कोहलपुर ३ बाट लालपुर्जा बाँड्न सुरु, मन्त्री श्रेष्ठले गरिन् सुरुवात (फोटोफिचर)



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर– ३ मा रहेका १८६ घरधुृरीलाई लालपुर्जा दिन सुरु गरिएको छ । एक कार्यक्रमकाबीच आइतबारबाट भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा वितरण गर्न सुरु गरेकी हुन् ।

उनले आइतबार १६ घरधुरीलाई लालपुर्जा वितरण गरेकी थिइन् । सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले सरकारले गाउँ ब्लकमा रहेका करिब २० हजार भूमिहीनलाई जग्गा धनी पूर्जा (लालपूर्जा) वितरण गरेको बताइन् । उनले आफूले मन्त्रालय सम्हालेपछि सो संख्यामा रहेका भूमिहीनलाई लालपूर्जा वितरण गरेको जानकारी दिइन् ।

गाउँ ब्लकमा लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफूले काम आगाडि बढाएको उनको भनाइ छ । चार महिनाको अवधिमा १९ हजार ६ सयभन्दा बढी भूमिहीनलाई लालपूर्जा वितरण गरिसकिएको उनले बताइन् । अबको एक वर्षभित्रमा सबै गाउँ ब्लकको समस्या समाधान गरिसक्ने गरी कामलाई तिब्र पारिएको उनको भनाइ छ ।

संविधानमा भएको नागरिकको हक कार्यान्वयलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै उनले जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन् ।

मन्त्री श्रेष्ठले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम सुरु गरिसकेको भन्दै उनले बारम्बार उठिरहने भूमि सम्बन्धी समस्यालाई दीगो रुपमा नै समाधान गर्न आफू लागि परेको बताइन् ।

सो अवसरमा प्रतिनिधि सभा सदस्य पूर्णा कुमारी सुवेदी, प्रदेश सांसद पार्वती पुन, कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावत, उपप्रमुख सन्जुकुमारी थारु, वडाध्यक्ष माधव रिजाल लगायतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १३ गते आइतबार