राष्ट्रिय हाप्किडोमा दाङ च्याम्पियन



पोखरा ।

नेपाल हाप्किडो संघको आयोजनामा पोखरामा सम्पन्न ११औँ राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८३ मा दाङ टिम च्याम्पियन बनेको छ । असार २० र २१ गते आयोजित प्रतियोगितामा देशभरका ५२ जिल्लाका खेलाडी बीच प्रतिस्पर्धा भएको थियो । दाङले ८ स्वर्ण, ४ रजत र ३ कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि जित्यो ।

रूपन्देही ५ स्वर्ण र २ कांस्य पदकसहित दोस्रो तथा कास्की ३ स्वर्ण, ३ रजत र ३ कांस्य पदकसहित तेस्रो भयो । व्यक्तिगततर्फ महिलामा कास्कीकी मेग्मा गुरुङ र पुरुषमा दाङका उमङ्ग घर्ती मगर उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट रेफ्रीतर्फ महिलामा बन्दना बस्नेत र पुरुषमा विशाल थापा सम्मानित भए । प्रतियोगिताको अध्यक्षता नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले गरेका थिए ।

उद्घाटन गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुर कार्कीले गरेका थिए भने समापन समारोहमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपाली प्रमुख अतिथि थिए । नेपालीले विजेता खेलाडी तथा टोलीलाई पदक, ट्रफी र प्रमाणपत्र वितरण गर्दै खेल राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको बताए । आत्मरक्षा र अनुशासनमा आधारित हाप्किडो खेलको विकासका लागि प्रदेश सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।

समारोहमा गण्डकी प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य खिम पुन मगर, नेपाल हाप्किडो संघकी केन्द्रीय कोषाध्यक्ष विजयाकुमारी वाइबा तथा केन्द्रीय सदस्यहरू राजेन्द्र मडै, धनराज गुरुङ र युवराज गुरुङ लगायतको उपस्थिति थियो । अध्यक्ष घर्ती मगरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक, स्वयंसेवक, जिल्ला हाप्किडो संघ, सुरक्षा निकाय, सञ्चारकर्मी, प्रायोजक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरे ।

उनले हाप्किडोको विस्तार, गुणस्तरीय खेलाडी उत्पादन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सक्षम खेलाडी तयार पार्न संघ निरन्तर सक्रिय रहने बताए । नेपाल हाप्किडो संघका अनुसार दुईदिने प्रतियोगिताले राष्ट्रियस्तरका प्रतिभावान खेलाडीको पहिचान, प्राविधिक दक्षता अभिवृद्धि तथा नेपाली हाप्किडोको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार