जीतबहादुर शाह
म आयुर्वेदको विज्ञ त होइन तथापि परिवेशले आयुर्वेद लगायत पूर्वीय दर्शन र आयुर्वेदले व्याख्या गरेको शरीरका त्रिदोषको बारेमा अध्ययन गर्नु पर्ने अवस्था आइलाग्यो । यो अवस्था आइलाग्नुमा विद्यालयमा निर्माण गरिने स्थानीय पाठ्यक्रममा आयुर्वेदका उल्लिखित विषयहरूको समावेशीकरण थियो । स्थानीय विषयअन्तर्गत केही पालिकाहरूले स्थानीय पाठ्यक्रम र स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने क्रममा पूर्वीय दर्शन र यससँग सम्बन्धित आयुर्वेदले गरेको शरीरका त्रिदोषको व्याख्या र यसको निदानको बारेमा बालबालिकालाई प्रारम्भिक ज्ञान दिनु पर्ने कुरा उठेपछि ठिकै हो भन्ने पनि लाग्यो । उठ्नु पर्ने कुरा उठ्यो, राम्रै भयो भन्न महसुस भयो । यसका लागि केही किताबहरू, कसैका भनाइहरू, गुगल र एआईका विचारहरू खोजी गर्ने काम पनि गरियो । केही पनि नजानेको अवस्थामा भन्दा अलिकति केही जानेपछि रुचि र उत्सुकता पनि बढ्न थाल्यो । यस्तै क्रममा आयुर्वेदले गरेको त्रिदोषको व्याख्या र यसको वरिपरिका विषयवस्तुलाई समेटेर यस आलेखमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
आयुर्वेद दुईवटा संस्कृत शब्दहरू मिलेर बनेको छ ः ‘आयुष्’ र ‘वेद’ । आयुष् भनेको जीवन वा जीवनकाल र वेद भनेको ज्ञान वा विज्ञान हो । त्यसैले, आयुर्वेदको सिधा र शाब्दिक अर्थ ‘जीवनको ज्ञान’ वा ’जीवनको विज्ञान’ भन्ने अर्थबोध हुन्छ । प्राचीन आयुर्वेदिक ग्रन्थ चरक संहितामा आयुर्वेदको अर्थलाई अझ स्पष्ट पार्दै भनिएको छ ः जसले मानव जीवनका लागि के हितकर (राम्रो) छ र के अहितकर (नराम्रो) छ, अर्थात् के कुराले जीवनमा सुख (आरोग्यता) दिन्छ र के कुराले दुःख (रोग) निम्त्याउँछ भन्ने कुराको विस्तृत ज्ञान दिन्छ, त्यसैलाई आयुर्वेद भनिन्छ । यसबाट स्पष्ट हुन्छ कि यसले केवल रोगको उपचार गर्ने मात्र नभएर मानिसलाई दीर्घजीवी बनाउन, रोग लाग्नै नदिन र शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा कसरी स्वस्थ जीवन जिउने भन्ने कुरा सिकाउँछ । आयुर्वेदमा शरीर स्वस्थ हुनका लागि प्रभाव पार्ने पञ्चतत्वको बारेमा पनि अध्ययन र विश्लेषण गरिएको छ ।
आयुर्वेद वा पूर्वीय दर्शनमा पञ्चतत्व भन्नाले आकाश, वायु, अग्नी, जल र पृथ्वी भन्ने बुझिन्छ । पञ्चतत्वलाई पञ्चमहाभूत भनेर पनि बुझ्ने गरिन्छ । यी तत्वलाई सम्पूर्ण ब्रह्माण्ड र मानव शरीरको निर्माण गर्ने आधारभूत ऊर्जा वा भौतिक तत्वहरूको रूपमा पञ्चत्वलाई आयुर्वेदले स्वीकार गरेको छ । आयुर्वेदको सिद्धान्तअनुसार ‘यत् पिण्डे तत् ब्रह्माण्डे’ अर्थात् जुन कुरा ब्रह्माण्डमा छ, त्यही कुरा हाम्रो शरीरमा पनि छ । यी पाँच तत्वको सन्तुलनमा नै जीवन र जगत अस्तित्वमा रहन सम्भव भएको छ ।
यी पञ्चतत्वहरूको सन्तुलनमा तलमाथि भयो भने जीवन र जगतमा काम, क्रोध, लोभ, मोह, अहंकार, हत्या, हिंसा, रोगव्याधी आदि कुराहरू सल्बलाउने स्थितिको सिर्जना हुने गर्दछ । जब मानिस उल्लिखित पञ्चतत्वहरूबाट टाढा भएर सुखसयलको नाममा कृत्रिम तरिकाले जिउने अभ्यास गर्दछ, अनि ऊ रोगी र अस्वस्थ हुन थाल्छ भन्ने कुरासमेत पूर्वीय दर्शनले अन्वेषण र विश्लेषण गर्दै आएको कुरालाई अस्वीकार गर्न सकिँदैन । हाम्रा सन्तमहन्तहरू लामो समयसम्म खुसी र आरोग्य जीवन बाँच्न सफल भएको कुरालाई पनि दृष्टान्तको रूपमा अघि सार्न सकिन्छ । आयुर्वेदमा पृथ्वी तत्वले स्थिरता, कठोरता, अनुशासन र आत्मविश्वासको प्रतिनिधित्व गर्दछ । यसले शरीरलाई निश्चित आकार दिन्छ । शिक्षा र सिकाइका लागि पृथ्वी टेक्ने आधार हो, चिन्तनमनन गर्ने थलो हो र चिन्तनमनन र सिकाइबाट प्राप्त ज्ञानलाई कार्यान्वयन गर्ने थलो पनि हो । त्यसैगरी जल तत्वले तरलता, अनुकूलनता र परिवर्तनको प्रतिनिधित्व गर्दछ । यत्तिमात्र नभइ यस तत्वले आत्मीयता, हार्दिकता, भावना, संवेदना, सहकार्य, सहसम्बन्ध आदिलाई पनि आफूभित्र समेटेको हुन्छ जसले गर्दा शिक्षा र सिकाइलाई सान्दर्भिक, सिर्जनात्मक र कामयावी बनाउन योगदान गर्दछ । त्यसैगरी अग्नी तत्वले उर्जा, जोश, जाँगर, लगनशीलता, प्रयत्न र प्रतिबद्धताको प्रतिनिधित्व गर्दछ जुन कुरा शिक्षा र सिकाइका लागि पनि अपरिहार्य हुन्छ । वायु तत्व भनेको सञ्चार, गतिशीलता र परिवर्तनको परिचायक हो । यसले शिक्षक र विद्यार्थी बीचको सञ्चार र शिक्षण सिकाइ मात्र नभइ हरेक व्यक्ति र बस्तुको बिचमा हुने सञ्चार, अन्तरक्रिया र सम्बन्धलाई बुझाउँछ । त्यसरी नै आकाश तत्वले रिक्तता, चेतना, सिर्जना, समायोजन (जोड्ने)को काम गर्दछ । यो देख्दा शून्यजस्तो भए पनि मानिस र समग्र ब्रम्हाण्ड यसैको माध्यमबाट जोडिएर विविधता र अनेकताको बीचमा पनि समीपता र एकताको आभास भइरहेको हुन्छ ।
बात, पित्त र कफलाई त्रिदोष भनेर पनि बुझ्ने गरिन्छ । भन्नुको मतलव पञ्चतत्वको असरले गर्दा शरीरमा यस्ता दोषहरू अर्थात् लक्षणहरू देखिन्छन् जसलाई समयमै नियन्त्रण गर्न सकिएन भने यसले मानव जीवनमा विभिन्न विकार र रोगव्याधीहरू निम्तिने सम्भावना बढ्छ । बात दोष वायु र आकाश तत्वबाट बनेको हुन्छ । यस दोष वा प्रकृतिको मुख्य स्थान मानव शरीरको ठूलो आन्द्रा, कम्मर, खुट्टा, हड्डी र श्रेणी क्षेत्र हो । यसको शरीरमा सन्तुलन हुँदा उत्साह, सिर्जनात्मकता, द्रुत विचार र राम्रो सञ्चार क्षमता हुन्छ भने यसको असुन्तलनमा चिन्ता, अनिद्रा, कब्जियत, सुक्खा छाला, जोर्नी दुखाइ, तौल घट्ने आदि समस्या देखिन सक्छन् । त्यसरी नै पित्त दोष अग्नी र जल तत्वबाट बनेको हुन्छ । यसको मुख्य स्थान मानव शरीरको सानो आन्द्रा, पेट, कलेजो र नेत्र क्षेत्र हो । पित्त सन्तुलनमा हुँदा तेज दिमाग, राम्रो पाचन शक्ति, कुशल नेतृत्व क्षमता, उच्च साहस हुन्छ भने असन्तुलनमा हुँदा अत्यधिक गर्मी, डाह, रिस, छालामा दाग–खटिरा, पखाला र ग्यास्ट्रिकजस्ता समस्या देखिन सक्छ । कफ दोष पृथ्वी र जल तत्वबाट बनेको हुन्छ । मानव शरीरमा यसको प्रमुख स्थान छाती, फोक्सो, साइनस, टाउको र जोर्नीहरू हुन् । कफ सन्तुलनमा हुँदा मानिसमा शान्त स्वभाव, मायालु व्यवहार, बलियो प्रतिरक्षा प्रणाली र सहनशीलता देखिन्छ भने असन्तुलनमा हुँदा तौल बढ्ने, सुस्तता, अत्यधिक निन्द्रा, कफ जम्ने, एलर्जी, र अवसादको समस्या देखिने गर्दछ । बात प्रकृतिका व्यक्तिको शरीर हल्का, सुक्खा, ठण्डा, चलायमान हुने गर्दछ । शरीर पातलो, तौल कम हुन्छ । छाला सुक्खा र रुखो हुन्छ । चिन्ता र तनाव अलि धेरै हुने गर्दछ । निद्रा कम, हल्का र पातलो हुन्छ । हात र खुट्टा चिसो प्रकृतिका हुन्छन् । भोक अनियमित र पाचन कमजोर हुन्छ । बोली तेज, स्वभाव फुर्तिलो र सोच रचनात्मक हुन्छ । यस्ता प्रकृतिका मानिसहरू स्वस्थ र निरोगी रहनका लागि गर्मी, चिल्लो र पौष्टिक भोजनको प्रयोग गर्नुपर्दछ । मिठो, अमिलो र नुनिलो स्वादको प्रयोग पनि उपयुक्त मानिन्छ । दिनचर्यालाई व्यवस्थित र अनुशासित बनाउन सक्नुपर्दछ । पर्याप्त निद्राका लागि समय र परिवेश उपयुक्त किसिमले मिलाउने गर्नुपर्दछ । यस्तो प्रकृतिका व्यक्तिले तिलको तेलले शरीरको मालिस गर्न आयुर्वेदले सिफारिस गर्दछ । यस्ता व्यक्तिहरूले नियमित रूपमा ध्यान र प्राणायाम गर्नुपर्दछ र योगासनको रूपमा बज्रासन, भुजुङ्गासन र शवासनको अभ्यासलाई नियमित बनाउनु पर्दछ । बात प्रकृतिका मानिसहरू लामो यात्रा, ठण्डी मौसम र उपवासबाट जोगिनु पर्दछ ।
त्यस्तै पित्त प्रकृत्तिका व्यक्तिको शरीर गरम हुन्छ, मांशपेशी बलियो र अठिलो हुन्छ । भोक र तिर्खा धेरै लाग्ने गर्दछ । पसिना पनि धेरै आउने हुन्छ । यस्ता प्रकृतिका मानिसहरू चिन्ता र तनाव पनि धेरै लिने गर्दछन् । पाचन शक्ति भने राम्रो हुन्छ । निर्णय क्षमता तेज हुन्छ । कपाल छिटै फूल्ने र छिटै झर्ने किसिमको हुन्छ । यस्तो प्रकृति भएका व्यक्तिहरूले आफूलाई निरोगी र स्वस्थ रहनका लागि चिसो, गुलियो, तितो र टर्रो स्वादको खानेकुरा सन्तुलन मिलाएर खाइरहनु पर्दछ । यस्ता व्यक्तिले मसला, पिरो, अमिलो र तारेको भोजन सकेसम्म नखानु वा कम खानुलाई राम्रो मानिन्छ । नरिवल पानी, घ्यू, दुध, काँक्रो, धनिया आदिको सेवन नियमित रूपमा गर्नु राम्रो मानिन्छ । यस्ता मानिसहरू तनाव, रिस र अधिक मेहनतबाट जोगिनु पर्दछ । ध्यान र आसनको रूपमा शीतली, शीतकारी, चन्द्रभेदन र शवासनको अभ्यासलाई नियमित बनाउनु पर्दछ । जुनेली रातमा टहल्नु उपयुक्त मानिन्छ र नरिवल र ब्राह्मी तेलले मालिस गर्नु राम्रो मानिन्छ । कफ प्रकृतिका मानिसहरूको शरीर दरिलो, खदिलो र गह्रौँ हुन्छ । तौल जे खाए पनि बढ्ने किसिमको हुन्छ । यस्ता मानिसको स्वभाव शान्त, धैर्यवान र स्थिर हुने गर्दछ । पाचन शक्ति मध्यम किसिमको हुन्छ । भोक कम लाग्छ । निद्रा गहिरो र धेरै लाग्ने गर्दछ । छाला मुलायम, चिल्लो र चिसो हुन्छ । कपाल बलियो र नझर्ने किसिमको हुन्छ । आलस्यले भने सताउने गर्दछ । यस्ता प्रकृतिका मानिसहरू स्वस्थ र निरोगीहरू हुनका लागि हल्का, गर्मी, सुक्खा र पिरो स्वादको खाना खाने गर्नुपर्दछ भने गुलियो, चिल्लो, नुनिलो खानाको प्रयोग कम गर्नु पर्दछ । तातो पानी र महको सेवनलाई नियमित बनाउनु पर्दछ । बिहान सबेरै उठेर सूर्य नमस्कार, त्रिकोणासन, उत्कटासन लगायतका आसन र व्यायामहरू नियमित रूपमा गर्नु पर्दछ । शरीरलाई मनतातो तेलले मानिस गर्नु स्वास्थ्यबर्धक हुन्छ । यस्तो प्रकृतिका मानिसहरूले दिउँसो सुत्नु राम्रो मानिँदैन र अत्यधिक आरामबाट पनि जोगिनुपर्दछ । कतिपय व्यक्तिको शरीर मिश्रित किसिमले पनि बनेको हुन्छ । त्यस्ता व्यक्तिको शरीरमा बात र पित्त वा कफ र पित्तको स्वभाव र प्रकृतिहरू देखिने सम्भावना रहन्छ । माथि गरिएको विश्लेषणबाट आयुर्वेदले चर्चा गरेका त्रिदोषमध्ये हामी कुन दोष वा लक्षण हावी भएका व्यक्ति हौँ त भन्ने कुराको पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ । हामी यस्तो प्रकृतिको रहेछौँ भन्ने कुरा पहिचान गरिसकेपछि स्वस्थ र निरोगी हुन के गर्ने र के नगर्ने भन्ने कुराको हेक्का राखेर तदनुसारको आनीबानी र दिनचर्या बनाउँदा उपयुक्त हुनेछ । पूर्वीय दर्शनले सिफारिस गरेका कतिपय कुराहरू आज पाश्चात्य मुलुकहरूले अनुशरण गरेर आफूलाई स्वस्थ र निरोगी बनाउने अभियानका लागिसकेको देखिन्छ भने हामी हाम्रा अग्रजहरूको बाटोमा हिँड्दा के साँच्ची अन्यथा होला र ! यो कुनै विज्ञको विचारको हिसाबले भन्दा पनि एउटा मित्रको शुभभाव भनेर बहस, चिन्तनमनन अनि ग्रहण गर्न पनि सकिने छ । बाँकी जो हजुरको मर्जी !









प्रतिक्रिया दिनुहोस्