पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन



पर्वत : पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर बायो कम्पोष्ट मल उद्योग सञ्चालनमा ल्याएका छन् । उद्योगले गत बिहीबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ । खोलाखेत गाउँका नौ जना स्थानीयले सामूहिक रूपमा रु १५ लाख लगानी गरेर स्थापना गरेको उद्योगबाट कम्पोष्ट मल तयार गर्न सुरु भएको हो ।

गाउँदेखि माथि रहेको जङ्गल छेउमा कम्पोष्ट मलका लागि आवश्यकपर्ने पूर्वाधार निर्माण गरी उद्योग सञ्चालनमा ल्याइएको बायो कम्पोष्ट मल उत्पादन समितिका अध्यक्ष ढकबहादुर जिसीले जानकारी दिए । उनका अनुसार उत्पादित मलको सराङकोट दाजुभाइ एग्रो फर्म प्रालिमार्फत प्याकेजिङ र बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।

जैविक बायो कम्पोष्ट मलमा पर्याप्तमात्रामा नाइट्रोजन, फस्फोरस, कार्बोन, पोटासियम र बिरुवाको वृद्धिका लागि आवश्यक सबै पोषक तत्व पाइने समितिका अध्यक्ष जिसीले बताए । उत्पादन सुरु भएसँगै मुस्ताङबाट करिब ३० टन मलको माग आएको उनले बताए । मलको प्रतिकेजी रु ४० मूल्य निर्धारण गरिएको छ । स्याउ र सुन्तलाखेतीका लागि कम्पोष्ट मल धेरै उपयोगी हुने उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार