सेनाले भन्यो– अनधिकृत हातहतियार बुझाउनू



काठमाडौँ ।

नेपाली सेनाले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका तथा फेला पारेका हातहतियार, गोलीगठ्ठा एवं सुरक्षा सामग्री यथाशीघ्र बुझाउन निर्देशन दिएको छ । सेनाले बुधबार वक्तव्य जारी गर्दै त्यस्ता हातहतियार एवं सुरक्षा सामग्री नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको हो ।

हातहतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुनबमोजिम कारबाही हुने सेनाले स्पष्ट पारेको छ । हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकाले त्यससम्बन्धी सूचना प्राप्त गर्नेे व्यक्तिले सुरक्षा निकायलाई जानकारी गराउन पनि सेनाले आग्रह गरेको छ। सेनाले सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्न अनुरोधसमेत गरेको छ ।

सेनाले यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकको अनधिकृत प्रयोग नगर्न पनि सूचित गरेको छ । सेनासहितको सुरक्षा निकायले गएरातिदेखि बिहानसम्म काठमाडौँको विभिन्न स्थानबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार ३१ थान तथा म्यागजिन एवं गोलीगठ्ठा बरामद गरेको छ ।

सेनाद्वारा ७३ नाल हतियार बरामद

नेपाली सेनाले बुधबार साँझसम्म ७३ नाल हतियार बरामद गरेको छ । सेनाको जनसम्पर्कत तथा सूचना निर्देशनालयका अनुसार मंगलबार रातिदेखि बुधबार साँझ ५ बजेसम्म विभिन्न ठाउँबाट ७३ नाल हतियार बरामद गरेको हो । बुधबार मात्रै सात नाल हतियार, उक्त हतियारमा लाग्ने म्यागेजिन लगायतका एसेसरिजहरू बरामद भएको जनाएको छ । सेनाले विशेष सूचनाका आधारमा माछापोखरी क्षेत्रबाट एक नाल हतियार बरामद गरेको थियो ।

त्यस्तै काठमाडौँको महाराजगन्ज इलाकामा लुटपाट गर्ने चार जनालाई पनि सेनाले बुधबार नै पक्राउ गरेको छ । काभ्रेको जिल्ला कारागारमा कैदीबन्दी र नेपाल प्रहरीबीच भएको झडप सेनाले नियन्त्रणमा लिएको पनि निर्देशनालयले जनाएको छ । त्यसैगरी डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको उसले जनाएको छ । सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा ४, सुनसरीमा २०२, रूकुम पश्चिममा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ गरी ३०३ जनालाई पक्राउ गरेको सेनाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार