डुम्रे (तनहुँ)।
यहाँ व्यावसायिक रूपमा पालन गरिएका पशुमा थुनेलो देखिएपछि निःशुल्क उपचार तथा सामग्री वितरण गरिएको छ । भानु नगरपालिका, पशुपन्छी तथा मत्स्य विकास शाखाद्वारा आज यहाँ आयोजित थुनेलो परीक्षण कार्यक्रममा पशुपालक किसानलाई औषधिसहित उपचार सामग्री निःशुल्क वितरण गरिएको हो ।
भानु नगरपालिका–११ रूपाकोटस्थित मिलिजुली दुग्ध उत्पादक कृषक समूहको सहकार्यमा सञ्चालित कार्यक्रममा संस्थामा आबद्ध किसानका गाईभैँसीको थुनेलो परीक्षण गरी सङ्क्रमण देखिएका पशुलाई आवश्यक उपचार सामग्री तथा मिनिरल–भिटामिन वितरण गरिएको समूहका अध्यक्ष उमेश अधिकारीले जानकारी दिए ।
उनका अनुसार शिविरमा १४ कृषकका १६ वटा गाईभैँसीको दूधको नमूना सङ्कलन गरी परीक्षणसमेत गरिएको थियो । ११ गाई र पाँच भैँसीको नमूना परीक्षण गर्दा ११ कृषकका सात गाई र तीन भैँसीमा थुनेलो सङ्क्रमण देखिएको अधिकारीले जानकारी दिए । सङ्क्रमण देखिएका पशुलाई औषधिसहित उपचार सामग्री वितरण गर्नुका साथै किसानलाई थुनेलो रोगका लक्षण, असर तथा रोग लाग्न नदिन अपनाउनुपर्ने सावधानीका उपायबारे पनि प्रशिक्षण दिइएको वडा नं ११ का अध्यक्ष विमलराज जोशीले जानकारी दिए।
प्राविधिक अमित ढुङ्गाना, अनिता विक, ललिता बुढाथोकी र देवराज भण्डारीले उपचार सेवा प्रदान गर्नुका साथै प्रशिक्षण दिएका थिए । पछिल्लो समय विशेषगरी गाईभैँसीमा थुनेलो रोगको प्रकोप बढ्दै गएको पाइएको छ । रोगका कारण दूध उत्पादनमा कमी आउनुका साथै पशुको स्वास्थ्यमा गम्भीर असर पर्दा किसानको लगानीसमेत जोखिममा पर्ने गरेको छ । रासस









प्रतिक्रिया दिनुहोस्