नेपालगन्ज ।
साउन १५ गतेको कुरा हो । सुनसरीमा सल्किएको साम्प्रदायिक तनाव मधेसतिर फैलिन थालेपछि प्रधानमन्त्री बालेन शाहले मधेसकेन्द्रित दलका शीर्ष नेताहरूलाई सिंहदरबार डाके । उद्देश्य थियो—परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिनु र समाधानको बाटो पहिल्याउनु । छलफल क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतले एउटा महत्वपूर्ण प्रस्ताव राखे । उनको सुझाव थियो — ‘केन्द्रदेखि पालिकासम्मै अन्तरधार्मिक संरचना बनाऔँ । यसले स्थानीयस्तरमा हुने विवाद त्यहीँ सुल्झिन्छ र अन्यत्र फैलिन पाउँदैन ।’
राउतले सिंहदरबारमा पेस गरेको यो अवधारणा नयाँ भने थिएन । मधेसी, पहाडी र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको बाँकेको नेपालगन्जमा २० वर्षदेखि ठ्याक्कै यही मोडल सफल भइरहेको छ । नेपालगन्जमा शान्ति र धार्मिक सहिष्णुताको कडी बनेर उभिएको छ–धार्मिक सद्भाव सञ्जाल । र, यसको नेतृत्वमा छन् दुई फरक आस्थाका अगुवा– हिन्दु धर्मगुरू चन्द्रनाथ योगी र मुस्लिम मौलाना अब्दुल जब्बार मन्जरी । बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ यस सञ्जालका अध्यक्ष हुन् भने मौलाना अब्दुल उपाध्यक्ष । उनीहरू दुवै मिलेर नेपालगन्ज क्षेत्रमा सद्भाव र एकता कायम राख्न धार्मिक सञ्जालमार्फत् सचेतनालगायत काम गर्दै आएका छन् ।
मोटरसाइकलमा गाउँ–बस्ती चाहार्ने र एकअर्काका पारिवारिक जमघटमा पनि सरिक हुने यो जोडीले दुई दशकदेखि नेपालगन्जलाई साम्प्रदायिक हिंसाको डढेलोबाट जोगाउँदै आएको छ । अब्दुलका अनुसार २०६३ सालमा नेपालगन्जमा साम्प्रदायिक तनावको स्थिति उत्पन्न भएका बेला दुई पक्षलाई मिलाउन धार्मिक सद्भाव सञ्जाल बनाइएको हो । त्यति बेला साम्प्रदायिक तनावले नेपालगन्ज सहर अशान्त बनेपछि दुवै समुदायका यी दूरदर्शी अगुवाहरूले महसुस गरे– प्रशासनको लाठी र कफ्र्यूले मात्र मनहरू जोड्न सकिँदैन, संवाद नै दिगो शान्तिको विकल्प हो ।
त्यही सञ्जालले आज पनि सहरदेखि गाउँसम्मका मानिसहरू र फरक फरक समुदायसँग संवादबाटै एकता र सद्भाव कायम राख्ने काम गर्दै आएको उनी बताउँछन् । ‘समुदायहरूबीच बेलाबेला स–साना विवाद देखिनु स्वाभाविक हो, एउटै घरका दाजुभाइबीच पनि त मनमुटाव भइरहन्छ,’ सञ्जालका उपाध्यक्ष अब्दुल जब्बारले भने, ‘तर हामी विवादलाई चर्किन दिँदैनौँ । महन्तजी र म मिलेर तत्कालै संवादमार्फत् समाधान खोज्छौँ ।’ त्यही भएर विवादको राप उत्पन्न हुनेबित्तिकै आज पनि स्थानीय प्रशासनले यही जोडीलाई सम्झिन्छ ।
‘प्रशासनले हामीलाई गाडी पठाइदिन्छौँ भन्छ तर हामी आफ्नै मोटरसाइकल चढेर कुनाकाप्चासम्म पुग्छौँ,’ अब्दुलले भने, ‘विवादित ठाउँमा पुगेर सबै पक्षका अगुवाहरूलाई राख्छौँ, संविधान र कानुनको दायराभित्र रहेर छलफल गराउँछौँ । शान्ति र सद्भाव कायम राख्न भूमिका खेल्दै आएका छौँ ।’ उनीहरू सम्झाउँछन्– कसैको आस्थामाथि चोट पु¥याउने अधिकार कसैलाई छैन । आज यो सञ्जाल सहरदेखि गाउँसम्मका फरक–फरक समुदायबीच संवादको बलियो पुल बनेको छ । सिंहदरबारमा देश कसरी जोड्ने भनेर बहस भइरहँदा नेपालगन्जको यो अभ्यासले प्रस्ट पार्छ –स्थानीयस्तरको संवाद र संयन्त्र नै साम्प्रदायिक सद्भावको सबभन्दा बलियो जग हो । सेतोपाटीबाट साभार









प्रतिक्रिया दिनुहोस्