काठमाडौँ ।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले निर्वाचनका समयमा जनतामाझ गरिएका वाचाहरू पूरा गर्ने संकल्पका साथ आफ्नो कार्यभार सम्हालेका छन्। शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको वाचापत्रलाई नै मुख्य मार्गचित्र बनाएर काम गर्ने स्पष्ट पारेका हुन्।
युवा तथा खेलकुद मन्त्रालयको समेत जिम्मेवारी पाएका पोखरेलले पार्टीको वाचापत्रमा उल्लेखित सय वटा प्रतिबद्धताहरू कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा केन्द्रित हुने विश्वास दिलाए। जनताले निर्वाचनमार्फत दिएको मतले आफूहरूलाई अत्यन्तै जिम्मेवार बनाएको उल्लेख गर्दै मन्त्री पोखरेलले मतदाताको विश्वास टुट्न नदिने प्रतिबद्धता जनाए।
उनले शिक्षा क्षेत्रमा केवल योजना मात्र नभई देखिने गरी नतिजा, उपलब्धि र पूर्वाधार विकासमा जोड दिने रणनीति अघि सारेका छन्। अबको पाँच वर्षको मुख्य उद्देश्य नै हरेक मन्त्रालयमार्फत पार्टीका वाचाहरूलाई मूर्त रूप दिनु रहेको र त्यसका लागि सबै मन्त्रालयहरूसँग समन्वय गरेर अघि बढ्ने उनको योजना छ।शिक्षाका साथै खेलकुद क्षेत्रको विकासका लागि पनि भौतिक पूर्वाधारको निर्माण र सुदृढीकरणलाई प्राथमिकतामा राखिने उनले बताए।
प्रशासनिक झमेला भन्दा पनि नतिजामुखी काम गरेर शिक्षा र खेलकुद दुवै क्षेत्रमा आमूल परिवर्तन ल्याउने दाबी गर्दै उनले आफ्नो कार्यकालमा जनताले महसुस गर्ने गरी सुधारका कामहरू हुने दाबी गरे।राज्यका संयन्त्रहरूलाई चुस्त बनाउँदै वाचापत्रका बुँदाहरूलाई कार्ययोजनामा ढालेर अघि बढ्ने दृढता उनले व्यक्त गरे।









प्रतिक्रिया दिनुहोस्