आश्रयविहीन ४७ बालबालिकाको सुरक्षित घर बन्यो जनकल्याण



नन्दराम जैशी । सुर्खेत ।

विगत तीन वर्षअघि सल्यानको शारदा नगरपालिका–५, तल्लो मार्केस्थित जनकल्याण प्राथमिक विद्यालयको अवस्था निकै कमजोर थियो । त्योबेला विद्यालय अब धेरै दिन टिक्दैन भन्ने चर्चासमेत गाउँभरी चल्यो । पाँच कक्षामा जम्मा ६ जना विद्यार्थी, दुई जना शिक्षक, जीर्ण भवन, सुनसान परिसर र सरकारी विद्यालयप्रतिको घट्दो विश्वासले विद्यालय भने अस्तित्व जोगाउने संघर्षमा थियो । तर आज त्यही विद्यालय १४० विद्यार्थीको रोजाइ मात्र बनेको छैन, ४७ जना आश्रयविहीन बालबालिकाको सुरक्षित घरका रूपमा समेत स्थापित भएको छ ।

यो परिवर्तन कुनै आकस्मिक घटना होइन । स्थानीय सरकारको नीतिगत प्रतिबद्धता, विद्यालय नेतृत्वको निरन्तर प्रयास र समुदायको पुनः स्थापित विश्वासले सम्भव बनाएको परिवर्तनको कथा हो । एक समय अभिभावकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा सारिसकेको अवस्थामा रहेको विद्यालय अहिले गुणस्तरीय शिक्षासँगै सामाजिक उत्तरदायित्वको नमुना बनेको छ । केही वर्षअघिसम्म जनकल्याण प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या निरन्तर घटिरहेको थियो । विद्यालय भवन जीर्ण अवस्थामा थियो भने आधारभूत शैक्षिक पूर्वाधारसमेत कमजोर थियो ।

यो अवस्थाको कारण पूर्वाधारको अभाव मात्र थिएन । विद्यालयका अनुसार २०७५ सालतिर विकास निर्माण योजनाको कार्यान्वयनलाई लिएर विद्यालय व्यवस्थापन, स्थानीय तह र अभिभावकबीच विवाद उत्पन्न भएको थियो । त्यसपछि अभिभावकले आफ्ना बालबालिकालाई अन्य विद्यालयमा भर्ना गर्न थाले । जसको परिणामस्वरूप विद्यालय लगभग रित्तिन पुग्यो । तर २१ साउन २०८० मा शिक्षक कृष्णबहादुर वली जब विद्यालयमा सरुवा भएर आए । विद्यालयमा पहिलो दिन पुगेको अनुभव सम्झँदै

उनी भन्छन्, ‘विद्यालयमा विद्यार्थीभन्दा बढी चिन्ता थियो । भवन बिग्रिएको थियो । वातावरण सुनसान थियो । त्यो अवस्था देखेर विद्यालय जोगाउनु नै पहिलो लक्ष्य बनाएँ ।’ यता नगरप्रमुख प्रकाश भण्डारीले पनि विद्यालयलाई पुनर्जीवित गर्ने जिम्मेवारी वलीलाई नै दिएका थिए । त्यसपछि विद्यालय सुधार अभियान योजनाबद्ध रूपमा अघि बढाइयो । सबैभन्दा पहिले विद्यालयको भौतिक संरचना सुधार गरियो ।

नगरपालिकाको सहयोगमा भवन मर्मत, नयाँ डेस्क–बेन्च, खानेपानी र शौचालयको व्यवस्था तथा आवश्यक शिक्षक व्यवस्थापन गरियो । तर विद्यालय नेतृत्वले भवन सुधारले मात्र विद्यार्थी नफर्किने बुझेको थियो । त्यसैले समुदायसँगको सम्बन्ध पुनः निर्माणलाई प्राथमिकता दिइयो । शिक्षक वली विद्यालयमा विद्यार्थीको प्रतीक्षा गरेर बसेनन् । उनी गाउँ–गाउँ र घर–घर पुगेर अभिभावकसँग भेट्न थाले । सरकारी विद्यालय पनि गुणस्तरीय शिक्षा दिन सक्षम छ भन्ने विश्वास दिलाउने अभियान सञ्चालन गरियो । घरदैलो अभियानको प्रभाव पहिलो वर्षमै देखियो ।६ जनाबाट ३६ जना नयाँ विद्यार्थी विद्यालयमा भर्ना भए । त्यसपछि विद्यार्थी सङ्ख्या निरन्तर बढ्दै गयो । अहिले विद्यालयमा १४० जना विद्यार्थी अध्ययनरत छन् । शिक्षक सङ्ख्या दुईबाट बढेर ६ पुगेको छ भने कक्षा ६ सञ्चालनको अनुमति पनि प्राप्त भइसकेको छ ।

आश्रयविहीन बालबालिकाको घर

जनकल्याण प्राथमिक विद्यालयको अर्को महत्वपूर्ण परिचय भनेको यसको आवासीय सेवा हो । अहिले यहाँ बाबुआमा गुमाएका, आर्थिक रूपमा कमजोर तथा पारिवारिक समस्याका कारण शिक्षाबाट वञ्चित भएका ४७ जना बालबालिका आवासीय रूपमा बसिरहेका छन् । ती बालबालिकाले विद्यालयमा शिक्षा मात्र होइन, सुरक्षित बसोबास, नियमित हेरचाह र पारिवारिक वातावरण पनि पाउने गरेका छन् । यसले विद्यालयलाई शिक्षण संस्था नभई सामाजिक संरक्षण केन्द्रका रूपमा समेत स्थापित गरेको छ ।

शारदा नगरपालिकाले आफ्नो शिक्षा नीतिअनुसार जनकल्याण विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्ने योजना अघि सारेको थियो । सोही योजनाअनुसार २०८२ जेठ ७ गतेदेखि आवासीय भवन सञ्चालनमा आएको हो । त्यसयता ४७ जना बालबालिका विद्यालयमै बस्दै अध्ययन गरिरहेका छन् । नगरप्रमुख प्रकाश भण्डारीका अनुसार नगरपालिकाको उद्देश्य कुनै पनि बालबालिका अभिभावकको अभाव वा आर्थिक कमजोरीकै कारण शिक्षाबाट वञ्चित नहोस् भन्ने हो ।

आवासीय विद्यालय सञ्चालनमा ठूलो आर्थिक खर्च लाग्ने भएकाले विद्यालयले दीर्घकालीन व्यवस्थापनका लागि आत्मनिर्भर बन्ने अभियान पनि थालेको छ । विद्यालयको चार रोपनी जग्गामा तरकारी खेती सुरु गरिएको छ । त्यसबाट प्राप्त हुने आम्दानी आवासीय व्यवस्थापनमा खर्च गर्ने योजना बनाइएको छ । यससँगै भविष्यमा बचत हुने रकमबाट माथिल्लो कक्षामा अध्ययन गर्ने आश्रित बालबालिकाको बैंक खातामा प्रत्येक वर्ष निश्चित रकम जम्मा गर्ने तयारी पनि गरिएको विद्यालयले जनाएको छ ।

यसले उनीहरूको उच्च शिक्षा र भविष्यको आर्थिक सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कुनै समय बन्द हुने अवस्थामा पुगेको जनकल्याण विद्यालय हाल सल्यानमा सामुदायिक विद्यालय पनि इच्छाशक्ति, नेतृत्व र समुदायको सहकार्य भए गुणस्तरीय शिक्षा दिन सक्षम हुन्छन् भन्ने उदाहरण बनेको छ । शिक्षाबाट वञ्चित हुन लागेका ४७ जना बालबालिकालाई सुरक्षित घर, शिक्षा र भविष्यको आशा प्रदान गर्न सफल हुनु यो विद्यालयको सबैभन्दा ठूलो उपलब्धि हो । यो विद्यालयले देखाएको परिवर्तनले सामुदायिक विद्यालयको पुनर्जागरण पूर्वाधार निर्माणबाट मात्तै होइन विश्वास निर्माण, सामाजिक उत्तरदायित्व र दीर्घकालीन सोचबाट सम्भव हुन्छ भन्ने स्पष्ट सन्देश दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार