चुकेनी जलविद्युत्को ६० प्रतिशत विद्युत् खेर



जुम्ला ।

जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गडिगाउँमा सञ्चालित चुकेनी जलविद्युत् आयोजनाको ६० प्रतिशत विद्युत् खेर गइरहेको छ । एक मेगावाट क्षमताको चुकेनी जलविद्युत् आयोजनाको ४० प्रतिशत मात्रै विद्युत् खपत भइरहेको र ६० प्रतिशत विद्युत् खपत हुन नसेकर खेर गएको पाइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको विज्ञ टोलीले गरेको अध्ययनअनुसार पातारासी गाउँपालिकाका सात वटै वडा, चन्दननाथ नगरपालिकाका १० वटै वडा र गुठिचौर गाउँपालिकाका तीन वटा वडासहित जिल्लाभर नौ हजार उपभोक्ताले विद्युत् उपभोग गर्दा पनि अझै ६० प्रतिशत विद्युत् खेर गइरहेको छ ।

जुम्लामा आयोजित चुकेनी खोला साना जलविद्युत् आयोजनाको दिगोपन विषयक अन्तरक्रियामा प्रस्तुत प्रारम्भिक अध्ययन रिपोर्टअनुसार जिल्लाभर मुस्किलले ४०० किलोवाट विद्युत् मात्रै प्रयोग भइरहेको ऊर्जाविज्ञ सन्दिप पोखरेलले बताए । उनका अनुसार चुकेनी जलविद्युत् आयोजना सञ्चालनपछि जुम्लाको विद्युत् समस्या अन्त्य भएपनि उत्पादनको तुलनामा विद्युत् उपभोग निकै न्यून रहेको छ । अन्य जिल्लामा एक मेगावाट विद्युत्कै वार्षिक आम्दानी ५÷६ करोडसम्म हुने गरेको उनले बताए । तर चुकेनी जलविद्युत्को बत्ती खपत थोरै भएपछि आम्दानी पनि हालसम्म करिब दुई करोडमात्रै भएको छ । यो विद्युत् क्षमतानुसार आम्दानी निकै कम हो भने विद्युत् प्रवाहनुसारको आय ठिकै हो । तर विद्युत्को प्रयोग बढाउन जरुरी रहेको सम्बन्धित क्षेत्रका विज्ञहरूले बताएका छन् ।

वैकल्पीक ऊर्जा प्रवद्र्धन अध्ययननुसार हिउँदको महिना पुस र माघमा बढीमा ७०० देखि ७५० किलोवाट प्रयोग हुने र अन्य महिनामा बढीमा ४०० किलोवाट मात्रै विद्युत् प्रयोग हुने गरेको छ । नौ हजार उपभोक्ताले विद्युत् प्रयोग गरेपनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३०० किलोवाट विद्युत्को लोड थामेको छ । केही वर्षअघि विद्युत् अभावमा आन्दोलन गर्ने जुम्ला अहिले विद्युत्मा आत्मनिर्भर बन्दै गएपछि जुम्लावासी खुसी भएका छन् ।

विद्युत् खपत बढाउन जोड

कूल ४० करोड लगानीमा निर्माण भएको चुकेनी जलविद्युत् आयोजनाको विद्युत् खपत बढाउन सरोकारवालाले जोड दिएका छन् । कुनै बेला बत्तीका लागि क्याण्डिल जुलुस गर्नुपर्ने जुम्लामा अहिले बत्ती खपत बढाउनुपर्ने अवस्था आउनु सुखद पक्ष पनि हो । चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले चुकेनीको विद्युत्लाई अधिकतम रूपमा प्रयोग गर्न साना लगानीका उद्योग कलकारखाना स्थापना गर्नु जरुरी रहेको बताए । उनका अनुसार हाल विद्युत् खपत नभएपनि भविष्यमा विद्युत् अपुग हुनेछ ।

कार्यालयमा एसी जडान, सडक बत्ती जडान, इन्डक्स चुलोको प्रयोग, जडिबुटि उद्योग र स्याउ प्रशोधन उद्योग स्थापना लगायतका क्षेत्रमा विद्युत् खपत हुने देखिन्छ । चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले कृषि, पर्यटन, होटल व्यवसाय, कर्णाली प्रतिष्ठानमा विद्युत् खपत बढाएर ऋणमा निर्माण गरिएको आयोजनाको आम्दानी वृद्धि गर्नुपर्ने बताए । हाल खेर गएपनि केही वर्षपछि अपुग हुने उनको भनाइ छ ।

‘अब दिगो व्यवस्थापन तथा दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिनुपर्छ । विद्युत्लाई उज्यालोसँग मात्रै सीमित नराखी कृषि र खाद्य प्रणालीलाई सुधार गर्न विद्युत्को प्रयोग बढाउन जरुरी छ,’ उनले भने, ‘विद्युत्बाट चल्ने सिँचाइ, ग्रेडिङ मेसिन सञ्चालन लगायतका आयोजना सञ्चालनमा विद्युत्को प्रयोग बढाउन जरुरी छ । यसले विद्युत् र व्यक्ति दुवैको आयस्तर बढ्छ ।’ करिब १५ करोड लगानीमा कर्णालीकै ठूलो कोल्ड स्टोर बनाएका देउऋषि चौलागाँईले विद्युत् अभावमा रोकिएको कोल्ड स्टोरलाई सहुलियतमा विद्युत् दिन आग्रह गरे । अत्याआवश्यक क्षेत्रमा डेलिकेट लाइन वितरण गर्नुपर्ने उनको माग छ ।

ऊर्जाविज्ञ सन्दिप पोखरेलले विद्युत् खपत न्यून भएकै कारण चुकेनी मासिक आम्दानी १५÷१६ लाख मात्रै रहेको बताए । उनले भने, ‘अब विद्युत् खपत बढाउन आवश्यक देखिएकाले जनप्रतिनिधि, उद्योगी, व्यवसायीलगायत स्थानीय बसेर जुम्लाको क्रिटिकल लोडहुने क्षेत्र के–के हुन् प्रथामिकीकरण गर्नुहोस् ।’ स्वास्थ्य, कृषि, उद्योग, होटल व्यवसाय लगायतका क्षेत्रको प्रथामिकीकरण गरेर विद्युत्को खपत बढाउनुपर्नेमा उनले जोड दिए ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विद्युत् अभावमा मासिक लाखौँको इन्धन खर्च भइरहेकाले आवश्यक विद्युत् लिन तयार रहेको बताएको छ । पूर्वाधार निर्माण, दक्ष जनशक्ति व्यवस्थापन तथा विद्युत् आयोजनाको दिगोपनका लागि स्थानीय सरकारसँग बसेर क्रिटिकल क्षेत्र निर्धारण गर्न चाँडै छलफल गर्ने जुम्लामा तयारी भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रमुख रामआशिष शाहले चुकेनी आयोजनालाई दिगो र व्यवस्थित बनाउन विद्युत् प्राधिकरण लागिपरेको बताए । उनका अनुसार कैलाश कोल्ड स्टोर, ईभी चार्जिङ सेन्टर, नेपाली सेनालाई डेलिकेट लाइन दिन घुघुति आयोजना र चुकेनी आयोजनामा व्यवस्थित बनाउन जरुरी छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार