शिवु खनाल । दाङ ।
नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१, दुम्किवासस्थित विनई सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै जैविक मल उत्पादनलाई समेत प्राथमिकतामा राखेको छ । सामुदायिक वनले विगत चार वर्षदेखि नियमित रूपमा जैविक मल उत्पादन गर्दै आएको छ । वन क्षेत्रमा खेर जाने जैविक पदार्थ तथा स्थानीय स्रोतसाधनलाई सदुपयोग गर्दै उत्पादन गरिएको जैविक मल अहिले सामुदायिक वनको वातावरणमैत्री अभियानको एउटा महत्वपूर्ण हिस्सा बनेको छ । सामुदायिक वनका अनुसार वार्षिक करिब ५० टन जैविक मल उत्पादन हुँदै आएको छ ।
मंगलबार विनई सामुदायिक वनले उत्पादन गर्दै आएको जैविक मलको स्थलगत अवलोकन तथा निरीक्षण गरिएको छ । डिभिजन वन कार्यालय पूर्वी नवलपरासीका सिनियर डिभिजनल वन अधिकृत राजु क्षेत्री, डिभिजन वन कार्यालय दाङ देउखुरीका डिभिजनल वन अधिकृत गणेशबहादुर खड्का, अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजाल लगायतले जैविक मल उत्पादनस्थलको अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा विनई सामुदायिक वन उपभोक्ता समूहकी कार्यालय सचिव मीना पौडेलले जैविक मल उत्पादनको प्रक्रिया, प्रयोग हुने कच्चा पदार्थ तथा उत्पादनको अवस्थाबारे जानकारी गराएकी थिइन् । पौडेलका अनुसार सामुदायिक वनले चार वर्षदेखि नियमित रूपमा जैविक मल उत्पादन गर्दै आएको छ । पछिल्लो समय जैविक मलप्रति किसानको आकर्षण बढ्दै गएकाले यसको उत्पादनलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको उनले बताइन् ।
अनुकरणीय अभ्यास
डिभिजन वन कार्यालय पूर्वी नवलपरासीका सिनियर डिभिजनल वन अधिकृत राजु क्षेत्रीले सामुदायिक वनले वन संरक्षणसँगै जैविक स्रोतको सदुपयोग गरेर मल उत्पादन गर्नु सकारात्मक अभ्यास भएको बताए । उनले सामुदायिक वनमा उत्पादन हुने विभिन्न जैविक पदार्थलाई व्यवस्थित रूपमा प्रयोग गर्न सके फोहोर व्यवस्थापनसँगै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसरसमेत सिर्जना गर्न सकिने बताएका थिए । जैविक मल उत्पादनले रासायनिक मलको प्रयोग घटाउँदै वातावरणमैत्री कृषि प्रणालीलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
अन्यले पनि सिक्नुपर्छ
डिभिजन वन कार्यालय दाङ देउखुरीका डिभिजनल वन अधिकृत गणेशबहादुर खड्काले विनई सामुदायिक वनको जैविक मल उत्पादनको अभ्यास अन्य सामुदायिक वनका लागि समेत सिकाइ बन्न सक्ने बताए । वन संरक्षण गर्नुका साथै वनबाट प्राप्त हुने जैविक स्रोतको उचित व्यवस्थापन र सदुपयोग गर्न सके सामुदायिक वन थप आत्मनिर्भर बन्न सक्ने उनले बताए ।
‘वन संरक्षणसँगै वातावरणमैत्री उत्पादन र आयआर्जनका कार्यक्रम सञ्चालन गर्न सकिने उदाहरण विनई सामुदायिक वनले प्रस्तुत गरेको छ’ उनले भने । वन अधिकृत खड्काले सामुदायिक वनहरूले स्थानीय आवश्यकता, उपलब्ध स्रोतसाधन र उपभोक्ताको सहभागितालाई जोडेर यस्ता कार्यक्रम विस्तार गर्न आवश्यक रहेको बताए ।
देउखुरीमा अभ्यास विस्तार गर्नुपर्छ
अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले विनई सामुदायिक वनको जैविक मल उत्पादनको अभ्यासबाट आफूहरू प्रभावित भएको बताएका छन् । उनले वन क्षेत्रमा खेर जाने जैविक पदार्थलाई उपयोग गरेर मल उत्पादन गर्नु वातावरण संरक्षण र कृषि दुवैका दृष्टिले महत्वपूर्ण रहेको बताउँदै देउखुरी क्षेत्रमा समेत यस्ता कार्यक्रमलाई विस्तार गर्नुपर्नेमा जोड दिए । ‘सामुदायिक वनले काठ र दाउरा मात्रै होइन, वनबाट प्राप्त हुने जैविक स्रोतको समेत सदुपयोग गर्नुपर्छ । जैविक मल उत्पादनले वन, वातावरण र कृषिलाई जोड्ने काम गरेको छ,’ रिजालले भने ।
वन संरक्षणसँगै उत्पादनमुखी अभिया
सामुदायिक वनको मूल उद्देश्य वन संरक्षण, संवद्र्धन र उपभोक्ताको आवश्यकता पूरा गर्नु हो । तर पछिल्लो समय धेरै सामुदायिक वनले संरक्षणसँगै उद्यम, आयआर्जन र वातावरणमैत्री उत्पादनका कार्यक्रमलाई समेत अघि बढाउन थालेका छन् । विनई सामुदायिक वनको जैविक मल उत्पादन त्यसैको एउटा उदाहरण हो । वन क्षेत्रमा खेर जाने जैविक पदार्थलाई उपयोगी उत्पादनमा परिणत गर्दै वार्षिक ५० टनसम्म जैविक मल उत्पादन गर्नुले सामुदायिक वनलाई उत्पादन र आत्मनिर्भरतासँग जोड्ने सम्भावना देखाएको छ ।
यस्ता कार्यक्रमलाई प्रविधि, बजार र आवश्यक प्राविधिक सहयोगसँग जोड्न सके आगामी दिनमा उत्पादनको मात्रा बढाउनुका साथै स्थानीय किसानलाई सहज रूपमा जैविक मल उपलब्ध गराउन सकिने अपेक्षा गरिएको छ । विनई सामुदायिक वनको यो अभ्यासले वन संरक्षणसँगै उत्पादन, वातावरण संरक्षणसँगै आत्मनिर्भरताको अवधारणालाई व्यवहारमा उतार्ने प्रयासका रूपमा समेत लिन सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्