नन्दराम जैशी । सुर्खेत ।
असार १८ गते बिहीबार । धान रोपाइँको चटारोले गाउँ व्यस्त थियो । अछामको तुर्माखाद गाउँपालिका–२ ज्यूलाका मोहन विष्ट पनि खेतमै थिए । हिलो, पानी र रोपाइँको व्यस्तताबीच उनको नजर एकाएक कर्णाली नदी माथिको राजमार्गतर्फ पुग्यो । त्यसै क्षण उनले एउटा भयावह दृश्य देखे । त्यो दृष्य थियो, सुर्खेतबाट कालीकोटको रास्कोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित बन्दै साङ्गेतडाको भीरबाट सिधै उर्लिरहेको कर्णाली नदीमा खस्नु ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडाको भीरबाट केही सेकेन्डमै गाडी नदीको प्रचण्ड बहावमा विलीन भयो । विष्टले तत्काल प्रहरी चौकी पाल्तडामा खबर गरे । केही मिनेटमै प्रहरी घटनास्थल पुग्यो । तर त्यतिबेलासम्म कर्णालीले गाडीलाई आफ्नै गर्भमा लुकाइसकेको थियो । त्यसपछि सुरु भयो ११ दिन लामो खोजी अभियान, जसले अन्ततः एउटा दुःखद निष्कर्षमा पुग्दै असार २९ गतेपछि खोजीकार्यमा रोक लगाइयो ।
दुर्घटनालगत्तै प्रहरी चौकी पाल्तडा, सशस्त्र प्रहरी र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सुरक्षा टोलीले भीर र नदी किनारमा खोजी थाले । दुर्घटनास्थल अत्यन्तै विकट भएकाले उद्धारकर्ताले डोरीको सहारामा भीरमा झरेर खोजी गर्नुपरेको थियो । भीरमा एक पुरुष गम्भीर घाइते अवस्थामा भेटिए । तत्काल दुल्लु अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरे । उनी कालीकोटको पचालझरना गाउँपालिका–९ का ५४ वर्षीय जेखे तिरुवा रहेको पुष्टि भयो ।
प्रारम्भमा गाडीमा कति जना सवार थिए भन्ने यकिन थिएन । तर दैलेखको तल्लो डुङ्गेश्वरस्थित प्रहरीको सवारी अभिलेखले चालक, सहचालक, दुई पुरुष र एक महिला गरी पाँच जना रहेको पुष्टि ग¥यो । जसमा ती यात्रु थिए, चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, यात्रुहरू सिर्जना खड्का, मेखे तिरुवा र जेखे तिरुवा ।
अत्याधुनिक प्रविधिसमेत असफल
यो घटनालाई सामान्य दुर्घटनाका रूपमा लिइएन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजीलाई उच्च प्राथमिकता दियो । सुर्खेतबाट गोताखोर परिचालन भए । पछि चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालयबाट निरीक्षक प्रेम तामाङको नेतृत्वमा पाँच सदस्यीय विशेष गोताखोर टोली अत्याधुनिक उपकरणसहित घटनास्थल पुग्यो । खोजीमा ड्रोन, सोनार क्यामेरा, बोरस्कोप क्यामेरा र पानीमुनिको फलाम पत्ता लगाउने रिभर भेहिकल म्याग्नेट प्रयोग गरियो ।
नदीको सतहमुनि गाडीको संकेत खोज्न प्रविधिको सबै सम्भावित प्रयोग गरियो । तर कर्णालीको उर्लँदो बहाव, धमिलो पानी र निरन्तर बढ्दो बाढीले प्रविधिलाई समेत निरीह बनायो । ११ दिनसम्म निरन्तर खोजी गर्दा पनि गाडीको कुनै अत्तोपत्तो लागेन । अन्ततः असार २९ गते नदीको सतह अत्यधिक बढेपछि गोताखोर टोली फिर्ता भयो र गाडी खोज्ने अभियान तत्कालका लागि स्थगित गरियो । घटनामा गाडी हराए पनि नदीले मृतकहरूलाई विभिन्न स्थानमा पु¥यायो । दुर्घटनास्थलदेखि झण्डै १५० किलोमिटर तल कैलालीको मोहन्याल गाउँपालिकास्थित सोल्टामा मेखे तिरुवाको शव भेटियो ।
त्यसको भोलिपल्ट सुर्खेतको चौकुने गाउँपालिका–४ डाङडुङ्गेमा तैरिरहेको महिलाको शव कालीकोटकी १८ वर्षीया सिर्जना खड्काको भएको पुष्टि भयो । असार २७ गते अछामको तुर्माखाद गाउँपालिका–२ जम्फुगाडमा भेटिएको शव चालक तुलाराम सुवेदीको रहेको खुलेको थियो । त्यसअघि दुर्घटनास्थलमै जेखे तिरुवाको शव भेटिएको थियो । तर सहचालक रामप्रसाद सुवेदी अझै बेपत्ता छन् ।
दुर्घटनापछि प्रहरीले घटनास्थलमा मात्र होइन, कर्णालीले छुने दैलेख, अछाम, सुर्खेत, कैलाली र बर्दियाका नदी किनारमा व्यापक खोजी सञ्चालन ग¥यो । एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिए । स्थानीय बासिन्दालाई शव वा दुर्घटनासँग सम्बन्धित कुनै बस्तु भेटिए तुरुन्त खबर गर्न आग्रह गरियो । खोजीकै क्रममा गाडीको केही सिट र यात्रुका झोलाहरू अछाम–दैलेख जोड्ने झोलुङ्गे पुलनजिक भेटिए । तर गाडीको मुख्य भाग अझै नदीमै हराइरहेको छ ।
‘ज्यानको बाजी राखेर खोज्यौँ’
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार खोजी टोलीले अत्यन्तै जोखिमपूर्ण अवस्थामा काम गरेको थियो । उनका अनुसार दुर्घटनास्थलदेखि तल्लो डुङ्गेश्वरसम्मको करिब १३ किलोमिटर क्षेत्र मानव बस्तीविहीन, साँघुरो खोँच र भीरले भरिएको छ । कतिपय स्थानमा पैदल हिँड्ने बाटोसमेत थिएन । उद्धारकर्मी डोरीको सहारामा झुन्डिएर नदी किनारसम्म पुगेका थिए ।
तर बर्खायामसँगै नदीको बहाव असाध्यै बढेपछि थप खोजी जारी राख्नु सम्भव नभएको प्रहरीले जनाएको छ । तर बेपत्ता सहचालक रामप्रसाद सुवेदीको खोजीका लागि पाँच जिल्लाका प्रहरीसँग समन्वय गरी तटीय क्षेत्रमा निगरानी भने निरन्तर राखिएको छ । ११ दिनको खोजीपछि एउटा गाडी हरायो, चार जनाको मृत्यु पुष्टि भयो, एक जना अझै बेपत्ता छन् । तर दुर्घटना किन र कसरी भयो भन्ने मूल प्रश्न अझै अनुत्तरित छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले सडक त्यति जोखिमपूर्ण नभएको देखाएको छ । त्यसैले दुर्घटनाको कारणबारे तीन सम्भावना उठेका छन् ।
जसमा पहिलो, विपरीत दिशाबाट आएको सवारीसँग जोगिने क्रममा गाडी नदीमा खस्यो कि ? दोस्रो, स्टेरिङ वा ब्रेक फेलजस्ता यान्त्रिक समस्या आएको थियो कि ? र तेस्रो, चालकको थकान वा मानवीय त्रुटिका कारण दुर्घटना भयो ? यी प्रश्नको उत्तर दिने सबैभन्दा महत्वपूर्ण प्रमाण गाडी नै हो । तर गाडी अझै कर्णालीको गहिराइमै हराइरहेको छ । दुर्घटनाको सत्य बताउन सक्ने चालक पनि मृत अवस्थामा फेला परिसकेका छन् ।
त्यसैले अहिले यो दुर्घटना एउटा सडक दुर्घटना मात्र होइन, कर्णाली नदीले आफ्नै गर्भमा लुकाएर राखेको एउटा रहस्य बनेको छ । ११ दिनसम्म आधुनिक प्रविधि, गोताखोर र सयौँ सुरक्षाकर्मीले खोजे पनि कर्णालीले गाडी फिर्ता दिएन । खोजी रोकिएको छ, तर उत्तर खोज्ने प्रतीक्षा भने अझै समाप्त भएको छैन ।









प्रतिक्रिया दिनुहोस्