शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सुशीला कार्की नेतृत्वको सरकारले औपचारिक रूपमा प्रतिवेदन सार्वजनिक नगरे पनि बुधबार मिडियामार्फत प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएको हो ।
यही फागुन २४ गते आयोगले सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
त्यसयता कार्की सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न चौतर्फी दबाब थियो । तर विभिन्न सञ्चारमाध्यममार्फत प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएको हो । प्रतिवेदन ९०७ पृष्ठ लामो छ । प्रतिवेदनमा आन्दोलनका क्रममा देशभर भएको क्षतिको विस्तृत वितरण प्रस्तुत गरिएको छ । उक्त प्रतिवेदनमा लुम्बिनी प्रदेशका १२ मध्ये तीन जिल्लामा भएको क्षतिबारे विस्तृत जानकारी गराइएको छ ।
सार्वजनिक प्रतिवेदनमा लुम्बिनी प्रदेशका सबैभन्दा धेरै क्षति भएका रुपन्देही, वर्दघाट (सुस्ता पूर्व) र बाँके जिल्लामा भएको क्षतिबारे उल्लेख गरिएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार रुपन्देहीमा आन्दोलन बिहान ११ः४० बाट सिद्धार्थनगर ३ स्थित आँखा अस्पतालबाट विद्यार्थी विवेक भण्डारीको नेतृत्वमा शान्तिपूर्ण रूपमा प्रदर्शन सुरु भएको थियो ।
सुरुमा ४०–५० जना मात्रै रहेको उक्त समूहमा जोडिन दिउँसो १ः५० मा बुटवलबाट २०००–२५०० सय जनाको भिड मिसियो । सुरुमा उक्त टोलीले २ः४५ बजेतिर नेपाली काँग्रेसको कार्यालयमा ढुंगामुढा ग¥यो । त्यतिबेला २ वटा सिसा फुट्नुका साथै ४ वटा गाडी, २ वटा स्कुटी र १ वटा मोटरसाइकलमा क्षति पुगेको छ । यसैगरी ५ः३५ मा सैनामैना नगरपालिकाको बुद्धचोकमा कोणसभा गरी टायर बाल्नुका साथै ७ः४५ मा सुद्धोधन नगरपालिका वडा नम्बर ४ मा बुद्धनगरमा ५ सय जना जम्मा भई ८ः४५ मा प्रदर्शन समाप्त भएको उल्लेख गरिएको छ ।
त्यसअघि ८ः३० बजे कफर््यु लागेको समयमा तिलोतमा–५ मणिग्राम चोकमा सामाजिक सञ्जालको माध्यमबाट ३ सय जना भेला भएर सरकारविरुद्ध नाराबाजी र व्यक्तिका घरमा तोडफोड गरिएको र आन्दोलन बढ्दै गएपछि कफर््यु आदेश जारी गरिएको थियो । २४ गते बिहान ११ः०० बजे नै बुटवल उपमहानगरपालिकाको चौराहा चोकमा जेनजी समूहको आयोजना र गौरव आचार्यको नेतृत्वमा सामाजिक सञ्जाल बन्द र २३ गते सरकारद्धारा मारिएका व्यक्तिहरूको विषयलाई लिएर प्रदर्शन सुरु भएको थियो ।
उक्त समूहमा दिउँसो २ः३० बजे नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी, ३ः०० बजे जीवराज आश्रित भवनमा तोडफोड गर्नुका साथै त्यसपछि लुम्बिनी प्रदेशसभा सदस्य भोजराज श्रेष्ठको घरमा आगजनी गरी विपी स्मारिका, टुलिफ होटलमा आगजनी र तोडफोड गर्नुका साथै आन्तरिक राजस्व कार्यालयमा लुटपाट भएको उल्लेख छ । दिउँसो ४ः३० बजेसम्म आइपुग्दा आन्दोलनकारीको सङ्ख्या ७–८ हजार पुगेको र उक्त समूहले प्रहरी बिट, बसपार्क र राष्ट्रिय अनुसन्धान कार्यालयमा तोडफोड गरिएको थियो ।
त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इलाका प्रशासन कार्यालय, मुख्यमन्त्री निवास, डिभिजन वन कार्यालय, प्रदेश प्रमुखको कार्यालय र निवासका र बुटवल उपमहानगरपालिकाको कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ । त्यसैगरी भाटभटेनी, नेपाली काँग्रेस पार्टी कार्यालय, प्रदेशसभा सदस्य लिला गिरीको घरमा तोडफोड गर्ने क्रममा इलाका प्रहरी कार्यालय मंगलपुर र बुटवलमा रहेको २२ थान लाठी, २२ हेलमेट, एसएलआर ९ वटा, अश्रुग्यास सेल १९ थान र ३ वटा हतकडी हराएको उल्लेख छ ।
यसैगरी सैनामैनाका नगरप्रमुखको घर, शुद्धोधन गाउँपालिकामा तोडफोड गरिएको, देवदह नगरपालिकाको उपमेयरको घर, सोही दिन अन्तर्राष्ट्रिय विमानस्थलमा विरोध प्रदर्शन गरिएको, जिल्ला प्रशासन कार्यालयमा आगजनी गरिएको, ट्राफिक कार्यालय, सरकार वकिल कार्यालय, मौर्य होटल, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाल, युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डेयको घरमा तोडफोड गरिएको, पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड गरिएको थियो ।
यसैगरी बाँके जिल्लामा बिहान ९ः४५ बजेदेखि वीपी चोकबाट आन्दोलन सुरु भएको थियो । ५ सय जना जतिको टोलीले विरोध प्रदर्शन, नगर परिक्रममा गरेर नेपालगन्ज उपमहानगर कार्यालय अगाडि धर्ना दिएको थियो । सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो ।
सो क्रममा खजुरा ३ का विनय नेपाली, दैलेख घर भई नेपालगन्जमा बस्ने जयप्रकाश थापा सामान्य घाइते भएका थिए ।
यसैगरी बाँकेको कोहलपुर चौराहामा बिहान १०ः४५ बजेदेखि आन्दोलन सुरु भएको प्रतिवेदनमा उल्लेख छ । बाँकेमा २३ गते आन्दोलन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि २४ गते भने जिल्लाभर धेरै क्षति भएको उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएअनुसार बाँकेमा सबैभन्दा पहिला पार्टी कार्यालयहरू जलाइएका थिए ।
नेकपा एमालेको पार्टी कार्यालय तोडफोडकाट सुरु भएको थियो, लगत्तै नेपाली काँग्रेसको पार्टी कार्यालयमा तोडफोड भयो । त्यसपछि अन्य कार्यालयहरूमा आगजनी र तोडफोडको श्रृंखला सुरु भएको उल्लेख छ । दर्जनौँ सरकारी कार्यालसहित सवारीसाधन, फर्निचरहरू कागजातका साथै सरकारी सम्पत्तिहरूमा व्यापक तोडफोड हुनुका साथै आगजनी र लुटपाट भएको जनाइएको छ ।
यसैगरी नेपालगन्जमा रहेका विभिन्न शालिकहरूमा तोडफोड गर्नुका साथै निजी सम्पत्तिसमेत आन्दोलनकारीको निसानामा परेको तर प्रमुख जिल्ला अधिकारीको जानकारीमा नरहेको कुरा उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘निजी सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटको घटना हेर्दा कोहलपुरका नगरप्रमुख, उपप्रमुख र केही वडाअध्यक्षहरूको घरमा क्षतिमा पुगेको तर निजी सम्पत्तिको नोक्सानी भएको भनी प्रमुख जिल्ला अधिकारीलाई जानकारी भएको अवस्था नरहेको ।’
यस्तै २४ गते बिहानैदेखि बाँकेका नेपालगन्जसहितका क्षेत्रबाट जिल्ला सुरक्षा समितिलाई चोरीका घटना हुन थाले भन्दै सूचनाहरू आउन थालेको बताइएको छ । बाँकेमा २३ गतेको आन्दोलनमा काठमाडौँमा बाँके निवासी दुई जना युवाको निधन भएका कारण निकै आक्रोशित युवाहरूले ठूलो क्षति पु¥याएको उल्लेख छ । यसैगरी २४ गतेको तोडफोड र आगजनीमा आपराधिक प्रवृत्ति र पृष्ठभूमि भएका व्यक्तिहरूको संलग्नता बढी रहेको देखिएको छ ।
यस्तै लुम्बिनी प्रदेश अन्तर्गको बर्दघाट सुस्ता पश्चिममा जिल्ला प्रशासन कार्यालयमा २३ र २४ को आन्दोलनको विषयमा कुनै पनि व्यक्ति वा समूहले अनुमति लिएको थिएन भनिएको छ । त्यहाँ १५ देखि ४० वर्ष उमेरसमूहका मानिसहरू आन्दोलनमा सहभागी रहेको देखिएको छ । प्रहरी चौकी तोडफोड गर्ने ७ जनाविरुद्ध मुद्धा चलाएर अनुसन्धान भइरहेको जनाइएको छ ।
यसैगरी आयोगको टोलीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा स्थलगत रूपमा अनुगमन गरेको थियो । आयोगले रुपन्देहीका माओवादी नेता नारायण महत, नेकपाका पुष्प ढकाल, जीवराज आश्रित प्रतिष्ठान, नेकपा एमालेका पूर्वसांसद बासुदेव पाण्डे, परशुराम गिरी, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याल, देवदह नगरपालिकाका नगरप्रमुख धुव्र खरेल, नेकपा एमालेका नेता हितराज पन्थी, लिला गिरी, राजु गुरुङ, सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमदसहितका व्यक्तिसँग भेट गरेको थियो ।
यस्तै बाँके जिल्लाअन्तर्गत नेपालगन्जका प्रमुख प्रशासकीय अधिकृत, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय, मालमोत, उच्च अदालत, नापी कार्यालय, कृषि ज्ञान केन्द्र, जिल्ला हुलाक कार्यालय, राजस्व कार्यालय कोहलपुर, बालसुधार गृह नौवस्ता, कारागार, जयन्तु बालसुधार गृह लगायतका सरकारी कार्यालयका प्रमुख र प्रतिनिधिसँग भेटवार्ता भएको उल्लेख छ । यसैगरी व्यवसायी कृष्ण श्रेष्ठ, कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्य, इन्सेक संयोजक, पत्रकार महासंघका बाँके शाखा अध्यक्षसहित राजनीतिक दलका प्रतिनिधि र जिल्ला समन्वय समिति बाँकेका प्रमुखलाई भेटेको उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्