जेनजीले नेपालमा विभिन्न मागहरू राख्दै तत्कालीन सत्ताविरुद्ध गरेको प्रदर्शनले देश ध्वस्त बनेको छ । देशको राजधानी काठमाडौँसँगै हरेक जिल्लाका गाउँ तथा सहरमा रहेका अड्डा अदालत, सरकारी कार्यालय, सुरक्षा निकायका कार्यालय, स्थानीय सरकारका भवन लगायतका महत्वपूर्ण सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगलागी हुँदा देश वर्षौँ पछाडि धकेलिएको छ । ति संरचनाहरू पुनर्निर्माणका लागि खर्बौँ रूपैयाँँको लगानी आवश्य देखिन्छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा प्रतिबन्ध लगाएको सामाजिक सञ्जालका कारण देशले अपुरणीय क्षति बेहोर्नुप¥यो । तत्कालीन सरकारको अदूरदर्शी निर्णयका कारण दर्जनौँ निहत्था युवा विद्यार्थीले ज्यान गुमाउनुप¥यो । केही सुरक्षाकर्मीसमेत मृत्युवरण गर्न बाध्य बने । हजारौँको सङ्ख्यामा युवा विद्यार्थीहरू घाइते बने । राष्ट्रले मूल्यांकननै गर्न नसकिने गरी राष्ट्रिय सम्पत्तिहरूको क्षति बेहोर्नुप¥यो । सयौँ निजी सम्पत्तिमाथि आगलाडी र तोडफोड भए ।
यो अत्यन्तै दुःखद हो । जे नहुनु थियो त्यो भइनै सक्यो । देशले होनहार युवा विद्यार्थी गुमाउनुका साथै बिसौँ वर्षसम्म पनि बन्न नसक्ने गरी भौतिक संरचना गुमायो । प्रदर्शनकै नाममा देशका विभिन्न जिल्लाका विभिन्न कारकागारमा रहेर कैद सजाय भोगिरहेका १३ हजारभन्दा बढी अपराधीहरू जेलबाहिर निस्के । ति अपराधीहरू सबै अहिले समुदायमै छन् । जसमध्ये केही कैदीहरूलाई पुनः पक्राउ गरिएको छ भने हजारौँ कैदीहरू अझैपनि समुदायस्तर मै रहेका छन् । अपराधकर्म गरेर समुदायस्तरमा छिरेका ति कैदीहरूबाट नागरिक सुरक्षित हुन सक्दैनन् । तसर्थः सुरक्षा प्रशासनले पनि यसतर्फ पनि गम्भीर हुनु आवश्यक छ । युवाले चालेजस्तो देशमा राजनीतिक परिवर्तन भइसकेको छ । अब सबै पक्षसँग आवश्यक सल्लाह र सुझाव लिएर संविधानमातहत कानुनअनुसार लोकतान्त्रिक शासन पद्धति बसाल्न ढिलाइ गर्नुहुँदैन् ।
सरोकारवाला पक्षहरू कानुनविद्, संविधानविद्, स्वतन्त्र नागरिक समाज, सम्बन्धित विषयविज्ञ लगायतका व्यक्तिहरूसँग समन्वय गर्नु आवश्यक छ । अब देशलाई कुन दिशामा अगाडि बढाउने भन्ने कुरा जेनजी पुस्ताको हातमा रहेको छ । देशले राजनीतिक परिवर्तन खोजेको थियो सो पूरा भएको छ । अब देशलाई उन्नतिमा लैजानका लागि जेनजी पुस्ता गम्भीर बन्न जरुरी छ । जेनजीको प्रदर्शनका नाममा देशैभर भएका लुटपाटका घटना भने सकारात्मक मान्न सकिन्न । जसरी निजी सम्पत्ति र सार्वजनिक सम्पत्तिमाथि आक्रमण, लुटपाट र प्रहार भयो त्यो नहुनुपथ्र्यो । सरकारी सम्पत्ति भोलि आउने जेनजी पुस्ताका पनि हुन् । ति सम्पत्ति निर्माण गर्न खर्बौँ रकमको आवश्यक पर्नेछ भने वर्षौँसम्म समय लाग्नेछ । अब भने ति संरचनालाई कसरी पुनर्निर्माण गर्न सकिन्छ भन्ने बारेमा गम्भीर बन्न जरुरी छ ।
सेवाप्रदायक कार्यालयहरू आगजनीबाट पूर्णरूपमा ध्वस्त हुँदा अहिले नागरिकले पाउनुपर्ने सम्पूर्ण सेवाबाट वञ्चित भएका छन् । हरेक कार्यालयमा के कति क्षति भयो भन्ने बारेमा तत्काल खोजबिन गरी लेखाजोखा राख्न पनि जरुरी छ । आगजनी र तोडफोड भएका महत्वपूर्ण संरचनाहरूलाई यथाशक्य चाँडो सञ्चालनमा ल्याएर आम नागरिकले पाउनुपर्ने सेवासुविधा पुनः सुचारु गर्नका लागि ध्यान दिन जरुरी छ । आगलागी र तोडफोडबाट क्षति भएका सम्पूर्ण सरकारी संरचनाहरूको तथ्यांक राखी पुनर्निर्माणतर्फ जेएनजी पुस्तालगायत सरोकारवाला सबैले पहल गर्नुपर्ने आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्