जीतबहादुर शाह
फिफा विश्व कप २०२६ को विजेता टिम स्पेनका कप्तान एवम् विश्व फुटबलका उदीयमान तारा लामिने यामालको पुरा नाम लामिने यामाल नस्रावी इबाना हो । उनको बुवाको नाम मुनिर नस्राबि हो भने उनको आमाको नाम शीला इबाना हो । अहिलेको विश्व फुटवल बिजेताको नाम लामिले यामाल राख्नुको पछाडि उहाँको परिवारको एउटा निकै घतलाग्दो र भावनात्मक कथा जोडिएको छ । उनीहरु स्पेनका आदिवासी होइनन् । उनको बाबा मोरक्कोका हुन भने आमा इक्वेटोरियल गिनीकी हुन् । यी दुवै मुलुक अफ्रिकामा पर्छन् । अफ्रिकन मुलुकहरुमा भोक, रोग, गरिबी, अशिक्षा, युद्ध, हिंसा र बेरोजगारीको समस्याबाट चपेटामा परेका कारण धेरै अफ्रिकनहरु स्वाभाविक किसिमले त्यहाँबाट बसाइँसराइ गरेर युरोपतिर प्रवेश गर्ने प्रचलन अहिले पनि छ । त्यसैको परिणामस्वरूप लामिले यामालका बाबाआमा पनि स्पेनतिर बसाइँसराइ गरी आएका हुन् । उनीहरु स्पेन त आए तर स्पेनमा आएर पनि सुरुका दिनहरुमा निकै संघर्ष गर्नुप¥यो । यसरी स्पेनको बसाइँमा सुरुका दिनहरुमा आर्थिक र सामाजिक हिसाबले संघर्ष गर्ने क्रममा स्पेनका दुईजना व्यक्तिले उनीहरुलाई गास, बास, कपास र सामाजिक समायोजनमा ठूलो सहयोग गरेका थिए । उनीहरूमध्ये एउटाको नाम थियो लामिले र अर्कोको नाम थियो यामाल । हालका विश्व फुटवल स्टारका बुबाआमाले आफूलाई सहयोग गर्ने ती दुई व्यक्तिप्रति आभार व्यक्त गर्दै प्रतिज्ञा गरेका थिए— ‘भविष्यमा हाम्रो सन्तान जन्मियो भने, तपाईँ दुवैको नाम आउने गरी हाम्रो बच्चाको नाम दिनेछौँ ।’ त्यसै प्रतिज्ञाअनुसार, सन् २००७ मा जब आफ्नो सन्तानको जन्म भयो, बुबाआमाले ती दुवै सहयोगी व्यक्तिहरूको नाम जोडेर सन्तानको पहिलो नाम ‘लामिने यामाल’ राखियो । स्मरण रहोस् कि अरबी भाषामा ‘लामिने’को अर्थ सच्चा, इमानदार वा विश्वासयोग्य हुन्छ भने ‘यामाल’को अर्थ सुन्दर वा सौन्दर्य हुन्छ । हालसम्मकै सबैभन्दा कान्छो विश्वकप फिफा विजेता लामिले यामालले नामको अर्थअनुसारकै काम प्रदर्शन गर्न सफल भए ।
हामी भन्छौँ गरिबी समुन्नतिका निम्ति बाधक हो । तथापि कतिपय निश्चित उद्देश्य लिएर अघि बढ्नेहरुका निम्ति गरिबीले गुरूको रूपमा पनि काम गर्दछ । लामिले यामालले सानो उमेरमा फुटवल खेल्न जाँदा उनको खुट्टामा जुत्ता हुन्नथ्यो । कतिपय अवस्थामा त उनले आफ्नो खुट्टामा आवश्यकभन्दा ठूलो साइजका र फाटेका झुत्रेझाम्रे जुत्ता लगाएर फुटबल मैदानमा जाने गर्दथे । त्यत्तिबेला उनले ठूलो साइजको जुत्तालाई आफ्नो खुट्टाबाट नखसोस् भनेर जुत्ताको खाली भागमा कपडा र टालटुली कोच्ने गर्दथे । तिनै गरिबीको चपेटामा हुर्किएका बालक लामिले यामाल अहिले फिफा विश्वकप २०२६ को ट्रफी उचाल्न सफल भएका छन् । यो ट्रफी अठार क्यारेट सुनबाट बनेको हुन्छ र यसको तौल ६.१७५ केजी हुन्छ । यसको मूल्य अमेरिकी डलरमा २ करोड हुन्छ भने नेपाली रुपैयाँमा २ अर्ब ६० करोड हुन्छ । उनी र उनको परिवारबाट सिक्ने मूल्य शिक्षा भनेको मेहेनत, उद्देश्यप्रतिको निष्ठा र अरुप्रति देखाएको हार्दिकता, सम्मान र वचनबद्धता हो । लामिले यामाल र उनको परिवार सफलको शिखरमा पुग्न सफल हुनुमा यिनै मूल्यहरुले योगदान गरेको देखिन्छ, जुन कुरा हामीलगायत हरेक मानिसको सम्मान र सफलताका निम्ति जरुरी हुने गर्दछ । स्पेनको बुर्जोस्मा सन् २०१२ को डिसेम्बरमा सम्पन्न ओलम्पिक प्रतियोगितामा स्पेनेली धावक इभान फर्नान्डिस्ले देखाएको महानता पनि घतलाग्दो छ । केन्याको प्रसिद्ध धावक अबेल मुताई ओलम्पिक प्रतियोगिताको अन्तिम चरणमा दगुर्दा उनी अन्तिम रेखाभन्दा केही मिटर पछाडि थिए । उनका बाँकी प्रतिस्पर्धीहरू अझै पछाडि थिए । अबेलले स्वर्ण पदक करिबकरिब जितिसकेको अवस्था थियो । तर भूलवश अबेलले अन्तिम रेखा सम्झेर अलि परै उँभिन्छन् । उनका पछाडि आइरहेका स्पेनेली धावक इभान फर्नान्डिसले बुझे कि अबेलले भूलवश अन्तिम रेखा सम्झेर त्योभन्दा अघिकै रेखातिर उँभिएका छन् । उनले कराउँदै अबेललाई अगाडि जान भनिरहेका थिए । तर अबेलले स्पेनिश भाषा नबुझेकोले त्यहीँ उभिइरहे । अन्त्यमा इभानले उसलाई धकेल्दै अन्तिम रेखामा पु¥याइदिए । त्यसकारण अबेल प्रथम र इभान दोश्रो भए । सबै दर्शकलाई यो दृश्य अनपेक्षित र अनौठो लाग्यो र त्यसकारण उनीहरु अवाक भए ।
पत्रकारहरूले इभानलाई सोधे – ‘तपाईँले यस्तो किन गर्नु भयो ? अवसर पाउँदापाउँदै तपार्इँले जितेको स्वर्ण पदक किन गुमाउनु भयो ?’ इवानले भने – ‘मेरो सपना छ कि एक दिन हामीले यस्तो मानव जाति बनाओैँ, जसले एकअर्कालाई सहायता गर्नेछ, न कि उसको भूलको फाइदा उठाउने छ । म प्रथम स्थानमा थिइनँ ।’ पत्रकारले फेरि सोधे, ‘तर तपाईँले त केन्याका प्रतिस्पर्धीलाई धकेलेर अगाडि ल्याउनुभयो त ? इभानले भने, ‘उनी प्रथम नै थिए, यो प्रतियोगितामा प्रथम स्थान उनकै हो ।’ पत्रकारले पुनः सोधे‘तपाईँले स्वर्ण पदक जित्न सक्नु हुन्थ्यो नि त ?’ इभानले जवाफ दिन्छन्, ‘तपाईँले कहिल्यै सोच्नु भएको छ ? त्यो जितको अर्थ के हुन्थ्यो ? मलाई पदकको सम्मान प्राप्त हुन्थ्यो तर मैले मेरी आमासँग के भनेर खुसी साट्थेँ होला ? संस्कार एउटा पिँढीबाट अर्को पिँढीसम्म जान्छ । यो स्वर्ण पदकलाई मैले यसरी जितेर मैले आउने पिँढीलाई के सन्देश दिन्थँे होला ? अरूको दुर्बलता र अज्ञानताको फाइदा नउठाइ उसलाई सहयोग गर्ने शिक्षा मेरी आमाले मलाई दिनुभएको छ । मैले त्यसैको पालना गरेँ । अरु केही होइन ।’
मानवता भेट्न गाह्रो हुन थालेको यो दुनियाँमा कहिलेकाहीँ यस्ता पनि मानवीय समवेदनाका सवालहरु भेटिन्छन् जसले मन गर्विलो हुन्छ र आँखामा हर्षका आँशु देखा पर्छन् । यस्ता घटनाहरु सुन्दा, देख्दा र अध्ययन गर्न पाउँदा कहिलेकाहीँ त पत्याउनै पनि गाह्रो लाग्छ, यस्तो कि चराजातिका प्राणीहरुको दूध भेटिएको जस्तो, ढुङ्गा जातिका पदार्थहरु उम्रिन थालेको जस्तो । बरु अहिले त मानिसले आफ्नो जितको लागि जे पनि गर्न थालेका छन् । विद्यालयहरुले आफ्नो बोनाफाइड विद्यार्थीको सट्टा अन्य फर्जी विद्यार्थीहरु ल्याएर खेलकुद प्रतियोगिताहरुमा सामेल गराउने कुरा सामान्य भइसकेको छ । प्रतियोगिताका जजहरुलाई प्रभावमा पारेर हार्नेलाई जित्ने र जित्नेलाई हार्ने अवस्थामा पु¥याएका अनपेक्षित दृश्यहरु पनि देख्नु पर्ने अवस्था छ । यस्तै यस्तै कारणले कतिपय खेलकुद मैदानहरु रणभूमिमा परिणत हुन्छन् र खेलाडीहरु लडाकु दस्ताको रुपमा देखा पर्दछन् । यसबाट विद्यालयले समाज, नागरिक र भोलिको पुस्तालाई के सन्देश सम्प्रेषण गरिहेको छ त ? असल वा खराब ? यस्तो अस्वस्थ प्रतिष्पर्धाको बीचबाट पनि इभानले दिएको मानव मूल्य शिक्षा अब्बल र अतुलनीय छ, जसलाई विश्वले आत्मसात् गर्न सक्यो भने मानवमानव बीचको मतभेद अन्त्य हुने देखिन्छ । खेलाडीहरूले नेता र नागरिक समाजबाट सिक्नु पर्ने कुराहरूको अनिकाल परिरहेको यो समयमा खेलाडीबाट सिक्नुपर्ने कुराहरुको भने त्यत्ति अभाव देखिएको छैन । सन् २०१८ र २०२२ को फिफा विश्वकपमा जापानी फुटबल समर्थक र खेलाडीहरूले खेल सकिएपछि रंगशाला र ड्रेसिङ रुम पूर्ण रूपमा सफा गरेर छोडेका विश्वप्रसिद्ध उदाहरणहरू छन् । यो कुनै अचानक भएको घटना थिएन । यो त उनीहरूले बाल्यकालदेखि नै विद्यालयबाट सिकेको निरन्तरको अभ्यास र संस्कार थियो । किनभने जापानका विद्यालयहरूमा शिक्षक र विद्यार्थीहरू मिलेर विद्यालय स्वच्छ, सफा र हरियाली बनाउने काम गर्छन । जापानका विद्यालयहरूमा शौचालय सफा गर्ने र सरसफाइ गर्ने कामका लागि त्यहाँ कुनै छुट्टै जनशक्ति हुँदैन । जापानी खेलाडी र उनका समर्थकहरुले देखाएको त्यो संस्कार विश्व फिफा कप प्रतियोगिताको स्थानमा प्रतिविम्बित भएको थियो । खेलाडीबाट अनुशासन, आत्मसंयम, आत्मविश्वास, सहकार्य, सकारात्मक सोच र उत्साह, समयनिष्ठ, इमान्दार, नैतिकवान् आदि कुराहरू त सिक्न सकिन्छ नै । यसका साथै उनीहरूबाट वातावरणीय सरसफाइ र हरियाली प्रवर्धनका पक्षहरुसमेत सिक्नु पर्ने देखिन्छ जुन कुरा जापानी खेलाडीहरुले विश्वसामु प्रदर्शन गरेर देखाए ।
