‘जेनजी पुस्ताले ल्याएको परिवर्तन जनताको पक्षमा छ’



बुटवल ।

स्वतन्त्र नागरिक समूह नेपालले संसद् विघटनलाई स्वागत गरेको छ । पुराना दलहरू असफल र भ्रष्टाचारी भएकाले जेनजी पुस्ताले ल्याएको परिवर्तन जनताको पक्षमा रहेको बताएको छ । शनिबार रुपन्देहीमा पत्रकार सम्मेलन गरी स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्ेले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दै घोषित मितिमा निर्वाचन र संविधान संशोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

संविधानसभादेखि यसअघिका निर्वाचन बहिष्कार गरेको समूहले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गराउने निर्वाचनमा सहभागी भएर मतदान गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा संयोजक गैह्ेले बताए । अध्यक्ष गैह्ेले अबको ६ महिनाभित्र निर्वाचन गराएर एक वर्षभित्र नयाँ संविधान बनाउनु पर्ने बताउँदै देशलाई अगाडी बढाउनका लागि कार्यकारी राष्ट्र प्रमुख हुनुपर्नेमा जोड दिए । २०७२ को संविधान असफल भैसकेकाले अब नयां संविधान बनाउनु पर्ने बताए ।

उनले जेनजी पुस्ताको आग्रहलाई स्वीकार गरी शासन प्रणालीलाई अविच्छिन्न राख्नका लागि राजनीतिक तथा न्यायिक क्षेत्रमा निपूर्ण कार्कीलाई सरकारको नेतृत्व सुम्पिएर राम्रो गरेको तर्क गरे । कार्की नेतृत्व वर्तमान सरकारले स्वतन्त्र नागरिक समूहको आवश्यकता महशुस गरेमा सरकारलाई हरप्रकारले सहयोग गर्ने बताउँदै अध्यक्ष गैह्ेले भने, ‘हामीले समयमै निर्वाचन सम्पन्न गर्नका लागि यो सरकारलाई सहयोग गर्छौँ । हामी गणतन्त्रबादी हौँ । लोकतन्त्रमाथि विश्वास छ ।’

प्रदेश संरचना खारेज गरेर धार्मिक सहिष्णुतासहितको हिन्दुराष्ट्र कायम राखेर देशमा शान्ति सुव्यवस्था कायम गरी देशलाई विकासको नयाँ मोडलबाट अगाडी बढाउनु पर्नेमा जोड दिए । जेनजी आन्दोलनका क्रममा मृतकप्रति श्रदाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना र मृतक घरपरिवारमा स्वतन्त्र नागरिक समूह नेपालले समवेदना प्रकट गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार