हुम्ला ।
हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । नेपाल र चीनबीचमा पर्ने हुम्लाको हिल्सा नाका गत वैशाख १८ गते सञ्चालनमा आएपछि विदेशी पर्यटकको चाप बढेको हो । जेठदेखि भदौसम्म नेपालगन्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय र अन्य देशका पाँच हजार ८४२ जना पुगेका छन् ।
जसमा भारतीय तीर्थयात्री पाँच हजार ५१७ र अन्य देशका ३२५ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए । उनका अनुसार नाका सञ्चालनमा आएपछि मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ । मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमबोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको छ ।
चीनले हिल्सा नाकालाई हुम्लाबासीसहित भारतीय पर्यटकहरूका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको सङ्ख्या बृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दीपेन्द्र भण्डारीले बताए । उनले भने, ‘मानसरोवर कैलाशको दर्शन गर्नका लागि हुम्लामा कोरोना संक्रमणपछिको यो ठूलो सङ्ख्या हो, भारतीय पर्यटक आउने क्रम निकै बढी छ ।’
उनका अनुसार मौसम अनुकूल भएको अवस्थामा दैनिक पाँचदेखि दश वटासम्म नेपालगन्जबाट यहाँ उडान हुने गरेको छ । जसमा सीता, समिट र तारा एयरले उडान भर्दै आएका छन् । सिमकोट विमानस्थलबाट हिल्साका लागि विभिन्न हेलिकप्टरले पर्यटकलाई सेवा दिइरहेका छन्।
गत जेठमा मानसरोवर कैलाशको दर्शनका लागि पर्यटक आउन सुरु गरेका थिए । कतिपय पर्यटकहरू गाडीमार्फत हिल्सा हुँदै मानसरोवर पुग्ने गरेको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।
उनका अनुसार चार महिना यता सदरमुकाम सिमकोटसहित हिल्साका होटल पर्यटकले भरिभराउ छन् । जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्क उठाउँदै आएको छ । जसमा भारतीय पर्यटकलाई प्रतिव्यक्ति रु ११ सय र अन्य देशका पर्यटकको हकमा प्रतिव्यक्ति रु १५ सय तोकिएको छ ।








प्रतिक्रिया दिनुहोस्