काभ्रेपलाञ्चोक : स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कलोपत्रे गर्न २३ दिनदेखि पटकपटक विभिन्न मितिमा आवागमन बन्द तथा एकतर्फी सञ्चालन गर्दै आइएको थियो ।

उक्त सडकखण्डमा गत चैत २२ गतेदेखि मात्रै कालोपत्रे (पीच)को काम सुरु गरिएको थियो । त्यस दिनदेखि रातको समयमा पूर्णरूपमा बन्द गराई दिउँसो एकतर्फी सञ्चालन गरी हाल धुलिखेल चोकबाट २।५ किलोमिटर सडक एकतर्फी पक्की बनाइएको हो ।
आजदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार स्तरोन्नती भइरहेको चार किमीमध्ये बाँकी दुरी (दुवैतर्फीसम्मको) पक्की गर्नेकार्य यो साताको अन्तिमबाट सुरु गरिनेछ ।
उनका अनुसार पहिलोपटक गत चैत ७ गतेदेखि २० गतेसम्म र दोस्रोपटक २१ गतेदेखि ३० गतेसम्म रातको समयमा आवागमन रोकेर काम गरिएको थियो । सो अवधिमा टिपरलगायत मालवहाक सवारीलाई भने पूर्णतः निधेष गरिएको थियो । उक्त खडकखण्डको बाँकी १।५ कमी दोस्रो चरणमा पक्की बनाइन लागिएको हो ।
ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल कालोपत्रे गर्ने काम भएको जनाइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौताकार्य गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएको हो ।









प्रतिक्रिया दिनुहोस्