चितवन ।
शनिबार साँझ ५ बजेतिर चितवन भरतपुर १० स्थित उद्योग संघको भवन अगाडि दुई महिला ओर्लिए । यहाँ बाढीपहिरोमा परी ज्यान गुमाएका र सनाखत हुन नसकेका शवहरूको फोटो डिस्प्ले गरिएको थियो । यात्राको अथाह थकानभन्दा बढी उनीहरूको अनुहारमा १० दिनदेखिको छटपटी, भौतारिएका पाइलाहरू र आँखामा आँसु प्रष्ट देखिन्थ्यो । सिन्धुपाल्चोकको भोटेकोशीदेखि यहाँसम्म आइपुग्दा उनीहरूले बाटोभरि कतिपटक आँसु पुछे, कतिपटक मन दह्रो बनाए, त्यसको कुनै लेखाजोखा छैन।
उनीहरू हुन्- गोमा विक र फूलमाया विक । नाताले जेठानी-देउरानी । तर, आज उनीहरू दुवैजना एउटै बज्रपात र एउटै आँसुमा डुबेका छन्। सिन्धुपाल्चोकको तातोपानी, भोटेकोशीका यी दिदीबहिनीका श्रीमान्- पूर्ण विक र शुकलाल विक- जो सहोदर दाइभाइ हुन्, भोटेकोशीको भीषण बाढीमा परेर बेपत्ता भएका छन् ।
बाढीले श्रीमान् बगाएको ११ दिन पुगिसक्यो । ११ औँ दिनसम्म पनि आँखाको आँसु ओभानो हुन पाएको छैन । खोजीका सबै ढोका चहार्दा चहार्दा थाकेका यी दुईको मनमा गाँठो परिरहेको छ। कहिले भक्कानिँदै भावुक बन्छन्, कहिले टोलाएर एकोहोरो हेरिरहन्छन्। अनि फेरि आफ्ना स-साना बालबच्चाको अनुहार सम्झिँदै आँसु पुछ्छन् र आफैंलाई सम्हाल्ने कोसिस गर्छन्।
अतीत सम्झिँदै गोमा गला अवरुद्ध पार्छिन् । ‘९ गते बेलुकासम्म कुरा भएको थियो,’ मलिन स्वरमा भनिन्, ‘१० गते त त्यो घटना भइहाल्यो’। ९ गतेको त्यो फोन कुराकानी नै उनीहरूका लागि श्रीमानको अन्तिम आवाज बन्ला भनेर कसले सोचेको थियो र ?
पूर्ण र शुकलाल दुवै पेशाले गाडी चालक (ड्राइभर) थिए। घरमा कमाएर ल्याउने, परिवार पाल्ने मुख्य आधार नै उनीहरू नै थिए । ‘हाम्रो त कमाइदिने ल्याइदिने उहाँहरू नै हो, हामी त कहीँ गएर कमाएर ल्याउन सक्ने अवस्थामा छैनौँ,’ फूलमायाले रुँदै भनिन्।
बाढीपहिरो गएको बेला श्रीमान्ले चलाएको गाडीको नम्बर र साहुको नामसमेत उनीहरूलाई थाहा नहुँदा खोजी कार्य अझ जटिल बनेको छ। ‘हामीलाई गाडी नम्बर पनि थाहा छैन। साहुजीले पनि अहिलेसम्म एककल फोन गरेर ‘मेरो गाडी चलाएको थियो’ भनिदिए हुन्थ्यो, तर कसैले सम्पर्क गरेका छैनन्,’ फूलमायाको गुनासो छ।
अस्पतालदेखि सीमानासम्मको दौडधुप
श्रीमानको खोजीमा यी दुई दिदीबहिनीले नचहारेको कुनै ठाउँ छैन । ‘हामी काठमाडौँका हस्पिटलहरू, प्रहरी चौकी, सबै ठाउँ पुगिसक्यौँ,’ फूलमाया दुःख बिसाउँछिन्, ‘माथि चीनको सिमानातिर जान पाइँदैन, हामीलाई जान दिँदैनन् । त्यसैले अन्तिम आशा बोकेर यहाँ आएका हौँ’। १० दिनसम्मको निरन्तर खोजी र छटपटीले अब उनीहरूको मनमा श्रीमान् ज्यूँदै भेटिने आशा मरिसकेको छ। फूलमाया निकै भावुक हुँदै भन्छिन्, ‘अब त आशा छैन, ज्यूँदो हुनुभएको भए यतिखेरसम्म फोन आउँथ्यो होला। फोन पनि आएको छैन’।

