काठमाडौँ ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण पेट्रोलियम पद्धार्थको भाउ ह्वात्तै आकाशिएको छ । १ महिनाअघि प्रतिलिटर १६० रूपैयाँमा पाइने पेट्रोलको मूल्य अहिले १८७ रूपैयाँ पुगिसकेको छ । अझ भारतबाट आएको मूल्यअनुसार बढाउने हो भने पेट्रोलको मूल्य प्रतिलिटर २३४ रूपैयाँ पुग्ने नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोलको मूल्य बढिरहँदा ग्राहक तान्न नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले भने गज्जबको अफर ल्याएको छ । कम्पनीले ल्याएको ‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा’ अफरअन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले ५ वर्षसम्म पेट्रोल निःशुल्क पाउने भएका हुन् ।
यद्यपि, यो सुविधा सबै ग्राहकले भने पाउने छैनन् । कम्पनीका अनुसार यस अफरअन्तर्गत टीभीएसको मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्येबाट हरेक दिन लक्की ड्रमार्फत दुई जनाले १ देखि ५ वर्षसम्म पेट्रोल निःशुल्क पाउने भएका हुन् । ग्राहकले दैनिक २५ किलोमिटर गुडाउने गरी प्रतिलिटर ४० किलोमिटर माइलेजका दरले हिसाब गरी पेट्रोल उपलब्ध गराइने कम्पनीले जनाएको छ । यस आधारमा ग्राहकले मासिक १८ लिटर हाराहारी पेट्रोल पाउने देखिन्छ ।
त्यस्तै, यही अफरमा ग्राहकले दैनिक अधिकतम ५ लाख रूपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ । मोटरसाइकल वा स्कुटर खरिदलाई अझ सहज बनाउन सरल फाइनान्स स्कीम पनि ल्याएको छ । ग्राहकले मासिक न्यूनतम २ हजार ९६७ रूपैयाँमै किस्ताबन्दी सुविधा पनि पाउने छन् ।
ग्राहकले आफूसँग भएको कुनै पनि ब्राण्डको पुरानो दुईपाँग्रे सवारीसाधन टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सक्नेछन् । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकको यात्रा अझ अर्थपूर्ण र रमाइलो बनाउने उद्देश्यले नयाँ वर्ष योजना ल्याइएको बताए ।
‘नयाँ वर्ष नयाँ सुरुवातको समय हो ।
र टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रामार्फत हामी हाम्रा ग्राहकहरूको यात्रा अझ अर्थपूर्ण र रमाइलो बनाउने लक्ष्य राखेका छौँ । यो विशेष प्रस्ताव केवल लाभ मात्र नभई दीर्घकालीन सन्तुष्टि र सहजता प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो,’ उनले भने । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले आफूहरू ग्राहक केन्द्रित हुँदै नवीन विशेष योजना ल्याइएको बताए ।
‘हामी सधैँ ग्राहककेन्द्रित र नवीन विशेष प्रस्तावहरू ल्याउन प्रतिबद्ध छौँ । यो नयाँ वर्ष विशेष प्रस्ताव त्यसैको निरन्तरता हो । जसले किफायतीपन, उत्साह र वास्तविक फाइदाहरूलाई एकसाथ ल्याएर टीभीएस स्वामित्व अनुभवलाई अझ उत्कृष्ट बनाउँछ,’ उनले भने, ‘साथै, यो अफर नगद, एक्सचेन्ज तथा फाइनान्स तीनै माध्यममा उपलब्ध रहेको छ ।’
साथै, ग्राहकले कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल र स्कुटरमा उत्कृष्ट मूल्यांकन पाउने उनको भनाइ छ । टीभीएसले यस अफरमार्फत आफ्ना ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विश्वसनीयता, प्रदर्शन र मूल्यमा आधारित अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहो¥याएको छ।









प्रतिक्रिया दिनुहोस्