मानिसलाई धर्म, भाषा, जाति, राजनीति, सम्प्रदाय र भूगोलले विभाजन गर्दछ तर खेलले मानिसलाई जोड्छ । धर्मको बाटो समातेकाहरु अन्ततः छुट्टिएर कोही मन्दिरतिर, कोही मस्जिदतिर त कोही गुम्बा र चर्चतिर लाग्छन् । भाषाका पक्षधरहरु कोही नेपाली, कोही अङ्ग्रेजी र कोही अरबी र कोही फारसीतिर मोडिन्छन् । जातिका कुरा उठ्नेबित्तिकै कोही बाहुन, कोही क्षेत्री, कोही मगर र कोही गुरुङको कित्तामा उभिन्छन् । राजनीति, सम्प्रदाय र भूगोलका कुरा गर्दा पनि विभाजन हुने कित्ताहरु अनेकथरी छन् । तर जब खेलको कुरा उठ्छ, छुट्टिएकाहरु पनि जोडिएर एक हुन्छन् । त्यही भएर नै नेल्सन मण्डेलाले भनेका छन् – ‘खेलकुदसँग संसार बदल्ने शक्ति हुन्छ । यसले मानिसहरुलाई यसरी जोड्छ कि जुन अन्य कुनै शक्तिले पनि जोड्न सक्दैन ।’ खेल विभिन्न वाह्य शक्तिहरुको बीचको एकताको मात्र प्रतीक नभई आन्तरिक शक्तिको समेत एकताको प्रतीक हो । मानिस जब खेल मैदानमा टेक्छ, उसले सारा संसार भुलेर खेलका लागि तन, मन, विचार कर्मले एकाग्र भएर समर्पित हुन्छ । त्यसैले विद्वानहरुले भन्ने गर्दछन् – ‘कुनै पनि कामलाई खेल सम्झेर गरियो भने उक्त कामले जीवनलाई आनन्द मात्र दिँदैन त्यसबाट हुने उपलब्धि र गुणस्तर पनि अधिकतम हुने गर्दछ ।’ कतिपय मुलुकमा चलिरहेका राजनीतिक, साम्प्रदाियक र जातीय द्वन्द्वहरु समाधानका लागि समेत कतिपय राजनेताहरुले विश्वप्रसिद्ध खेलाडीहरुलाई प्रयोग गरेर युद्धलाई शान्तिमा रुपान्तरण गरेका दृष्टान्तहरु पनि प्रशस्त छन् । सन् १९९५ को रग्बी विश्वकप आयोजना गर्दा मण्डेलाले काला जातिहरूलाई आफ्नै देशको गोराहरूको बाहुल्य रहेकोटिमलाई समर्थन गर्न आह्वान गरे र टिम कप्तान फ्रान्कोइस पिनारसँग मिलेर उनले ‘वन टिम, वन नेसन’को नारा दिए । जब दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई हराएर उपाधि जित्यो, मण्डेलाले ६ नम्बरको जर्सी (जुन पिनारको जर्सी थियो) लगाएर ट्रफी हस्तान्तरण गरे । यस घटनाले गोरा र काला जातिबीचको वर्षौँ पुरानो साम्प्रदायिक खाडल पुर्न र गृहयुद्धको जोखिम टाल्न ठूलो योगदान पु¥यायो । त्यसरी नै पश्चिम अफ्रिकी मुलुक आइभोरी कोस्टमा उत्तरी (मुस्लिम) र दक्षिणी (क्रिश्चियन) क्षेत्रबीच भयावह गृहयुद्ध चलिरहेको समयमा विश्वप्रसिद्ध फुटबलर डिडियर डोग्बाले आफू सन् २००६ को विश्वकपका लागि छनोट भएपछि, राष्ट्रिय टिमका खेलाडीहरूसँगै ड्रेसिङ रुमबाट प्रत्यक्ष प्रसारणमार्फत घुँडा टेकेर देशबासीसँग युद्ध रोक्न र चुनाव गराउन याचना गरेर उनकै पहलमा सन् २००७ मा विद्रोहीहरूको गढ मानिने सहर बुआकेमा राष्ट्रिय टिमको म्याच आयोजना गरियो । यस ऐतिहासिक खेलपछि दुवै पक्ष वार्तामा आउन बाध्य भए र देशमा शान्ति प्रक्रिया अघि बढ्यो । त्यसैले खेल र खेलाडीलाई सानातिना समस्याहरुमा अल्झाउने होइन कि समग्र मानव जाति र मानवताको प्रवर्धनमा उपयोग गर्न हामी सबै एकतावद्ध भएर लाग्नुपर्ने देखिन्छ । बाँकी जो हजुरहरूको मर्जी ।









प्रतिक्रिया दिनुहोस्