ । अन्तरिम सरकार गठन भएर मुलुकको स्थिति सामान्य भएसँगै प्रदेश सरकारले पनि आफ्ना काम अघि बढाउन थालेको हो । आन्दोलनका क्रममा कर्णालीले पनि ठूलो भौतिक क्षति बेहोर्नुप¥यो । अवस्था सामान्य बनेसँगै अब क्षतिग्रस्त भौतिक संरचनाको सुधार गरेर प्रदेश सरकारले आफ्ना काम अघि बढाउने मुख्यमन्त्री यामलाल कँडेलले बताए ।

भौतिक संरचनामा ठूलो क्षति पुगेको भन्दै उनले आवश्यक संरचनाको निर्माण गरेर काम सुरु गरिने जानकारी दिए । आन्दोलनका केही बुँदामा आफ्नो पनि सहमति रहेको भन्दै भौतिक संरचनाहरूको पुननिर्माण सँगसँगै क्षति पु¥याउनेहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने बताए । आन्दोलनमा घुसपैठ भएको र केही व्यक्तिहरूले हिंसात्मक गतिविधि गराएको उनको निष्कर्ष छ । त्यसैले कानुनबमोजिम उनीहरूलाई कारबाही गरिनुपर्ने र जेनजी आन्दोलनबाट भएको पाठ सिकेर अघि बढ्नुपर्ने उनले बताए ।

‘अवस्था सामान्य बनेसँगै अब क्षतिग्रस्त भौतिक संरचनाको सुधार गरेर प्रदेश सरकारले आफ्ना काम अघि बढाउनेछ । त्यसका लागि प्रदेश सरकार अब ठोस योजना बनाउने छ,’ उनले भने, ‘माओवादी युद्धको बेलाभन्दा पनि अहिले देशमा बढी क्षति भएको छ । ०७२ र ०८० को भूकम्पका कारण भएका क्षतिबाट कर्णाली अझै माथि उठ्न सकेको छैन । जेनजी आन्दोलन र त्यसबाट भएको क्षतिले प्रदेशलाई थप आर्थिक चुनौती थपियो ।’

आन्दोलनको मूल उद्देश्य शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष रहेपनि आन्दोलनको रूप मोडिएका कारण देशले ठूलो क्षति बेहोर्नुपरेको हो । नागरिक सेवा प्रवाहमा प्रत्यक्ष जोडिने दुई दर्जनभन्दा बढी सरकारी निकायमा आगजनी तथा तोडफोड गरी अर्बौँको क्षति पु¥याएपछि अहिले सेवा नै ठप्प बनेको छ । संविधानले दिएको क्षेत्राअधिकारमा रहेर काम अघि बढाउने तयारी छ । आन्दोलनमा क्रममा गरिएको आगजनीबाट सबैभन्दा बढी क्षति कर्णाली प्रदेशसभामा भएको छ ।

प्रदेशसभा परिसरमा तोडफोड र आगजनी नभएका कुनै संरचना बाँकी छैनन् । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले तोडफोड र आगजनीका कारण एक अर्बभन्दा बढीको क्षति भएको बताएका छन् । प्रदेशसभाबाट कुनै पनि सरकारी कागजातहरू सुरक्षित छैनन् । प्रहरीले सुरक्षा दिन नसक्दा भौतिक संरचनासँगै सम्पूर्ण सरकारी कागजातहरू जलेर नष्ट भएका हुन् । प्रदेशसभासँगै नागरिक सेवा प्रवाहमा प्रत्यक्ष जोडिने दुई दर्जनभन्दा बढी सरकारी निकायमा आगजनी तथा तोडफोड भएको छ ।

आन्दोलनकारीले प्रदेश लेखा नियन्त्रकको कार्यालयमा पनि पूर्णरूपमा क्षति पु¥याएका छन् । पार्किङमा राखिएका सवारीसाधनसँगै कार्यालयभित्र पसेर गरिएको तोडफोड र आगजनीका कारण लेखासम्बन्धी सम्पूर्ण कागजात नष्ट भएका छन् । कागजातसँगै कम्प्यूटर, प्रिन्टरलगायतका भौतिक संरचना पूर्णरूपमा नष्ट भएका हुन् । लेखा नियन्त्रक कार्यालयमा क्षति पुगेसँगै प्रदेशका सम्पूर्ण आर्थिक गतिविधिहरू नै ठप्प भएका छन् ।

आन्दोलनकारीले नापी कार्यालय सुर्खेतमा समेत पूर्णरूपमा क्षति पु¥याएका छन् । आगजनीका कारण कार्यालयका जग्गा नापजाँचसम्बन्धी सम्पूर्ण कागजातहरू जलेर नष्ट भएको कार्यालय प्रमुख दिनेश भण्डारीले बताए । यसबाहेक वीरेन्द्रनगर नगरपालिकासहित विभिन्न वडा कार्यालयहरूसमेत क्षतिग्रस्त छन् । आन्दोलनकारीले वीरेन्द्रनगर नगरपालिका वडा नं. १ देखि १२ वडा कार्यालयहरूमा पूर्णरूपमा क्षति पु¥याएका छन् ।

उनीहरूले एकपछि अर्को गर्दै सरकारी संरचना ध्वस्त बनाएपनि अहिले सेवा नै ठप्प बनेको छ भने कर्मचारीहरूले कसरी काम सुरु गर्ने मेलोमेसो नै पाएका छैनन् । वीरेन्द्रनगरस्थित सभाहल, नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा समेत तोडफोड र आगजनीबाट ठूलो मात्रामा क्षति भएको छ । मुख्यमन्त्री यामलाल कँडेल, नेपाली काँग्रेसका उपासभापति पूर्णबहादुर खड्का, उनका भाइ डाक्टर डम्बर खड्का, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुुख नीलकण्ठ खनालको निजी घरमा समेत तोडफोड र आगजनीका साथै धनमाल लुटपाट भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार