धर्मले मानिसलाई विभाजित गर्दछ, विज्ञानले जोड्दछ



अन्तमा सबै धर्ममाथि विज्ञानले नै जित्ने छ, किनकि विज्ञानले काम गर्दछ । यसले नयाँ नयाँ आविष्कारहरू, खोजहरूको विकास गरेको छ । विज्ञान हरबखत क्रियाशील र गतिशील छ । यसले परीक्षण र प्रयोग गरिरहेको हुन्छ । नयाँ नयाँ प्रविधिहरूको विकासमा विज्ञानकै ठूलो देन रहेको छ । विज्ञान र प्रविधिमार्फत विश्वभरिका मानिसहरूको बीचमा सम्बन्ध कायम हुन्छ । उनीहरू बीच विज्ञान र प्रविधिलाई कसरी थप विकास गर्ने र नयाँ उचाइमा पु¥याउने भन्ने बारेमा बहस र छलफल हुने गर्दछ । तर धर्ममा त्यो सम्भव हुँदैन ।

चिन्तामणि घिमिरे

धर्मले मानिसलाई एकआपसमा विभाजित गर्दछ भने विज्ञानले मानिसलाई जोड्दछ । धर्ममा तथ्य र प्रमाण हुँदैन । विज्ञान तथ्य र प्रमाणमा आधारित हुन्छ । विज्ञानले तर्क र प्रश्न गर्न सिकाउँछ । विज्ञान प्रयोग र परीक्षणमा आधारित हुन्छ । विज्ञानले रहस्यमा रहेका कुराहरूको बारेमा मानव समुदायलाई जानकारी गराउँछ । यसले मानव समुदायलाई तर्कशील र तार्किक बनाउँछ । विज्ञान प्रयोगमा आधारित हुन्छ भने धर्म प्रयोगमा आधारित नभएर आस्था र विश्वासमा आधारित हुन्छ । धर्म प्रश्नसित डराउँछ भने विज्ञानले आलोचनालाई स्वागत गर्दछ । विज्ञानले आलोचनालाई पचाएर आएको हुन्छ । तर धर्मले आलोचनालाई देखिसहँदैन । धर्म आलोचनादेखि आतंकित हुन्छ । विज्ञानको विकास देखेर धार्मिक पण्डाहरू भयभीत हुन्छन् । एउटा वैज्ञानिकले अर्को वैज्ञानिकको आविष्कारको भित्री हृदयले समर्थन र स्वागत गर्दछ किनकि उसको पछाडी प्रमाणित सत्य हुन्छ । उही एक धर्मले अर्को धर्मको विरोध गर्दछ किनकि उसको पछाडी बिनाप्रमाणको आस्था एवं झुठो मनगढन्त कहानीहरू हुन्छन् । विज्ञानमा तेरो र मेरो विज्ञान भन्ने हुँदैन । तर धर्ममा तेरोभन्दा मेरो धर्म ठूलो भन्ने होडबाजी चल्दछ । एउटा धार्मिक व्यक्तिले अर्को धार्मिकलाई राम्रो मान्दैन । मानिसलाई धर्म मान्नका लागि जबर्जस्ती कर बल गरिन्छ । तर विज्ञान मान्ने र नमान्ने भन्ने कुरा व्यक्तिको स्वतन्त्रताको कुरा हो । वैज्ञानिकहरू आफ्नो आविष्कारप्रति गौरव गर्दछन् तर घमण्ड र दम्भको भावना उनीहरूमा कत्ति पनि हुँदैन ।

धर्मको प्रचारप्रसारमा मानिसहरू घरघरै पुगेका हुन्छन् र मानिसहरूलाई धर्म मान्नका लागि फकाउने प्रयासमा लागेका हुन्छन् । लोभलालचमा पारेर गरिबी र अज्ञानताबाट फाइदा उठाएर मानिसलाई गुमराहमा पार्ने काम धर्मका ठेकेदारहरूले गर्दै आइरहेका छन् । तर विज्ञानमा त्यस्तो हुँदैन । त्यहाँ लोभलालच भन्ने नै हुँदैन । विज्ञान आफैँ प्रचार भइरहेकै हुन्छ, त्यसलाई थप प्रचारको आवश्यकता नै पर्दैन । विज्ञानमा सत्य सार्वभौम हुन्छ । पृथ्वीले सूर्यलाई घुम्छ भन्ने सत्य विश्वभरिका मानिसहरूका लागि सत्य मानिन्छ । धर्ममा हरेकका आ–आफ्ना मान्यताहरू रहेका हुन्छन् । एउटाको मान्यता अर्कोलाई स्वीकार्य हुँदैन । आ– आफ्ना प्रचलनहरू रहेका हुन्छन् । धर्ममा आ–आफ्ना दाबीहरू रहेका हुन्छन् । हरेकले आ–आफ्ना दाबीहरूलाई सत्यको लेबल लगाएका हुन्छन् । विज्ञानको विकासले मानिसको दैनिकीलाई सरल र सहज बनाएको छ । अब सामान किन्नको लागि पैसा बोकेर बजार दौडिरहन पर्दैन । अर्डर गरेपछि घरमै आइपुग्छ । अनलाइन व्यापार विज्ञानको विकासको एउटा कडी हो । विज्ञानको विकासले मानिसको जीवनलाई सहज बनाइ दिएको छ । विज्ञानको विकास नहँुदो हो त हामी ढुङ्गे युगमा नै हुन्थ्यौँ । विज्ञानको विकासले नै मानिसलाई ओढारदेखि निकालेर एआईसम्म पु¥याएको हो । आज जे जति विकास भएको छ, त्यो विज्ञानकै देन हो । धर्मले विज्ञानकै सहारा लिएर विज्ञानमाथि हमला गरिरहेको छ । तर धर्मले विज्ञानको एउटा रौँ पनि उखेल्न सकेको छैन । धर्मले हार्दै आइरहेको छ तर धर्मले आफ्नो हारलाई स्वीकार्न तयार देखिँदैन । धर्मले मानिसलाई काल्पनिक सुखमा अल्झाउँदै आइरहेको देखिन्छ । उसले मिथ्या आश्वासनहरू वितरण गरिरहेको हुन्छ ।

पहिले पहिलेका मानिसहरूमा धर्म भनेको मानवसेवा वा समाजसेवा हो भन्ने धारणा रहेको पाइन्थ्यो । अरुको सेवा गरे धर्म मिल्छ भन्ने सोचाइ देखिन्थ्यो । अहिले त्यस्तो देखिँदैन । धर्मलाई मानवीय सेवासँग जोडेर हेर्ने चलन आमरूपमा थियो । तर आजकल धर्म व्यापार बनेको छ । धर्ममा सेवाभाव भन्ने चिजै छैन । आजकल धार्मिक महोत्सवहरू लाग्ने गर्छन् । उक्त धार्मिक महोत्सवमा लाखौँ करोडौँ रूपैयाँँ आम्दानी हुने गर्दछ । तर त्यसको हिसाबकिताब सहि ढंगले भएको देखिँदैन । धार्मिक महोत्सवमा कथा वाच्ने वाचकहरूले स्रोतालाई सम्पत्तिको मोह त्याग्नुस् भनेर अर्ती उपदेश दिने गर्छन् । सम्पत्तिको मोहजालमा नफस्नुस् भन्छन् तर आफूले भने कथा वाचन गरेबापत लाखौँ रूपैयाँँ कुम्ल्याउँछन् । तिनीहरूले कथा वाचेबापत आफूलाइ चाहिने मात्र आवश्यक रकम लिन सक्छन् नी । तर तिनीहरूमा भन्ने एउटा र गर्ने अर्को चरित्र देखिन्छ । त्यसलाई द्वेध चरित्र भनिन्छ । भारतका सन्तबाबाहरू असाध्यै धनी रहेका छन् । नेपालका पनि धनी नै छन् । शोषक वर्गले धर्मको माध्यमबाट आम मान्छेलाई भ्रमात्मक सुखमा अल्झाएर उसलाई वास्तविक सुखको लागि संघर्ष गर्नबाट रोक्दछ । विश्वको इतिहास अध्ययन गर्ने हो भने यो कुरा थाहा हुन्छ कि सामाजिक परिवर्तनको लागी भएका आन्दोलनमा भन्दा धेरै मानिसहरूको मृत्यु धार्मिक युद्धहरूमा भएको छ ।

अहिले पनि विश्वमा मानिसहरूका बीचमा धार्मिक भेदभाव र उत्पीडन कायमै छ । अहिले धर्मलाई राजनीतिसँग जोडने काम भएको छ । धर्म र राजनीतिलाई एकैठाँउ घालमेल पार्दा समाज झन प्रदूषित हुने खतरा रहन्छ । सुरुदेखी नै शासकहरूले गलतलाई सहि ठहराउनका लागि धर्म र ईश्वरको प्रयोग गरे । तर सत्यको लागि कसैसँग पनि डराउनु हुँदैन । गुरुसँग, मन्त्रसँग, लोकसँग र कुनै शास्त्रसँग पनि डराउनु हुँदैन । धर्मसँग केवल हवाई र काल्पनिक कुराहरू छन् तर विज्ञानसँग हवाईजहाज छ, जसमा बसेर ठूला ठूला धर्मगुरु देशविदेशको यात्रा गर्दछन् । धर्मले विज्ञानलाई प्रयोग गरेर विज्ञानकै विरोध गरिरहेको हुन्छ । धर्म उच्च वर्गद्वारा बनाइएको एउटा हतियार हो, जुन हतियारद्वारा उच्च वर्गले निम्न वर्गको दमन सफलतापूर्वक गर्दछ । अन्तमा सबै धर्ममाथि विज्ञानले नै जित्ने छ, किनकि विज्ञानले काम गर्दछ । यसले नयाँ नयाँ आविष्कारहरू, खोजहरूको विकास गरेको छ । विज्ञान हरबखत क्रियाशील र गतिशील छ । यसले परीक्षण र प्रयोग गरिरहेको हुन्छ । नयाँ नयाँ प्रविधिहरूको विकासमा विज्ञानकै ठूलो देन रहेको छ । विज्ञान र प्रविधिमार्फत विश्वभरिका मानिसहरूको बीचमा सम्बन्ध कायम हुन्छ । उनीहरू बीच विज्ञान र प्रविधिलाई कसरी थप विकास गर्ने र नयाँ उचाइमा पु¥याउने भन्ने बारेमा बहस र छलफल हुने गर्दछ । तर धर्ममा त्यो सम्भव हुँदैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार