अवैध काठसहित तीन पक्राउ



कोहलपुर ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले अवैध काठको गोलियासहित तीन जनालाई पक्राउ गरेको छ । सिसौ जातको अवैध काठसहित शुक्रवार विहान गस्तीमा गएको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हेम बहादुर शाहीले जानकारी दिए ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नम्बर, ६ बस्ने बम बहादुर रोक्का मगर, सोही ठाउँका देविलाल रोक्का मगर र हरि रोक्का मगर रहेका छन् । गुलरिया नगरपालिका वडा नम्बर, ६ बाट साईकलमा काठ लोड गरेर ल्याइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

बरामद भएको सिसौको काठ ७ फिट ८ ईन्च लम्बाई र ३ फिट ३ ईन्च मोटाई रहेको प्रहरीले जनाएको छ । ५ क्यूको गोलियाको अन्दाजी मुल्य १५ हजार ५०० रहेको बताइएको छ । काठ र साईकलसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय गुलरिया बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २६ गते शनिबार