आजदेखि लुम्बिनी प्रदेशसभा बैठक



कोहलपुर (बाँके) ।

लुम्बिनी प्रदेशसभाको सातौँ (हिँउदे) अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दैछ । पछिल्लोपटक साताँं अधिवेशनको चौथो बैठक माघ २० गते बसेको थियो । त्यसको झण्डै दुई महिनापछि प्रदेशसभाको पाँचौँ बैठक बस्न लागेको हो । चौथो बैठक बसेको झण्डै दुई महिनापछि सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम (३)अनुसार शुक्रबार पाँचौँ बैठक आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार आइतबार बस्ने बैठकको सम्भावित कार्यसूची समेत तय गरिएको छ । बैठकमा समसामयिक विषयमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा बोल्ने कार्यसूची छ । साथै लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक तथा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश हुने कार्यसूची रहेको सचिव पुनको भनाइ छ ।

सरकारका तर्फबाट थप विधेयक दर्ता भएमा आगामी बैठकमा पेश गरिने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि सातौँ अधिवेशन मंसिर ८ गते सुरु भएको थियो । त्यतिबेला मंसिर ८, माघ १३, १४ र २० गते गरी चार वटा बैठक बसेका थिए । मंसिर ८ मा बसेको पहिलो बैठक शुभकामना आदानप्रदान र प्रदेश प्रमुखको पत्र पढेर सुनाएपछि स्थगित भएको थियो ।

त्यसपछि दोस्रो बैठक बस्न झण्डै साढे दुई महिना लाग्यो । माघ १३ मा बसेको दोस्रो बैठकमा सरकारका तर्फबाट दलित अधिकारसम्बन्धी विधेयक, जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक तथा प्रदेश प्रमुखबाट फिर्ता भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी विधेयक पेश गरिएको थियो ।

माघ १४ मा बसेको तेस्रो बैठक र माघ २० मा बसेको चौथो बैठकले ती तीन विधेयकमाथि सैद्धान्तिक छलफल गरी दफावार छलफलका लागि विषयगत समितिमा पठाएका थिए । ती विधेयकहरू अहिले पनि समितिमै छलफलमा रहेका छन् । त्यसपछि अन्य विधेयक नआएका कारण माघ २० यता प्रदेशसभा बैठक बस्न सकेको थिएन । आज बस्ने बैठकले प्रदेशसभालाई गतिशील बनाउने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २२ गते आइतबार