जेनजी आन्दोलन प्रभावः कैलाली उद्योग वाणिज्य संघको अधिवेशन स्थगित



शेरबहादुर ऐर । कैलाली ।

जेनजी समूहको आन्दोलनसँगै कैलाली उद्योग वाणिज्य संघको घोषित साधारणसभा तथा अधिवेशन स्थगित भएको छ । कैलाली उद्योग वाणिज्य संघको ५१औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति गठनका लागि तोकिएको निर्वाचन स्थगित भएको हो । भदौ २८ गतेका लागि तोकिएको साधारणसभा र निर्वाचन देशमा उत्पन्न असहज तथा विषम परिस्थितिका कारण निर्धारित मितिमा सम्पन्न गर्न नसकिने भएकाले संघले स्थगित गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष पुष्पराज कुँवरले भदौ २६ गते बसेको सर्वपक्षीय बैठक र कार्यसमिति बैठकको सुझावअनुसार साधारणसभा तथा निर्वाचन सारिएको जानकारी दिएका छन् । उनका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेकाले सोसम्मको निर्वाचन प्रक्रिया भने यथावत रहनेछ । त्यस्तै, निर्वाचन समितिका संयोजक पदमसिंह कुँवरले हाललाई मतदान कार्यक्रम स्थगित गरिएको र दसैँ तिहारको बीच उपयुक्त मितिमा नयाँ तालिका तय गरिने बताए ।

संघले साधारणसभा तथा निर्वाचनसँग सम्बन्धित सम्पूर्ण पक्षलाई नयाँ मितिमा हुने कार्यक्रमबारे समयमै जानकारी गराउने जनाएको छ । संघको नयाँ नेतृत्वका लागि दुई वटा प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् । संघको अध्यक्षमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र संघका पूर्वमहासचिव रुपेश स्वाँरले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । सदस्य र पदाधिकारीमा स्वतन्त्र उम्मेदवारी पर्नसक्ने भए पनि नेतृत्वका लागि दुई प्यानलबीच नै प्रतिस्पर्धा हुने देखिएको व्यवसायीहरू बताउँछन् ।

संघमा अध्यक्षसमेत गरी नौ जना पदाधिकारीसहित २२ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका लागि निर्वाचनमा दुई हजार २७४ जना व्यवसायी मतदाता रहेका कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । दुवै प्यानलको चुनावी घोषणापत्रमा व्यवसायीका हकहितका मुद्दाहरूलाई समावेश गरिएका छन् । ‘संघका पूर्वअध्यक्षहरू र प्रभावशाली व्यवसायीलाई आफ्नो पक्षमा पार्न दुवै प्यानलले व्यक्तिगत पहलसँगै विभिन्न च्यानलको प्रयोग गरिरहेका छन्,’ संघको निर्वाचन नजिकबाट नियालिरहेका एक व्यवसायीले भने, ‘कतिपय व्यवसायी अझै खुलिसकेका छैनन् ।

चुनाव हुन अझै केही दिन बाँकी रहेकाले अहिलेनै कसको पल्ला भारी छ भनेर आकलन गर्न गाह्रो छ ।’ ओझा नेतृत्वको प्यानलबाट संघको वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका महासचिव ओमबहादुर बिष्ट, उपाध्यक्ष उद्योगतर्फ बाशुदेव भट्ट, उपाध्यक्ष वाणिज्यतर्फ गगनराज केसी, उपाध्यक्ष वस्तुगततर्फ वर्तमान कार्यसमितिका कोषाध्यक्ष भीमराज ओझा ‘अब्बु’ र एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल उम्मेदवार रहेका छन् ।

त्यस्तै महासचिवमा दिनेश लम्साल, सचिवमा कृष्णाकुमारी बिष्ट र कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायतले ओझा प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन् । यो प्यानलबाट संघको कार्यसमिति सदस्यको उम्मेदवारहरूमा बमबहादुर कुँवर, धु्रवराज दाहाल, रेखा बास्तोला, पदमबिक्रम सिंह, अजय पाण्डेय, टेकबहादुर खड्का, तर्कराज भट्ट, सुरजबहादुर रैका, प्रजापति जोशी, कमला भट्टराई अनुप भण्डारी, बिन्दु सुनार र सुरेश सापकोटाले उम्मेदवारी दिँदैछन् ।

स्वाँरको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष केशवराज जोशी, उपाध्यक्ष उद्योगमा लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा अनिलकुमार भुजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी र वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु उम्मेदवार रहेका छन् । त्यस्तै महासचिवमा सुरेश पाण्डेय, सचिवमा प्रकाशकुमार चन्द र कोषाध्यक्षमा तिलक बोहरा स्वाँर प्यानलबाट उम्मेदवार रहेका छन् ।

रुपेश खड्का, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेमबहादुर धामी, भरतबहादुर थापा, नेत्रप्रसाद तिवारी, देवराज जोशी, तेज बम, शुभशंकर ठाकुर, दिपेश राठोर, अमर चोखाल, प्रमिला पाठक र मन्जु भट्टले स्वाँर प्यानलबाट कार्यसमिति सदस्यमा उम्मेदवारी दिँदैछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार