नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा तातो हावा ‘लु’ पूर्वतयारी तथा प्रतिकार्यसँग सम्बन्धित गतिविधिहरूको बारेमा उच्चस्तरीय टोलीले अनुगमन तथा अवलोकन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्ट, अनुगमन तथा अवलोकन कार्यक्रममा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तराष्ट्रिय महासंघका नेपाल प्रतिनिधि टोलीका प्रमुख डेविट फिसर लगायतको टोलीले अनुगमन गरेको हो ।
टोलीमा प्राधिकरणका सहसचिव अमृत श्रेष्ठ, उपसचिव राजेन्द्र शर्मा, उपसचिव सुरेश सुनार, अमेरिकन रेडक्रसका नेपाल प्रतिनिधि हरिबहादुर कार्की, कार्यक्रम संयोजक उपमा ओझा र नेरेसो केन्द्रका उपनिर्देशक अमरमणि पौडेल लगायतको सहभागिता रहेको थियो ।
अवलोकनका क्रममा नेपाल रेडक्रस सोसाइटी बाँकेद्वारा तातो हावासम्बन्धी सञ्चालित गतिविधिहरूको प्रस्तुतीकरण, नेपालगन्ज उपमहानगरपालिका र रेडक्रस बीचको साझेदारी तथा सहकार्यमा सञ्चालन भएका कार्यहरूको बारेमा अन्तरक्रिया पनि गरिएको थियो । त्यसपश्चात् नेपालगन्ज बसपार्कमा निर्माण गरिएको शीतलन केन्द्र (कुलिङ्ग सेन्टर)को अवलोकन र समुदायमा सञ्चालन भएका गतिविधिहरूको स्थलगत अवलोकन पनि गरिएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख भट्टले विभिन्न विपद्मध्ये तातो हावा पनि एक भएको भन्दै नेपालगन्जमा तातो हावा प्रतिकार्यका गतिविधिहरू केही वर्षदेखि नमुनाका रूपमै सञ्चालन भइरहेको जानकारी दिए ।
सो क्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले विगतदेखि हालसम्म सञ्चालन भएका तातो हावाको असर न्यूनीकरणसम्बन्धी गतिविधिको बारेमा प्रस्तुति गरेका थिए । यसैगरी नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले रेडक्रस र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भएका गतिविधिको बारेमा जानकारी गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्