असिनापानीले अन्नबाली नष्ट, करोडौँ बराबरको क्षति



दैलेख ।

जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा शुक्रबार साँझ परेको भीषण असिनापानीले करोडौँ रूपैयाँँ बराबरको अन्नबालीमा क्षति पु¥याएको छ । करिब तीन घण्टासम्म लगातार परेको असिनाले पाक्नै लागेको गहुँ, जौ, केराउ, तोरी लगायतका बाली पूर्ण रूपमा नष्ट भएको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ चाम्रेकोटका स्थानीय तिलक तिमील्सेनाले बताए ।

उनका अनुसार असिना झण्डै एक फिटसम्म जमेको थियो । असिनाका कारण खेतबारीमा लगाइएको बाली पूरै थिचिएर नष्ट भएको हो । साथै सुन्तला, कागती लगायतका फलफूलका बोटबिरुवामा समेत ठूलो क्षति पुगेको छ । स्थानीय कृषकहरूले वर्षभरको मेहनत एकैछिनमा सकिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नगरपालिकाका वडा नम्बर १, २ र ३ मा व्यापक क्षति पुगे पनि वडा नम्बर ३ सबैभन्दा बढी प्रभावित भएको स्थानीय कृषक तिलक तिमिल्सेनाले बताए । ‘भित्र्याउने तयारीमा रहेका बाली नष्ट हुँदा खाद्यान्न संकटको जोखिम बढेको छ,’ उनले भने, ‘भित्र्याउने बेला भएको बाली सबै सखाप भयो । अब के खाने भन्ने चिन्ता छ ।’

यस्तै, अर्का कृषक मदन सापकोटाका अनुसार यस वर्ष उत्पादन राम्रो हुने अपेक्षा गरिएको थियो । तर असिनाले एकैचोटि सबै आशा समाप्त पारेको उनले बताए । ‘बारीमा लगाइएको अन्न मात्र होइन, फलफूल तथा तरकारी बाली पनि नष्ट हुँदा समग्र कृषि क्षेत्रमा ठूलो आर्थिक क्षति पुगेको आकलन गरिएको छ,’ उनले भने, ‘करोडौँ रूपैयाँँ बराबरको क्षति भएको अनुमान छ ।

तर, अहिलेसम्म कुनै पनि सरकारी निकायबाट औपचारिक क्षतिको मूल्यांकन हुन सकेको छैन ।’ असिनापछि किसानहरू राहत र क्षतिपूर्तिको अपेक्षामा रहेका छन् । यता चाम्रेकोटका स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल स्थलगत अध्ययन, क्षतिको मूल्यांकन र राहत वितरणको माग गरेका छन् ।

समयमै सहयोग नपुगे आगामी दिनमा खाद्यान्न अभावसँगै आर्थिक संकट झन् गहिरिने उनीहरूको चिन्ता छ । यस घटनाले प्राकृतिक विपत्तिले ग्रामीण कृषि प्रणाली कति असुरक्षित छ भन्ने पुनः उजागर गरेको छ । यता जिल्ला कृषि विकास कार्यालय दैलेखले क्षतिबारे सूचना पाएको जनाउँदै वास्तविक क्षतिको मूल्यांकन गरी पीडित किसानलाई राहतका लागि पहल गर्ने जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार