काठमाडौँ ।
काभा च्याम्पियन्स लिग भलिबल (महिला) नेपालमै हुने भएको छ । आगामी कात्तिक १५ देखि २१ गते (नोभेम्बर १–७)सम्म नेपालमै आयोजना हुने भएको हो । नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले उक्त निर्णय गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले काभा च्याम्पियन्स लिग आयोजनासहित अन्य विभिन्न निर्णयहरु गरेको छ ।
नेपाल भलिबल संघको २०८३–८४ को वार्षिक कार्यक्रम पारित गर्दै त्यसलाई सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरि त्यसलाई अनुमोदन पनि गरिएको छ । यस्तै नेपाल भलिबल संघ स्थापना भएको ५०औँ वर्ष पुगेको अवसरमा यस वर्षलाई विशेष उत्साहका साथ ‘गोल्डेन जुबली’का रूपमा भव्यताका साथ मनाउने निर्णय पनि गरिएको अध्यक्ष चन्दले जानकारी दिए ।
नेपाल भलिबल संघको आशन्न १३औँ चुनावी साधारणसभालाई लक्षित गर्दै आगामी असोज १५ गतेभित्र देशका सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय भएको छ । यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन ७ वटै प्रदेशमा केन्द्रीय प्रतिनिधि (संयोजक)हरूको चयन गरिएको छ । यसैगरी संघको पूर्ण बैठकले क्लब सदस्यतासम्बन्धी विशेष कार्यदल गठन गरि कार्यविधि बनाएर सदस्य दिने नयाँ व्यवस्था समेत गरेको छ । नयाँ क्लबलाई सदस्यता दिनुअघि कार्यदल बनाएर कार्यविधि निर्माण गरिने र त्यसअनुसार मापदण्ड पूरा भएमा मात्र सदस्यता दिने निर्णय संघको पूर्ण बैठकले गरेको छ ।









प्रतिक्रिया दिनुहोस्