खजुरा (बाँके) ।
बाँकेको खजुरा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि निस्वार्थ सेवा पु¥याउँदै आएकी एक स्वयंसेविकाको योगदानको कदर गर्दै उनको परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ । गाउँपालिकाले केही समयअघि निधन भएकी खजुरा गाउँपालिका–२ सितापुर निवासी स्वर्गीय सावित्री खत्रीको परिवारलाई ५० हजार रूपैयाँँ नगद सहयोग प्रदान गर्दै सम्मान जनाएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखामार्फत स्वर्गीय खत्रीको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेको थियो । लामो समयदेखि स्वास्थ्य स्वयंसेविकाको रूपमा सक्रिय रहँदै गाउँ–समुदायमा स्वास्थ्य सचेतना फैलाउने, गर्भवती तथा सुत्केरी महिलाको हेरचाह गर्ने, खोप कार्यक्रमलाई प्रभावकारी बनाउने लगायतका महत्वपूर्ण कार्यमा उनले उल्लेखनीय योगदान पु¥याएकी थिइन् ।
स्वर्गीय खत्रीले विसं २०५४ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा सेवा सुरु गरी करिब १८ वर्षसम्म निरन्तर रूपमा खजुरा गाउँपालिकाको स्वास्थ्य शाखासँग समन्वय गर्दै समुदायमा सेवा दिएकी थिइन् । उनको निधनपछि स्थानीय सरकारले उनको योगदानको कदर गर्दै परिवारलाई सहयोग प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीले जानकारी दिइन् ।
रकम हस्तान्तरण कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले स्वर्गीय खत्रीले समुदायमा पु¥याएको सेवाको उच्च मूल्यांकन गर्दै स्वास्थ्य स्वयंसेविकाहरू समाजका आधारस्तम्भ भएको बताए । उनले भने, ‘स्वयंसेविकाहरूले निस्वार्थ भावले गाउँ–समुदायमा सेवा पु¥याउनु भएको छ, उहाँहरूको योगदानबिना स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सक्दैन ।’
त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न स्वयंसेविकाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै स्वर्गीय खत्रीले निर्वाह गरेको जिम्मेवारी प्रेरणादायी रहेको उल्लेख गरिन् । उनले यस्ता सेवाभावी व्यक्तित्वहरूको सम्मान र स्मरणले अन्यलाई पनि समाजसेवामा प्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले गाउँपालिकाले प्रत्येक वर्ष स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गर्ने परम्परा कायम राखेको जानकारी दिँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले स्वास्थ्य स्वयंसेविकाहरूले ग्रामीण तहमा स्वास्थ्य सेवा प्रवाहमा खेलेको भूमिकालाई अझ सुदृढ बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको धारणा राखे ।
स्थानीयवासीहरूले समेत स्वर्गीय खत्रीको योगदानको प्रशंसा गर्दै उनको निधनले समुदायलाई ठूलो क्षति पुगेको बताएका छन् । उनीहरूका अनुसार खत्रीले आफ्नो जीवनभर स्वास्थ्य सेवामा समर्पित भई गाउँका धेरै मानिसलाई प्रत्यक्ष रूपमा सहयोग पु¥याएकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्