जनताका घरघरमै जन्म र मृत्युदर्ताको प्रमाणपत्र



शिवु खनाल । दाङ ।

दाङको लमही नगरपालिकाका नगरवासीहरूलाई जन्म र मृत्युदर्ता गराउन वडा कार्यालय धाउनु पर्ने बाध्यता हटेको छ । लमही नगरपालिकाअन्तर्गत रहेका १ देखि ९ नम्बर वडाले घरघरै पुगेर घटना दर्ता गरिदिन थालेपछि स्थानीयलाई सजिलो भएको हो ।

‘जन्म र मृत्युको घटना दर्ता ३५ दिनभित्र गर्नु पर्ने नेपाल सरकारको कानुनी प्रावधान छ, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले भने, ‘त्यसलाई प्रभावकारी रूपमै कार्यान्वयन गर्ने उद्देश्यका साथ हामीले घरमै पुगेर जन्म र मृत्युदर्ता गरिदिने गरेका छौँ ।’ आर्थिक वर्ष २०८२–०८३ को सुरुवातसँगै जन्म र मृत्युको प्रमाणपत्र घरघरमा उपलब्घ गराउन थालिएको उनले बताए ।

यसरी घरघरमा जाँदा जनतासँग भेट गरेर उनीहरूसँग कुराकानी गर्ने अवसर पनि मिल्ने उनको भनाइ छ । ‘जसको घरमा शोक परेको छ । १३ दिनभित्र उहाँको परिवारलाई भेटेर समवेदना दिने, मृत्तकलाई श्रद्धाञ्जली अर्पण गर्छौँ, केही दुखः पीडा भए सहयोग एवं सान्त्वना दिन्छौँ,’ उनले भने, ‘अनि सोहीबेला मृत्युदर्ताको प्रमाणपत्र पनि हस्तान्तरण गरेर फर्कछौँ ।’ जसले गर्दा परिवारका सदस्यलाई वडा कार्यालयसम्म आएर मृत्युदर्ताको प्रमाणपत्र लिने झन्झट पनि हटेको उनले बताए ।

वडाले पहिलोपटक मृत्युको घटना भएको घरमा पुगेर मृत्युदर्ताको प्रमाणपत्र दिएको उनले बताए । उनले मृत्यु भएको घरपरिवारलाई वडा कार्यालयसम्म पुग्नु पर्ने बाध्यतालई अन्त्य गर्दै हरेक दुःखसुखमा नगरपालिका र वडा कार्यालय वडावासीको साथमा रहेको सन्देश दिन र सुशासनको पाटोलाई राम्रो बनाउन नगरपालिका र वडा कार्यालयबाट यस्तो निर्णय गरिएको बताए ।

वडाको निर्णयअनुसार पहिलोपटक मृत्युको घटना भएको घरमा नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र वडा सचिवसहितको टोलीले मृतक परिवारलाई घरमै पुगेर मृत्युदर्ता प्रमाणपत्र प्रदान गर्न सुरु गरिएको हो । ‘अबदेखि निरन्तर रूपमा मृतकको घरमा पुग्ने गर्दछौँ,’ अधिकृत डाँगीले भने, ‘शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना, भेटघाटका साथै मृत्युदर्ता प्रमाणपत्रले सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सुविधा लिएका वडावासीको मृत्यु भएमा तत्काल लगत कट्टा हुने हुँदा दोहोरपन तथा चुहावटको समस्या निराकरण हुनेछ ।’

त्यसैगरी वडाभित्रका सुत्केरी महिलासँग घरभेट गरी आमा र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरिएको उपप्रमुख लक्ष्मी योगीले बताइन् । उक्त समयमा बच्चाको जन्मदर्ता समेत गरिदिने गरिएको उनले बताइन् । ‘सुत्केरी महिला र बच्चासँगको घरभेटको क्रममा चाहीँ मैले मेरैतर्फबाट सानो सहयोग समेत गर्ने प्रयास गरेको छु,’ उनले भनिन्, ‘उपप्रमुखको हिसाबले मैले पाउने सेवासुविधाबाट उहाँलाई एक क्रेट अण्डा दिने गरिएको छ ।’

यसले नवजात शिशु र आमाको पोषणमा थोरै भए पनि सहयोग गर्ने र पोषिलो खाना खुवाउन परिवारलाई उत्प्रेरणा दिने उनको विश्वास छ ।
अहिलेसम्म लमही नगरपालिका वडा नम्बर ६ मा २ जनाको मृत्युदर्ता र १ जना बालकको जन्मदर्ता घरमा पुगेर प्रदान गरिएको छ । त्यसैगरी वडा नम्बर २ मा १ जना, वडा नम्बर ४ मा १ जना, वडा नम्बर ८ मा २ जना र वडा नम्बर ९ मा १ जना गरि हालसम्म ७ जनाको मृत्युदर्ता र १ जना बालकको जन्मदर्ता प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

घरघरै सेवा पाउने भएपछि स्थानीय पनि खुसी भएका छन् । थालिएको प्रयास सकारात्मक भएको भन्दै उनीहरूले यसको निरन्तरताको कामना गरेका छन् । बुधबार लमही नगरपालिका वडा नं. ४ बड्का घुम्ना निवासी प्रितम चौधरीको मृत्युदर्ता प्रमाणपत्र उनको बुवा घनश्याम चौधरीलाई प्रदान गरिएको छ । कार्यवाहक नगरप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, वडा नम्बर नं.४ का वडाध्यक्ष सुवास न्यौपाने, वडा सदस्य भोजराज चौधरी, वडासचिव सर्मिला चौधरी लगायतको टोली मृतक चौधरीको घरमै पुगेर मृत्युदर्ता प्रमाणपत्र प्रदान गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार