पूर्वतिर बरालिँदै गर्दाका दृश्यानुभूतिहरू



धनकुटाको सिन्धुवाबाट तेर्सो किसिमको सडकबाटो हुँदै बेलुका छ बजेतिर पुगियो शुक्रबारे बजारमा, जुन तेह्रथुमको छथर गाउँपालिकाको सदरमुकाम पनि हो । यसपटकको यात्राको गन्तव्य पनि यही स्थान थियो । शुक्रबारेमा पुगेपछि छथरका शिक्षा शाखा प्रमुख ओमप्रकाश राईसँग भेटघाट र परिचय भयो । बसाइँको व्यवस्था शुक्रबारे मःम सेन्टर एण्ड होटलमा गरियो । ब्यागेज होटेलको कोठामा राखेपछि अलिकति उकालो चढेर गाउँपालिका कार्यालयको परिसर पुगियो ।

जीतबहादुर शाह

आफ्नो सहरको नेपालगन्ज विमानस्थलमा अन्य काम विशेषले वा कतैको उडान भर्नका लागि प्रवेश गर्दैगर्दा कोही न कोही चिनेका मानिसहरू भेटिनु सामान्यजस्तै हुन्छ । म पश्चिम नेपालको मानिस भएर होला, पूर्वी नेपालको प्रमुख सहर विराटनगर विमानस्थलमा अवतरित हुँदा भने कोही मानिस पनि परिचित देखिनँ । लाग्यो यो सहर नै मेरो लागि अपरिचित सहर हो, त्यसैले परिचित मानिसहरू नभेटिनु पनि सामान्य ठान्नु पर्छ । त्यस्तै अनुभूत गर्दै एयरपोर्टबाट बाहिरिएँ । एयरपोर्टको गेटबाट बाहिरिनेबित्तिकै मेरै प्रतीक्षामा एकजना परिचित साथी पर्खेर बसेका रहेछन्– छथर गाउँपालिका तेह्रथुमका शिक्षा अधिकृत धनबहादुर थापा । त्यसपछि त केही पहिले अपरिचित लागेको विराटनगर पनि परिचितजस्तै महसुस भयो । चाँदनी शाहको गीत सम्झेँ – एउटा मानिसको मायाले कत्ति फरक पर्दछ जिन्दगीमा । एउटा परिचित मानिसको कारणले गर्दा नामले नै विराट भनिएको विराटनगर पनि परिचित ठहरियो र यात्राका पाइलाहरू पनि परिचितझैँ गरी सहजरूपमै अघि बढ्न उत्साहित देखिए । छोटो भलाकुसारी पछि हाम्रो यात्रा सुरु भयो । इटहरी बजार र तरहराको जङ्गल पार गरेर धरान पुग्यौँ । हर्क साम्पाङले पानीको व्यवस्था गरेर रसिलो बनाएको धरानमा हामीले बजारमा भएकामध्ये सबैभन्दा राम्रो एक किलो सुन्तला किनेर खायौँ र त्यसैले मुख रसिलो बनाउँदै धरानबाट भेडेटारका लागि ठाडो उकालो चढ्न थाल्यौँ । कतै कतै घुम्तीहरूमा हामी चढेको बाइकले घ्यारघ्यार गर्दै असजिलोपन व्यक्त गर्दा पनि त्यसको कुनै सुनुवाइ नगरी अधिनायकवादी शैलीमा मित्र धनबहादुरले बाइकको कान निमोठ्ने काम जारी राखेका थिए ।विराटनगरबाट यात्रा सुरु गरेको डेढ घण्टापछि हामी भेडेटार पुग्यौँ । कुनैबेला भेडाका बथान भेटिने कारणले नामै भेडेटार रहेको उक्त पर्यटकीय स्थानमा अहिले भेडा भने कतै भेटिएनन् । भेडेटारकै लालीबसाहा रिसोर्टको छतमा राखिएको सिङ घुमेको साँढे भेडाको प्रतिमा हेरेर भेडेटार हो भनेर पत्यायौँ । भेडेटार आफैँमा पनि सफा र सुकिलो छ ।

यसका साथै त्यहाँबाट देखिने दक्षिणतिरका धरान क्षेत्र र उत्तरतिरको धनकुटा र तेह्रथुमतर्फको क्षेत्रको सफा र सुकिलो दृश्यले मन तानिरहेको थियो । मन परेका सबै कुरा काखीमा च्यापेर राख्न सम्भव नभएझैँ हामीले त्यस्ता सफा र सुकिला दृश्यहरूलाई क्यामराको क्यानभासभित्र समेटेर बढ्यौँ अगाडि । भेडेटारबाट आठ किलोमिटर ओरालो झरेपछि बाइक र झोलालाई बाटोमै भगवान भरोसामा छोडेर हामी दुई नमस्ते झरनातिर सोझियौँ । नमस्ते झरना हेर्न आजभन्दा बाह्र वर्षअघि यो मान्छेजस्तो देखिने प्राणी सपरिवार आएको थियो । त्यत्तिबेला बाटो राम्रो थिएन । भिरमा कान्लातिरका रुख र बुट्टाहरू समात्दै गोरेटो हुँदै अघि बढेका थियौँ । त्यत्तिबेला छोरी प्रविधि सानै (९ वर्षकी) थिइन् । झरनाको छेउमै पुग्न लाग्दा पहराको बाटो चिप्लो भएकोले छोरी अघि बढ्न सकिनन् र त्यही रोकिइन् । हामी (पद्मा, विज्ञान र म) भने उनलाई त्यही पर्खिन भनेर झरनासम्म पुग्यौँ । हामीले झरना हेरेर त्यसको भिडिओ क्लिप ल्यायौँ र छोरीलाई त्यही भिडिओ क्लिप देखाएर नमस्ते झरना हेर्न नपाएको नियास्रो मेटाउन सहयोग गरेका थियौँ । बाह्र वर्षपछि खोला फर्कन्छ भनेझैँ अहिले त झरनासम्मै पुग्नका लागि गाउँपालिकाले आवश्यकताअनुसार ठाउँठाउँमा फलाम र काठका पुल र भरेङहरू बनाएर सहज भएको रहेछ । गाउँपालिकाको नाउँ साँगुरीगढी भए पनि मन भने यो मामलामा फराकिलो बनाएको रहेछ । फराकिलो मन भएकै कारणले गाउँपालिकालाई नमस्ते झरना हेर्न आउने पर्यटकहरूबाट मात्रै बर्सेनि चालिस लाख आम्दानी हुँदो रहेछ । मैले नमस्ते झरनाको व्यवस्थापनका लागि गाउँपालिकाले गरेको योगदान र प्राप्त आयस्रोत हेर्दै गर्दा बर्दियामा रहेको बढैयातालको माछापालनको अवस्थालाई सम्झिएँ । म एकदशक पहिले बर्दियामा काम गर्दा बेलाबेलामा बढैयातालमा जाँदा त्यहाँ दश बिघा क्षेत्रफलमा फैलिएको ठूलो पोखरी थियो, जहाँको माछापालनबाट जिल्ला विकास समितिलाई करोडौँको आम्दानी हुने गर्दथ्यो ।

हिजोआज गएर हेर्दा भने उक्त ताल अर्थात् पोखरी सिमसारमा परिणत भएको रहेछ । त्यो पोखरीमा हिजोआज माछा पालिएको छैन ।
सिमसारमा विभिन्न स्थानहरूबाट विभिन्न प्रकारका चराहरू आएर विचरण गर्दा रहेछन् । बरु उक्त तालको वरिपरि रहेका व्यक्तिका माछापोखरीहरू भने फष्टाएका देखिन्छन् । के कारणले त्यत्ति धेरै क्षेत्रफलको सार्वजनिक (सरकारी) माछापोखरी सिमसार क्षेत्रमा परिणत भएको होला ? वास्तविक कुरा पत्ता लगाउन बाँकी भए पनि परिणाम भने राम्रो देखिएन । उक्त माछा पोखरीलाई व्यवस्थित गरेर त्यसबाट हुने आम्दानी बढैयाताल गाउँपालिका वा जिल्ला समन्वय समिति, बर्दिया जसको नाममा भएपनि सङ्कलन हुन सकेको भए सरकारलाई सबल बनाउन योगदान पुग्थ्यो । मनको मदानीले यस्तै कुरा मथ्दै नमस्ते झरनाको सुन्दर दृश्यपान गर्दै हामी त्यहाँबाट दश किलोमिटर जति ओरालो र फेदी खोलाको किनारैकिनार तेर्सो बाटोमा सरर बाइक कुदाउँदै तमोर नदी छेउमा रहेको मुलघाट नामको बजारमा पुग्यौँ । मुलघाट पुग्दा दिउँसोको एक बजिसकेको थियो । मुलघाटको बजारमा हाम्रो दाजुभाइ होटलमा गएर बाइक र झोला बिसायौँ । धनबहादुर सरको आउँदाजाँदाका चिनारु रहेछन् साहुजी । दाजुभाइको हिसाबले हर्दिकतापूर्ण व्यवहार गर्दै तमोरको सुकुटी माछाको तरकारीसँगै खाना खाने व्यवस्था गरे । तमोरको छेउमा रहेको मुलघाट बजार यत्तिबेला सिन्कामा उइनिएर राखेको सुकुटी माछा र चोइट्याउँदै र चुस्दै खाने गरी राखिएको उखुका डालाहरूको व्यापारका कारण त्यो क्षेत्रमा नामी रहेछ । पेटभरि टन्नै खाना खाएको बेला पनि धनबहादुर सरको अनुरोधलाई स्वीकार गर्दै उखु चुस्नतिर लागियो । सुरुमा त उखु चोइट्याएर चुस्दा दाँतले दुःख पाउँछन् कि भन्ने डर थियो । खाँदा भने त्यस्तो लागेन । किनभने त्यो उखु हाम्रोतिरको जस्तो कडा रहेनछ । कमलो रहेछ, दाँते ओखरजस्तै । दुई आँख्लाजति उखु मज्जाले खाइयो ।

उखु खाँदा मैले मेरा घरमा भएको मेरो सानो साथी (नाति)लाई सम्झिरहेँ । किनभने उसलाई उखु चुसेर खान खुब मन पर्छ । उसले यसको नाम नै लठ्ठीको जुस भनेर न्वारन गरेको छ । कर्णाली प्रदेशसभा सदस्य भीमप्रकाश शर्माका अनुसार यो उखु हाम्रोतिर पनि पाइन्छ रे जसलाई गुरे उखु भन्ने गरिन्छ । मुलघाटको छेउमा रहेको तमोर नदीमा रहेको पुलबाट फोटो खिच्दै र तमोर नदीलाई नजिकबाट नियाल्दै फेरि भेटौँला भन्ने भावका साथ लाग्यौँ धनकुटाको सदरमुकामतिर । तिरपाया किसिमको उकालो चढ्दै धनकुटाको सदरमुकाम पुग्न करिब एक घण्टा लाग्यो हामीलाई । धनकुटा बजारको निशान भगवती मन्दिरको छेउमा गएर बाइकलाई आराम गरायौंँ । अनि हामी लाग्यौँ एभोकाडोको प्रतिमा भएको पार्कमा गएर एभोकाडोको प्रतिमा हेर्न, जुन पार्कमा लेखिएको थियो– ‘एभोकाडोको राजधानीमा यहाँलाई हार्दिक स्वागत छ ।’ कुरा बुझियो, धनकुटा भनेको एभोकाडो उत्पादनको प्रमुख स्थल नै रहेछ । यत्तिबेला भने एभोकाडोको सिजन नभएर होला, धनकुटाको बजारमा एभोकाडो देख्न पाइएन । उक्त पार्ककै छेउमा रहेको निशान भगवतीको मन्दिरमा गएर दुई हात जोडेर हामी आयौँ है भनेर दर्शन गरियो । मन्दिरकै परिसरमा रहेको साना साना घण्टीहरूबाट बनेको ठूलो घण्टीलाई एकछिन एकाग्रतापूर्वक हेरियो, फोटो खिचियो र मुलुकमा अब घण्टीकै राज हुने भएको छ, राम्रोसँग देखभाल गर्नु है माइभगवती भन्दै हामीले हाम्रो यात्रालाई अघि बढायौँ । अलिकति उकालो सडक पार गरेर धनकुटा बजार छिचोल्दै गर्दा कागती चोक भेटियो जहाँ कागतीको प्रतिमा बनाएर सजाइएको रहेछ । प्रदेश राजधानी विराटनगरमा सरिसकेपछि पनि कतिपय प्रदेशमा हुने कार्यालयहरू धनकुटामै भएको देखियो । अलि माथि हिलेमा पुगेपछि तोम्बा चोकमा अडिएर तोम्बाको फोटोतिर नजर लगाइयो र अनुमान गरियो, यहाँ तोम्बालाई परम्परादेखि सेवन गर्ने जातजातिहरूको बाहुल्यता भएको कारणले तोम्बाको प्रतिमा राखेर तोम्बाचोक बनाइएको होला ।

ठाउँको नाउँ हिले भए पनि हिलो कतै देख्न पाइएन । सफासुग्घर र स्वस्थ अनि व्यवस्थित देखिन्थ्यो हिले बजार । जस्तो नाम त्यस्तै काम त कहाँ हुन्छ र ! नाम मिलन चोक भए पनि काम हेर्दा झगडा गर्ने चोक हो कि झैँ लाग्ने गर्ने विकास भइरहेको हुन्छ । शान्ति टोलमा रातबिरात अशान्ति भइरहेको हुन्छ । सरस्वती नगरमा बस्ने मानिसहरू छोराछोरीको पढाइलेखाइको मतलव नगरेर पैसा कमाउन मात्रै मरिमेटेको देखिन्छ । हिले बजार भने ठिक विपरीत भए पनि सकारात्मक किसिमबाट विपरीत भई विकसित भएको रहेछ । अर्थात् हिलाम्य र प्रदूषित नभएर स्वच्छ र मनोरम रहेछ । तुलना गर्दा पश्चिम नेपालको विकासभन्दा पूर्वी नेपालको विकास व्यवस्थित देखियो । सडक पनि सफा र चिटिक्क परेका । पश्चिमतिर जता पनि खाल्डाखुल्डी देखिने सडक यता आएर यदाकदा मात्रै त्यस्ता खाल्डाखुल्डीहरू देखिए । घरहरू पनि व्यवस्थित र सफासुग्घर । साना भए पनि चिटिक्क परेका । फूल र गमलाहरूले सिंगारिएका । मानौँ यी सबै होमस्टे प्रयोजनका लागि बनाइएका हुन् ।सिन्धुवामा पुगेपछि काउलीको प्रतिमा बनाएर काउली चोक नामाकरण गरिएको रहेछ । अलि माथि लसुनेमा लसुनको प्रतिमा राखिएको रहेछ । जुन ठाउँमा जुन उत्पादन राम्रो छ उक्त उत्पादनको प्राथमिकता, पहिचान र प्रचारप्रसारका लागि यसरी चोकहरू सजाउने प्रचलन औधी मन प¥यो मलाई । यो प्रचलनले कृषक र कृषिप्रणालीलाई सम्मान गर्दै प्राथमिकतामा राखेको जस्तो पनि देखियो । त्यो टोलमा कुनै योगदान नगरेको र टोलका मानिसहरूले चिन्दै नचिनेको मानिसको शालिक राखेर चोक सजाउनुभन्दा उक्त टोलकै मानिसहरूले उत्पादन गर्ने प्रमुख तरकारी र फलफूलका प्रतिमाले चोक सजाउनुमा बेग्लै शोभा देखियो धनकुटाको डाँडाभरि । धनकुटाको सिन्धुवाबाट तेर्सो किसिमको सडकबाटो हुँदै बेलुका छ बजेतिर पुगियो शुक्रबारे बजारमा, जुन तेह्रथुमको छथर गाउँपालिकाको सदरमुकाम पनि हो । यसपटकको यात्राको गन्तव्य पनि यही स्थान थियो । शुक्रबारेमा पुगेपछि छथरका शिक्षा शाखा प्रमुख ओमप्रकाश राईसँग भेटघाट र परिचय भयो । बसाइँको व्यवस्था शुक्रबारे मःम सेण्टर एण्ड होटलमा गरियो ।

ब्यागेज होटेलको कोठामा राखेपछि अलिकति उकालो चढेर गाउँपालिका कार्यालयको परिसर पुगियो । यहाँ नआउँदै वेभसाइटमा हेरेको फोटोमा गाउँपालिका कार्यालयको लामो आकार र त्यहाँबाट देखिने अर्धचन्द्राकारको शुक्रबारे बजारलाई आफ्नो आँखा अगाडि देखिएको दृश्यसँग तुलना गर्दै केहीबेर नियालेँ । फोटोमा देखेका सबै कुराहरूसँग साक्षात्कार हुन नसकिँदोरहेछ । छवटा थरका लिम्बु राजाहरूले राज्य गरेकोले सोहीअनुसार नामाकरण गरिएको छथर गाउँपालिका र यहाँको शुक्रबारे बजारसँग भने साक्षात्कार हुन पाउँदा मैले आफैँलाई खुसी र भाग्यशाली महसुस गरेँ । शुक्रबारेमा कुनैबेला शुक्रबारको दिन हाटबजार लाग्ने भएकोले यो बजारको नाम नै शुक्रबारे राखिएको रहेछ । हिलेमा अहिले हिलो नभएझैँ अहिले शुक्रबारे बजारमा पनि शुक्रबारको दिन हाटबजार लाग्दो रहेनछ । दुई दिनको बसाइँ शुक्रबारेमै भयो । छथर गाउँपालिकाको सभाहलका छथर गाउँपालिकाका विद्यालयका प्रधानाध्यापकहरूको निम्ति क्षमता विकास र स्थानीय शिक्षा योजना तर्जुमासँग सम्बन्धित क्रियाकलाप र प्रस्तुतिहरू गरियो । नेपालको शिक्षा क्षेत्र तराईदेखि हिमालसम्म र पूर्वदेखि पश्चिमसम्म सुधारका सवालमा हल्काफुल्का अन्तर देखिए पनि तात्विक अन्तर नभएको अनुभूत भयो । शिक्षककका पीर र गुनासाहरू पूर्वपश्चिम उत्तरदक्षिण सबैतिर उस्तै भेटिए । शिक्षा क्षेत्रलाई जति प्राथमिकतामा दिनु पर्ने हो त्यत्ति नदिएको पनि सबैतिर उस्तै देखियो । शिक्षालाई राजनीतिले अनावश्यक रुपले गिजोलेर राम्रोसँग हुर्कनबढ्न नदिएका सवालहरू पनि सबैतिर उस्तै देखिए । शुक्रबारे बजारतिर बरालिँदै गर्दा यहाँका महिलाहरूले हातेतानबाटै टोपी र कोटका लागि ढाका कपडा बुनेको देखियो । मूल्य अलि महङ्गो हुँदोरहेछ । यस्ता घरेलु उद्योगहरूका लागि केही अनुदान पालिका, प्रदेश र संघले दिएर प्रवर्धन गर्न सके जाति हुन्थ्यो होला भन्ने पनि यो मनको अन्तरकुन्तरभित्र लागिरह्यो । बजारतिर बरालिने क्रममा वनरक्षक पदमा लोकसेवाबाट नाम निकालेर जागिरका लागि आएकी सल्यान बागचौर नगरपालिका पेदीखोलाकी बहिनी खिमा ओलीसँग भेट हुँदा खुसी लाग्यो । सल्यानको गाउँमा जन्मेकी एउटी चेली यत्ति टाढा पूर्वमा आएर जागिर खान हिक्मत गरेको देख्दा गर्वको अनुभूति भयो पनि । बाँकी जो हजूरको मर्जी !

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार