सुर्खेत ।
धनञ्जय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ । यससँगै संस्थाको आगामी कार्यदिशा समेत तय गरिएको छ । साधारणसभाले संस्थाको नेतृत्वका लागि नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको हो ।नयाँ सञ्चालक समितिको अध्यक्षमा देबेन्द्र रिजाल निर्वाचित भएका छन् । उपाध्यक्षमा डिला धमला, सचिवमा यामप्रसाद शर्मा र कोषाध्यक्षमा नवराज ढुंगाना चयन भएका छन् । भने सञ्चालक समितिका सदस्यमा चन्द्रा भण्डारी, देवीकुमारी आचार्य, भुपेन्द्र पगेनी, टक रिजाल, ऋषिप्रसाद रिजाल, निता रिजाल र यामलाल पगाली निर्विरोध निर्वाचित भएका हुुन् ।
यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा दयाराम पगाली चयन भएका छन् । समितिको सदस्यमा भवानीप्रसाद पौडेल र यामुना चालिसे निर्विरोध चयन भएका छन् । नयाँ नेतृत्व चयनसँगै संस्थाले आगामी कार्यकालमा वित्तीय कारोबारको विस्तारसँगै सुशासन र सदस्यको आर्थिक हितलाई केन्द्रमा राख्ने प्रतिवद्धता गरिएको छ । साधारणसभाले सहकारीको संस्थागत सुशासन, सदस्यको आर्थिक हित तथा स्थानीयस्तरमा उत्पादन र स्वरोजगार प्रवद्र्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । सहकारी क्षेत्रमा सदस्यको विश्वास, वित्तीय अनुशासन र संस्थागत पारदर्शिताको विषय महत्वपूर्ण बन्दै गएको अवस्थामा धनञ्जय सहकारीले पनि आफ्नो आगामी यात्रालाई सदस्यको आवश्यकता र स्थानीय आर्थिक गतिविधिसँग जोड्ने प्रयास गरेको हो ।
साधारणसभामा संस्थाको विगतको आर्थिक अवस्था, सञ्चालन गतिविधि तथा आगामी कार्ययोजनामाथि छलफल गर्दै सेवा प्रवाहलाई थप सदस्यकेन्द्रित बनाउने विषयमा जोड दिइएको थियो साधारणसभाको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका, सुर्खेतका उपप्रमुख नीलकण्ठ खनालले आर्थिक पहुँचबाट बाहिर रहेका समुदायलाई वित्तीय पहुँचमा ल्याउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।‘सहकारीले बचत तथा ऋणको कारोबारमा सीमित नभई सदस्यको वास्तविक आवश्यकता र माग पहिचान गरेर कार्यक्रम सञ्चालन गर्नुपछर्’ उनले भने, ‘साना तथा स्वरोजगारमुखी व्यवसायलाई अघि बढाउनेतर्फ सहकारीले प्राथमिकता दिनुपर्छ । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्न तथा सदस्यलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहकारीका वित्तीय सेवासँगै उत्पादन र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रम आवश्यक छ ।’
सहकारी संघ सुर्खेतका अध्यक्ष प्रकाश तिमिल्सिनाले सहकारीप्रतिको विश्वास कायम राख्ने जिम्मेवारी सञ्चालक समितिको पनि रहेको बताए । साथै यसमा सदस्यहरूको पनि उत्तिकै भूमिकार रहेको भन्दै संस्थाको दिगोपनका लागि पारदर्शिता, उत्तरदायित्व र सदस्यको सक्रिय सहभागिता अनिवार्य रहेको उनको भनाइ छ ।‘सहकारी सञ्चालनमा संस्थागत सुशासन कमजोर हुँदा सदस्यको विश्वास प्रभावित हुनसक्छ’ उनले भने, ‘निर्णय प्रक्रियादेखि आर्थिक कारोबारसम्म पारदर्शिता कायम गर्नुपर्छ । सञ्चालक समिति र सदस्यबीचको सहकार्यले मात्रै सहकारीलाई प्रभावकारी र दिगो बनाउन सकिन्छ ।’ कार्यक्रम भलाराम पंगालीको अध्यक्षतामा सम्पन्न भएको थियो । भने संस्थाका कोषाध्यक्ष दयाराम पंगालीले आर्थिक वर्ष २०८२–०८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा संस्थाको आर्थिक अवस्था, सञ्चालन गतिविधि तथा आगामी योजनाबारे जानकारी गराइएको थियो । साधारणसभामा संस्थाको वित्तीय अवस्था र हालसम्मका गतिविधिको समीक्षा गर्नुका साथै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारे छलफल गरिएको थियो ।संस्थाका सदस्यको माग र आवश्यकताअनुसार सेवा विस्तार गर्ने, बचत तथा ऋण कारोबारलाई प्रभावकारी बनाउने र वित्तीय सेवासँगै उद्यमशीलता तथा स्वरोजगार प्रवद्र्धनका कार्यक्रम अघि बढाउने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो । यस्तै धनञ्जय सहकारीले आगामी दिनमा सदस्यको माग र आवश्यकतामा आधारित सेवा विस्तार गर्ने जनाएको छ । बचत तथा ऋण सेवासँगै उद्यमशीलता, साना व्यवसाय तथा आर्थिक आत्मनिर्भरतासम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने संस्थाको लक्ष्य छ ।









प्रतिक्रिया दिनुहोस्