बुटवल ।
जेनजीहरूको आन्दोलनको क्रममा भएको तोडफोड र लुटपाटमा संलग्न शिक्षकलाई कालिका मानवज्ञान माविले निष्कासन गरेको छ । भदौ २४ गते जेनजीहरूले गरेको प्रदर्शनपछि भएको तोडफोड र लुटपाटमा संलग्न भएको भन्दै शिक्षक शिवशङ्कर शुक्लालाई विद्यालयले निष्कासन गरेको हो ।
विद्यालयले विज्ञप्ति जारी गर्दै भदौ २४ गते भएको जेनजीहरूको प्रदर्शनको क्रममा शिक्षक शुक्लाले बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटबाट आइस्क्रिम चोरी गरेको तस्बिर सार्वजनिक भएको उल्लेख गरेको छ ।
कपिलवस्तु घर भएका शुक्लाले विद्यालयमा कम्प्युटर विषय पढाउँदै आएका थिए । शुक्लाले विद्यालयको आचरण संहिता तथा नियमविपरीत कार्य गरेको ठहरिएकाले शनिबारदेखि नै लागु हुने गरी विद्यालयबाट हटाइएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार









प्रतिक्रिया दिनुहोस्