ज्यूँदो भेटिने आशा मरे पनि आफ्ना श्रीमानको शव वा कुनै अंश मात्रै भए पनि भेटिन्छ भन्ने आशाले उनीहरूलाई चितवनसम्म डोर्याएको हो। नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा पनि बेपत्ता तथा सनाखत हुन नसकेका शवहरूको फोटो र विवरण हेर्न मिल्छ भन्ने बारेमा समेत उनीहरू पूर्ण रूपमा अनभिज्ञ थिए ।
१० दिनदेखि निरन्तर भौतारिरहेका उनीहरू भरतपुर १० स्थित उद्योग संघको कार्यालय (जहाँ फोटो डिस्प्ले गरिएको थियो) मा ओर्लिएर प्रत्यक्ष रूपमा तस्बिरहरू हेर्न आइपुगेका हुन्।थिए तर यहाँबाट पनि उनीहरु निराश भएर फर्केका छन्। ‘फोटो चिनियो भने लास हेर्न मिल्छ कि भनेर अन्तिम चोटि यही हेर्न आएका हौँ,’ उनीहरूले भने ।
काँधमा बालबच्चाको भार, सरकारसँग एउटै गुहार- डीएनए परीक्षण छिटो गरिदेऊ
श्रीमतीहरू बेपत्ता श्रीमानको तस्बिर हेर्दै टोलाइरहँदा घरमा स-साना बालबच्चाहरू बाटो हेरिरहेका छन्। गोमाका तीनजना छोराहरू छन् । फूलमायाका पनि दुईजना साना बालबच्चा छन्। ‘बालबच्चा छन्, सोधिदिने, खोजिदिने मान्छे कोही छैन। हामी त धेरै हारिसक्यौँ,’ गोमाले आँसु झार्दै भनिन्।
उनीहरूको सरकारसँग एउटै मात्र माग छ- डीएनए परीक्षणको… ‘हामीले डीएनए चेक गर्न दिएका छौँ। हामी गरिबको अन्तिम आशा भनेकै त्यही एउटा हो,’ फूलमाया र गोमाले सरकारलाई गुहार लगाउँदै भने, ‘सरकारले त्यो डीएनए चेक छिटोभन्दा छिटो गरिदियोस्। ढिलो नगरिदिनुहोस्, हामी गरिबलाई यति सहयोग गरिदिनुहोस्।’
सबैभन्दा ठूलो अलमल भनेको उनीहरूले चलाइरहेको गाडी र त्यसका साहुजी को हुन् भन्ने पत्ता नलाग्नु हो । ‘साहुजीमा अलिकति धर्म छ, मनमा अलिकति दया छ भने हामीलाई सम्पर्क गरिदिनुहोला। हाम्रो नम्बर मिडियामा राखिदिनुहोला, फूलमायाले बिन्ती बिसाइन् । भोटेकोशीको बाढीमा बेपता पूर्ण विक र शुकलाल विकका परिवारको यो क्रन्दन सुन्ने र बुझिदिने कोही छ ? चितवनको साँझ झमक्क हुँदै गर्दा गर्दा गोमा र फूलमायाका आँखा फेरि पनि तिनै क्षतविक्षत शवहरुका तस्बिरहरूमा अड्किएका छन्, जहाँ उनीहरू आफ्ना श्रीमानको अनुहार खोजिरहेका छन्। निशा श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी







प्रतिक्रिया दिनुहोस्