लागूऔषध दुव्र्यसनी बढ्दै गएकोमा चिन्ता



कोहलपुर ।

लागूऔषध दुव्र्यसन दिनप्रतिदिन बढ्दै गएकोप्रति सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा गरिएको लागूऔषध दुरुपयोगसम्बन्धी अन्तक्र्रियामा सहभागी सरोकारवाला निकायहरूले चिन्ता व्यक्त गरेका हुन् ।

खुला सिमानाका कारण बाँकेमा पछिल्लो समय लागूऔषधको प्रयोग गाउँगाउँमा भुसको आगो जसरी फैलिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले बताए । लागूऔषधलाई न्यूनीकरण गर्न र लागूऔषधमुक्त समाज निर्माण गर्न सरोकारवाला निकायहरूको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

एउटा व्यक्ति र संस्थाले मात्रै लागूऔषध न्यूनीकरण गर्न सम्भव नरहेको बताउँदै उनले सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य हुन सके लागूऔषध नियन्त्रण गर्न सकिने बताए । कुनै एउटा बन्द कोठमा भन्दा पनि समाजको गाउँ र टोलहरूमा पुगेर लागूऔषध दुरुपायेगसम्बन्धी सचेतना तथा जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ थियो ।

स्थानीय सरकारले पाठ्यपुस्तकदेखि टोलटोलमा सचेतना कार्यक्रमलाई प्रभावकारी रूपमा लैजान सुझाव दिए । उनले जिल्लाको पछिल्लो तथ्यांक हेर्दा पनि लागूऔषध दुव्र्यसन मौलाउँदै गएको पाइएको बताए । बाँके जिल्लामा आर्थिक वर्ष ०८०–०८१ मा मात्रै लागूऔषधका १ सय ७७ वटा मुद्दा दर्ता र २ सय ६४ जना व्यक्ति पक्राउ परेको तथ्यांक रहेको जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष ०८१–०८२ मा भने बढेर २ सय १३ वटा मुद्दा दर्ता र ३ सय ११ जना व्यक्ति पक्राउ परेका छन् । आर्थिक वर्ष ०८२–०८३ को फागुन महिनासम्मको १ सय ४५ मुद्दा तर्दा र २ सय १२ जना व्यक्ति पक्राउ परेका छन् । तथ्यांकले प्रत्येक वर्ष लागूऔषध प्रयोगकर्ताहरूको सङ्ख्या बढ्दो क्रममा रहेको देखाउँछ ।

उनले लागूऔषध दुरुपयोग न्यूनीकरण गर्न सरकारले पनि विभिन्न किसिमका नीति, रणनीति, कानुन र कार्ययोजनाहरू निमार्ण गरेर लागिपरिहेको बताए । लागूऔषध दुरुपयोगलाई रोक्न विद्यालय तह र टोलहरूमा सचेतना फैलाउन सके लागूऔषध दुव्र्यसन रोक्न सकिने उनको भनाइ थियो । त्यसका लागि स्थानीय सरकारले पहल गर्न उनले आग्रह गरे ।

कोहलपुर नगरपालिकाले लागूऔषध दुरुपयोग न्यूनीकरणका लागि विद्यालयहरूमा सचेतना गराउनेदेखि गाउँहरूमा सचेतना फैलाउँदै आएको उप्रमुख संगिता सुवेदीले बताइन् । उनले स्थानीय सरकारको अहिलेको चुनौतीको विषय नै लागूऔषध न्यूनीकरण रहेकाले त्यसका लागि सबैसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरिन् ।

उनले स्थानीय सरकारको पहलमा मात्रै नभएर प्रदेश तहबाटै बलियो कानुन निर्माण र बजेट विनियोजन हुन आवश्यक रहेको बताइन् । नगरपालिकाले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा सचेतनाका कार्यक्रम गर्दै आए पनि प्रभावकारी हुन नसेको बताउँदै उनले अब गहिराइमा पुग्न जरुरी रहेको बताइन् ।

स्थानीय सरकारले अबका दिनहरूमा समस्या पहिचान गर्ने र त्यसका लागि सरोकारवाला सबैसँग सहकार्य गरेर लागूऔषधमुक्त समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाइन् । नगरपालिकाभित्र रहेका सबै वडाहरू लागूऔषध प्रयोगले विकराल अवस्थामा रहेकाले यसको न्यूनीकरणमा सबैको हातेमालोको खाँचो रहेको उनको भनाइ थियो ।

यस्तै अन्य सहभागी वक्ताहरूले पनि स्थानीय सरकार, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सीमा नाकालाई कडाइ गर्न आवश्यक रहेको बताए । खुला सिमाना र सचेतनाको अभावले लागूऔषध दुव्र्यसन समाजमा फैलिरहेकाले यसलाई रोक्नका लागि सबैले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार