जेलबाट भागेकाहरू भोलिपल्टैबाट अपराध कर्ममा



कैलाली ।

सुदूरपश्चिम प्रदेशका बाजुराबाहेकका सबै जिल्ला कारागारबाट कैदीबन्दी फरार भएका छन् । जेनजीको आन्दोलनका क्रममा प्रदेशका करिब १४ सय कैदीबन्दीहरू कारागारबाट निस्किएका हुन् । तीमध्ये सबैभन्दा धेरै कैलाली कारागारबाट ६१८ जना र कञ्चनपुरबाट ३५८ जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये केही फेरी आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएको छ ।

बलात्कार मुद्दामै ९ वर्षको सजाय पाएका एक व्यक्ति फेरि बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका छन् । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनारलाई स्थानीयले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् । एक महिलालाई बलात्कारको प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार कञ्चनपुर कारागारमा ४७९ कैदीबन्दी थिए ।

तीमध्ये २१ जनाबाहेक सबै कैदीबन्दी फरार भएका थिए । यसरी फरार हुनमध्ये एक थिए, सुनार पनि । उनै सुनार अहिले फेरि अर्को अपराध गरेको आरोपमा जेलभित्र छन् । पछिल्लो दुई वर्षदेखि उनी कारागारमा कैद भुक्तान गर्दै थिए । उनी फरार भएको भोलिपल्टै स्थानीयले बलात्कार आरोपमा पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् । कारागारबाट भागेकामध्ये अहिले ७७ जना फिर्ता भएका छन् । केही आफैँ आएका हुन् भने केही प्रहरीले पक्राउ गरेको हो ।

यता कैलाली कारागारमा फरार भएकामध्येका ६ जना फेरि विभिन्न आरोपमा पक्राउ परेका छन् । जिल्ला कारागारमा रहेका ६१८ मध्ये सबै कैदीबन्दी फरार भएका थिए । तीमध्ये ६ जनलाई इलाका प्रहरी कार्यालय टिकापुरले बुधबार र बिहीबार विभिन्न आरोपमा पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय टिकापुरका अनुसार ४ जना लागूऔषधमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् भने एक जना बलात्कार गरेको आरोपमा अर्का एकजनालाई चोरी आरोपमा पक्राउ गरिएको हो ।

उनीहरू टिकापुर र जानकी गाउँपालिकाको विभिन्न वडाबाट पक्राउ परेका हुन् । कारागारबाट आएकाहरू फेरि विभिन्न आरोपमा पक्राउ परेपछि उनीहरूलाई कारागार बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला कारागार कैलालीका जेलर चिरञ्जीवी सापकोटाले प्रहरीले कारागारबाट फरार भएकाहरूलाई पक्राउ गरेको जानकारी आएको भन्दै कारागारमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

जिल्ला कारागारबाट फरार भएकाहरूलाई फेरि सम्पर्कमा आउन आह्वानको सूचना जारी गर्ने तयारी भइरहेको भन्दै त्यसपछि धेरै सम्पर्कमा आउने उनले विश्वास व्यक्त गरेका छन् । ‘हामी सूचना जारी गर्दैछौँ । सूचनाअनुसार फरार कैदीहरू सम्पर्कमा आउनेछन् भन्ने विश्वास गरेका छौँ यदि सूचनापछि पनि सम्पर्कमा आएनन् भने उनीहरूलाई फरार सूचीमा राखेर प्रहरीले पक्राउ गर्नेछ,’ उनले जानकारी दिए । कैलाली कारागारमा नेपाली मात्र नभई भारतीय पनि थिए । उनीहरू भारत पस्न नपाउन भन्नको लागि नाकाहरूरूमा कडाइ गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार