नेपालगन्ज ।
बाँके प्रहरीले यातायात व्यवस्था कार्यालय बाँकेबाट नौजना बिचौलियालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गरी छोडेको छ । बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार कार्यालय परिसरबाहिर बस्ने, सेवाग्राहीसँग कार्यालयको काम गराइदिने बाहनामा रकम असुली गर्ने लगायतका गतिविधिमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको थियो ।
उनीहरूलाई पहिलोपटकका लागि सम्झाई बुझाई गरी छोडिएको र आगामी दिनमा फेला परेका कडा कानुनी कारबाही गरिने डीएसपी पातलीले बताए । उनले प्रहरीको केन्द्रबाटै सरकारी कार्यालयमा बिचौलियामाथि निगरानीमा कडाई गर्न निर्देशन आए बमोजिम प्रहरीले निरन्तर निगरानी राख्ने उनले बताए ।
सेवा लिनका लागि बिचौलिया र कर्मचारीको मिलोमतोमा अनुचित रकम असुल्ने भनेर यातायात व्यवस्था कार्यालय बदनाम छ । विभिन्न समयमा बिचौलिया र कर्मचारीहरूसमेत माथि भ्रष्टाचारका अभियोगहरू दायर भएका छन् भने अदालतबाट सजाय पनि भएको छ ।
तरपनि बिचौलियाको प्रभाव घट्न नसकेको प्रहरीले एकैदिन नौ जनालाई पक्राउ गरेको घटनाबाट पनि पुष्टि भएको छ । प्रहरीले देशका अन्य जिल्लामा रहेका कार्यालयबाट पनि बिचौलियाको काम गर्नेहरूलाई नियन्त्रणमा लिइरहेको छ ।
मालपोतमा परिचयपत्र अनिवार्य
भूमिसुधार तथा मालपोत कार्यालय बाँकेले कार्यालयमा प्रवेश गर्दा परिचय खुल्ने कागजात अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरेको छ । कार्यालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी, गुणस्तरीय र सुव्यवस्थित बनाउन र बिचौलियाको प्रवेश नियन्त्रण गर्न यो व्यवस्था लागू गरिएको कार्यालय प्रमुख सविनसिंह चौधरीले जारी गरेको सूचनामा उल्लेख छ ।
सेवा लिन आउने कानुन व्यवसायी र लेखापढी व्यवसायीले अनिवार्य रूपमा परिचयपत्र धारण गर्नुपर्ने सूचनामा भनिएको छ । अन्य व्यक्तिहरूले पनि कार्यालय प्रवेशद्वारमा परिचय खुल्ने कागजात देखाउनुपर्ने र काम खुल्ने निवेदन वा कागजात देखाएर मात्र प्रवेश गर्न सकिने भनिएको छ ।
सेवा प्रवाहको सिलसिलामा आधिकारिक व्यक्तिबाहेक अन्यले विभिन्न शाखा, फाँटमा प्रवेश गरी कामकाजमा बाधा नपु¥याउन अनुरोध गरिएको छ । जग्गा दर्ता, रजिष्ट्रेसन, नामसारी, राजस्व तिर्ने जस्ता कामका लागि आउने सेवाग्राहीले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र जस्ता परिचय खुल्ने कागजात अनिवार्य साथमा लिएर आउन अनुरोध गरिएको छ । बाँके जिल्लाको मालपोत कार्यालयमा पनि बिचौलियाको हालीमुहालीबारे बारम्बार गुनासो आउने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्