नरेन्द्र देवकोटा ‘प्रशान्त’
कानुनी शासन, विधिको शासन तथा सुशासनलाई संस्थागत गर्न २०८२ फागुन २१ गते मुलुकमा संघीय प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिकतर्फको आमनिर्वाचन सम्पन्न भई परिणामहरू आउने क्रम जारी थिए । ठिक त्यसैबेला बलात्कारपछि हत्याको घटना घटेको खबर समाचारमा आइपुग्यो । सुन्दा पनि आङ सिरिङ्ग भैरहेको छ इनिसाको हत्या प्रकरणले । इनिसाको बलात्कारपछि हत्या भएको आज चैत ९ गतेसम्म १७ दिन पुगिसकेको छ । सुर्खेत गुर्भाकोट नगरपालिका– ६ बडाखोली स्थायी घर भएकी इनिसा हाल आमा र भाइसँग वीरेन्द्रनगर नगरपालिका –१ सुर्खेतमा बस्दै आएकी थिइन् । इनिसाकी आमा तिला छोराछोरीलाई पढाउन पाँच वर्षदेखि वीरेन्द्रनगरमा बस्दै आएकी थिइन्। १६ वर्षीया इनिसा विक स्थानीय उषा बालवाटिका विद्यालयमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत थिइन् । बाबु इन्द्रबहादुर दुबईमा जागिर गर्दै थिए । छोराछोरीको पढाइलेखाई, लालनपालन र परिवारको खुसीका लागि । आफ्नो श्रम र पसिना बेचिरहेका थिए जिन्दगीको कुनै प्रवाह नगरी । इनिसा आफ्ना बुवा आमाको सपनालाई साकार पार्न दिनरात चिसोतातो र बिदाको दिन पनि नभनी अध्ययन कार्यमा जुटिरहेकी थिइन् । बिहान ६ बजेको समय थियो । गत फागुन २३ गते शनिबार बिहान ट्युसन पढ्न जान्छु भनेर इनिसा विक आफू बस्ने घरबाट ट्युसन पढ्न हिँडेकी थिइन् । पढाइ सकेर इनिसा ८ बजेतिर घर आउने भनेकी थिइन् । गाउँमा जाने अघिल्लै दिनदेखि आमा छोरीसमेतको घरमा सल्लाह भैरहेको थियो । बिहानको नौ बजिसक्दा सम्म पनि इनिसा घरमा नआएपछि इनिसाकी आमा तिलाले इनिसालाई फोन हानिन्, फोन गएन । इनिसाको मोबाइल स्वीच अफ थियो । अपरिचितको नम्बरबाट फोन आयो– तपाईँकी छोरी फलानो जंगलमा घाइते भएर अचेत अवस्थामा छन् भन्दै । इनिसाकी आमा तिलाले यस्तो खबर सुनेपछि बिहान करिब ९ बजेतिर वीरेन्द्रनगर–४ जनजागरण सामुदायिक बनमा पुगिन् ।
इनिसा अचेत अवस्थामा थिइन् । इनिसा नग्न, शरीर रक्ताम्य र बेहोस अवस्थामा थिइन् । प्रहरी घटनास्थल पुगिसकेको रहेछ, प्रहरी समेतले पूरै शरीर रक्ताम्मे, कपाल लुछिएको, वरिपरिको घाँस मडारिएको अवस्थामा देख्यो । आफ्नी छोरीको यस्तो बीभत्स अवस्था देखेर तिला बेहोस भएकी थिइन् । होसमा आएपछि तिलाले प्रहरीलाई घरका सबै कुरा बताएकी थिइन् । अचेत अवस्थाकी इनिसालाई बचाउन प्रदेश अस्पताल सुर्खेत पु¥याउँदा चिकित्सकले मृत घोषणा गरिदिए । भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यसहितको टोली प्रदेश अस्पताल सुर्खेत पुगेका थिए । विशेषज्ञ यो टोलीले गरेको पोस्टमार्टम रिपोर्ट (शव परीक्षण प्रतिवेदन)मा कसैले इनिसालाई जबर्जस्ती करणी गरि करणीको क्रममा मृतकको संवेदनशील अंग च्यातिन गई अत्यधिक रक्तश्राव भएपछि मृत्यु भएको हुन सक्ने उल्लेख गरिएको छ । शव परीक्षण प्रतिवेदनमा इनिसाको यौनाङ्ग तथा भित्री भागमा गम्भीर चोट लागेको र सोही चोटका कारण अत्यधिक रक्तश्राव भई मृत्यु भएको डाक्टरले बताएको पाइन्छ । डाक्टरको रिपोर्ट र तत्कालको तथ्याङ्बाट १६ वर्षीया एक युवकले इनिसामाथि जबर्जस्ती करणी गरेको खुल्न आएको छ । ती किशोरले सोधपुछको क्रममा इनिसा आफ्नो प्रेमिका रहेको र सहमतिमै यौन सम्बन्ध भएको बताएका छन् । उनले सहमतिमा करणी भएको थियो भने पनि १८ वर्ष नपुगेकी बालिकालाई करणी गरेमा जबरजस्ती करणीनै हुने कानुनी व्यवस्था रहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानपछि उनलाई घटनास्थलबाटै पक्राउ गरेको कुरा विभिन्न समाचारमा उल्लेख भएको पाइन्छ । बलात्कारपश्चात् हत्या समेत गरिएकी भनिएकी १६ वर्षीया किशोरी इनिसा विकलाई न्याय दिलाउन न्यायको पक्षमा देशभरिबाट आन्दोलन भैरहेको छ ।
‘इनिसा हत्या प्रकरण आन्दोलन जारी, प्रहरी रिपोर्ट आउन ढिलाइ’ शीर्षकमा मिसन टुडे संवाददाता नन्दराम जैशी मिसन टुडे पत्रिका र अनलाइनमा लेख्छन् – इनिसाको न्यायको माग गर्दै फागुन १ गते हुम्लाको सदरमुकाम सिमकोटमा विरोध ¥याली निस्किएको, ¥यालीमा नागरिक समाज, विद्यार्थी, महिला समूह तथा स्थानीयवासीको सहभागिता रहेको र ‘दोषीलाई कडा कारबाही गर’, इनिसालाई न्याय दे’ ‘महिलामाथि हुने हिंसा बन्द गर’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए भनिएको छ । उनी थप लेख्छन् – घटनाको सत्यतथ्य छिटो सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर हुनुपर्ने बताउँछन् सल्यानमा पनि इनिसाको न्यायको माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका समाचारमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), पोलिग्राफ विशेषज्ञ तथा सीडीआर विश्लेषकसहितका टोली सुर्खेत आएर अनुसन्धानमा जारी राखेका छन् । नेपालगन्जबाट आएको पोलिग्राफ टोलीले अभियुक्तहरूको बयान परीक्षण गरिरहेको छ । प्राविधिक टोलीले मोबाइल तथा कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषण गरिरहेको छ । मोबाइल लगायतका सामग्री फरेन्सिक परीक्षण गर्न पठाइएकोछ । केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल तथा बायो–सेरोलोजिकल परीक्षणका लागि नमुना पठाइएको प्रहरीले जनाएको छ । सबै रिपोर्टपछि घटनाको निष्कर्षमा पुग्ने अनुसन्धान अधिकृतहरूको भनाइ छ । घटनास्थलमा इनिसाको शरीरका यौनाङ्गबाहेक अरु भागमा चोटपटक देखिएका थिएनन् । यौनाङ्गबाट भने अत्यधिक रगत बगेको थियो । यो कुरा अनुसन्धानका क्रममा प्रहरीले यस्तो अवस्था देखेको थियो, यही कुरा प्रहरीले पत्रकारलाई बताएको थियो । निकिसालाई करणी गरि हत्या गरिएको ठाउँ नजिक घटेको घटनास्थल नजिक झोला, जुत्ता तथा मोजा राखिएका थिए ।
साथै जमिनमा रगतको दाग देखिएको कुरा अनुसन्धानमा संलग्न अधिकारीले पत्रकारहरूलाई बताएको पाइन्छ । अनुसन्धानमा संलग्न प्रहरी भन्छ – करणीपछि अत्यधिक रक्तश्राव हुँदा इनिसा बेहोस भएपछि ती किशोर अत्तालिएर उनलाई तानेर केही पर समथर ठाउँमा राखेको देखिन्छ । त्यसपछि अन्य साथीहरूलाई बोलाएको बयान उनले दिएका छन् । इनिसालाई बलात्कार गरेर बेहोस् बनाइ पर तान्ने किसोर आफू मात्रै एक्लै घटनास्थलमा आएका थिए या चारैजना आएका थिए या सबै कसुर आफूले जिम्मा लिएका छन् या एक्लैले घटना घटाएका हुन् ? अहिलेनै भन्न सकिने अवस्था छैन । पीडित परिवार र सञ्चारकर्मीहरूले प्रहरीलाई– इनिसामाथि सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गरिरहेका छन् । प्रहरी भनिरहेको छ – जबर्जस्ती करणी भएको पुष्टि भए पनि सामूहिक हो वा एकल हो भन्ने सन्दर्भमा थप अनुसन्धान भइरहेको बताइरहेको छ । प्रहरीका अनुसार सीसीटीभी फुटेजमा बिहान करिब ६ बजे इनिसा र एक किशोर मात्र जनजागरण सामुदायिक वनतर्फ गएको देखिएको छ । अन्य किशोरहरू भने बिहान ८–९ बजेतिर मात्र त्यहाँ पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
हत्या र जबरजस्ती करणीविरुद्ध मौलिक हकको व्यवस्था
नेपालको संविधान २०७२ मा कुन ैपनि नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुने, नेपालको कुनै पनि भागमा आवतजावत गर्न पाउने स्वतन्त्रता हुने, कानुनको समान संरक्षणबाट वञ्चित हुन नपर्ने, समानताको हक, अपराध पीडितको हक, कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण नगरिने, मौलिक हक उल्लंघन भएको अवस्थामा धारा ४६ बमोजिम उपचार समेत हुने व्यवस्था गरिएकोछ । धारा १६ मा प्रत्येक व्याक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुने, नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता हुने, धारा १८ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने, कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित नगरिने, धारा ३८ (३) मा…शारीरिक, मानसिक, यौनजन्य कार्य वा शोषण नगरिने, त्यस्तो कार्य दण्डनीय हुने र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने, धारा ४६ मा मौलिक हकको प्रचलनको संवैधानिक उपचार पाउने हक समेत हुने भनिएको छ ।
करणी र जबरजस्ती करणीको सामान्य अर्थ
करणी भन्नाले पुरुष र महिलाबीच हुने यौनजन्य शारीरिक सम्पर्क भन्ने बुझिन्छ । अर्थात् पुरुषको लिङ्गले महिलाको योनीभित्र गरिने शारीरिक सम्पर्कलाई करणी भनिन्छ । १० वर्ष उमेर पुगेको वा सोभन्दा माथिको युवाले जुनसुकै उमेरकी कुनै महिलालाई निजको मञ्जुरीबिना गरिने करणी जबरजस्ती करणी हो । यसैगरी अप्राकृतिक रूपमा पुरुषको लिङ्ग महिलाको गुदद्वारभित्र या पुरुषकै गुदद्वारमा पसाए पनि अप्राकृतिक करणी भन्ने गरिन्छ ।
जबरजस्ती करणीपश्चात् सजायसम्बन्धी कानुनी व्यवस्था
मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १८ को दफा २१९ देखि दफा २२९ सम्म जबरजस्ती करणी कसुरका विभिन्न शर्त र व्यवस्थाको उल्लेख गरिएका छन् । कसैले जबरजस्ती करणी गर्न नहुने, मञ्जुरी नलिई कुनै पनि महिलालाई करणी गर्न नहुने, अठार वर्षभन्दा कम उमेरकी बालिकाको मञ्जुरी भए पनि करणी गर्न नहुने, त्यसरी करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने भन्ने व्यवस्था रहेको छ । हाडनातामा करणी गर्न नहुने, थुनामा रहेको व्यक्तिसँग, आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग, कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग पनि करणी गर्न नहुने । कसैले कसैलाई यौन दुव्र्यवहार, बालयौन दुरुपयोग गर्न नहुने, अप्राकृतिक मैथुन गर्न नहुने, करणीसम्बन्धी कसुरमा पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डरधाक धम्की दिई वा करकापमा पारी, कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो कसुरमा उजुरी नगर्न जाहेरी नदिन आदि कुरामा दबाब दिन वा प्रभावमा पार्न नहुने, पीडित व्यक्तिलाई क्षतिपूर्ति भराइदिनु पर्ने र जबरजस्ती करणी मुद्दामा के कहिले अवधिसम्ममा जाहेरी वा उजुरी दिई सक्नु पर्ने भन्ने जस्ता हदम्यादबारे व्यवस्था गरिएको छ । दफा १८ (१)मा कसैले जबरजस्ती करणी गर्न हुँदैन भने उपदफा (२)मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने उल्लेख गरिएको छ । महिलाको मञ्जुरीबिना वा डर, धाक, धम्की वा करकापमा पारी यौन सम्बन्ध राख्नुलाई गम्भीर एवं जघन्य फौजदारी कसुर मानेको छ ।
कुनै पनि महिलाको मञ्जुरीबिना वा मञ्जुरी तथा सहमति भए पनि डर, त्रास वा प्रलोभनमा पारी करणी गरिएको अवस्थालाई जबरजस्ती करणी भन्ने गरिएको छ । दफा २१९ को स्पष्टिकरणमा– करकाप अनुचित प्रभाव, डर त्रास, झुक्यानमा पारी, अपहरण गरि, शरीर बन्धक लिई, लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन भनिएको छ । यसैगरी होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन । त्यसैगरी गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्गबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था गरिएको छ । १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए त्यस्ती महिलाको मञ्जुरी नलिई वा करकाप वा अनुचित प्रभावमा पारी…. अपहरण वा शरीर बन्धक बनाई करणी गरेको ठहरेमा वा होस ठेगानमा नरहेको अवस्थामा वा अप्राकृतिक किसिमले कसुर गरेको ठहर भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय र तीन लाख रुपैयाँ जरिवाना हुने र त्यस्तो जरिवानाबापत प्राप्त सबै रकम प्रचलित कानुनबमोजिम पीडित राहत कोषमा जम्मा गरि दफा २२८ बमोजिम पीडित व्यक्तिलाई जरिवानाबाट प्राप्त हुने रकम समेत पीडितलाई भराइनेछ । पीडितको उमेरअनुसार प्रतिवादीलाई २५ वर्षसम्म अर्थात् जन्मकैदको सजायसम्म हुने र प्रतिवादीको कसुर र कैद सजायअनुसार प्रतिवादीलाई तीन लाखदेखि सात लाखसम्म जरिवाना तोकी सो रकम पीडितलाई भराइदिने व्यवस्था रहेको छ ।
यदि हाडनाताभित्र कसैले करणी गरेमा उमेर र नाताअनुसार कैद सजाय र जरिवाना हुनेछ । वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद सजाय हुनेछ । मानव रोग प्रतिरोधक क्षमता ह्रास गर्ने जिवाणु अर्थात् एचआईभी एड्स वा सरुवा यौनरोग भएको थाहा पाउँदा पाउँदै कसैले जबरजस्ती करणी गरेको भए त्यस्तो कसुरदारलाई माथि लेखिएको सजायमा यसै संहिताको दफा १०५ बमोजिम दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ । यदि कसैलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेमा, छ महिनाभन्दा बढीको गर्भवती, अशक्त अपाङ्ग, शारीरिक वा मानसिक रूपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जबरजस्ती करणी गरेमा थप पाँच वर्षसम्म कैद सजाय हुनेछ । पूर्ण अशक्त अपाङ्गता भएकी महिलालाई करणी भएमा जन्म कैद हुनेछ । कसैले हाडनाताकी महिलालाई जबरजस्ती करणी गरेकोमा सजाय हुने रहेछ भने सो सजाय समेत थप हुनेछ । माथि उल्लेखित कसुर दश वर्षमुनिको बालकले गरेछ भने उसलाई कुनै सजाय हुँदैन, दश वर्ष वा सोदेखि माथि १४ वर्षमुनिको बालबालिकाले गर्दछ भने ६ महिनासम्म सजाय हुन सक्ने, चौध वर्ष वा सोह्र वर्षभन्दा कम उमेरको मानिसले कसुर गरेमा सम्बन्धित कसुरमा हुने सजायको आधा कैद सजाय हुने, १६ वर्ष वा सोभन्दा माथि अठार वर्ष नपुगेको कुनै बालकले कसुर गरेको ठहर भएमा सम्बन्धित कसुरमा हुने सजायमा त्यसको दुईतिहाइ सजाय हुनेछ भनी बालबालिकासम्बन्धी ऐनको दफा ३६ मा व्यवस्था गरिएको छ । जबरजस्ती करणीको कसुरमा मिलापत्र गराउन, दबाब दिन नहुने यस्तो कार्य गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
हदम्याद
जबरजस्ती करणीको कसुर बालबालिकाविरूद्ध भएको भए बालबालिका अठार वर्ष पूरा भएको मितिले तीन वर्षभित्र, यस्तो कसुर पूर्ण अशक्त अपाङ्गता भएका, सुस्त मनस्थिति भएका, सत्तरी वर्षभन्दा बढी उमेर भएका व्यक्तिलाई गरेको भए तीन वर्षभित्र, अन्यको हकमा दुई वर्षभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसुरमा भए कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन भन्ने व्यवस्था गरिएको छ ।
ज्यानसम्बन्धी कसुर र सजाय
मानिसको लागि सबै भन्दा प्रिय वस्तु÷चिज भनेको आफ्नो शरीर अर्थात् ज्यान हो । कसैले कसैको ज्यान मार्न मराउन हुँदैन । मुलुकी अपराधसंहिता २०७४ अनुसार कर्तव्य ज्यान, डाँकासहित कर्तव्य ज्यान, अपहरण गरि कर्तव्य ज्यान, शरीर बन्धक राखी करणी गरि मारिफाले शरीर बन्धकपछि कर्तव्य ज्यान आदि भन्ने गरिन्छ । मार्ने मनसाय नियत केही नभई तत्काल रिसको आवेशमा आई मानिस मर्दछ भने त्यस्तो हत्या आवेशप्रेरित हत्या हुने, कहिलेकाहीँ मार्न चाहेको मानिस नमरी अर्को मानिस मारिन पुग्छ भने पनि कर्तव्य नै हुने, कहिलेकाहीँ सावधानी नअपनाई कुनै कार्य गर्दा लापरवाही र अपनाउनै पर्ने सतर्कता नअपनाउँदा हेलचेक्र्याइँ गरी ज्यान जाने गर्दछ । कुनै मानिसले मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ बमोजिम कसैलाई नियतपूर्वक ज्यान मार्ने, मार्ने नियत राखी ज्यान मार्ने कुनै काम गर्ने गराउने गर्दछ भने यस्तो कार्य कर्तव्य ज्यान हुन्छ । दफा १७८ बमोजिम ज्यान जान सक्छ भन्ने जानीजानी वा ज्यान जाने गरि विश्वास गर्नु पर्ने कारण हुँदाहुँदै त्यस्तो कुनै काम गरि ज्यान मरेको रहेछ भने यस्तो कार्य पनि कर्तव्य ज्यान हुने गर्दछ । दफा १७९ बमोजिम आवेशमा आई कसैको ज्यान मर्दछ भने आवेशप्रेरित हत्या हुन्छ । एउटा मानिस मार्नु पर्नेमा अर्को मानिस मरेमा पनि कर्तव्यको कसुर भन्ने गरिएको छ । जघन्य अपराधमा दश वर्ष वा सोभन्दा माथि कैद सजाय हुने कसुर पर्दछन् ।
गम्भीर कसुरमा तीन वर्ष वा सोभन्दा माथि दश वर्षसम्म कैद सजाय हुने कसुरलाई भन्ने गरिन्छ । कसैको ज्यान मार्ने मनसाय या नियतसहित या जानीजानी मार्ने काम गरेमा या कसैको ज्यान यस कार्यले मर्छ भन्ने विश्वास लाग्दालाग्दै मर्छ भने यस्तो कार्य गर्ने व्यक्तिलाई मुलुकी अपराधसंहिताको दफा १७७ र १७८ बमोजिम जन्मकैद (२५ वर्ष कैद ) हुनेछ । यस्तो कसुर ठहर भएमा यसै संहिताको दफा १८६ बमोजिम कसुरदारबाट पीडित व्यक्ति वा निज नभए निजको हकवालालाई मनासिव क्षतिपूर्ति भराइदिनु पर्नेछ भन्ने व्यवस्था छ । यदि मुलुकी अपराधसंहिताको दफा ४१ बमोजिम जबरजस्ती करणी गरि ज्यान मारेको भए त्यस्तो कसुरदारलाई कसुरदार जीवित रहेसम्म कैद सजाय गर्नु पर्नेछ भन्ने व्यवस्था छ ।
इनिसा जबरजस्ती करणीकोे घटना, हत्या प्रकरण र प्रचलित कानुनको सम्बन्ध
प्रस्तुत घटना तथा वारदातको अनुसन्धान कार्य पूरा भइसकेको छैन । मृतक नाबालिका हुन् कि होइनन्, मृतकलाई के कति पुरुषले करणी गरि हत्या गरेका हुन् ? के कसरी निकिसालाई मारेका हुन् ? करणी गर्ने मानिस र करणीपछि हत्या गर्ने मानिस फलाना हुन् भन्ने तथ्य खुल्ने कागज मिसिल संलग्न रहन बाँकी नै छन् । प्रारम्भिक तथ्यांक यदि सहि छ भने यीनै पुरुषले जबरजस्ती करणी गरि करणीपछि मारेका रहेछन् भने साथै सामूहिक रूपमा करणी गरि हत्या गरेका रहेछन् भने यी कसुरदारहरूलाई कडा सजाय हुने अवस्था देखिन्छ ।
जबरजस्ती करणी र हत्यासम्बन्धी कानुनी व्यवस्थामा देखिएका केही संक्षिप्त समस्या
मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ मा नियतले÷नियतपूर्वक भन्ने शब्दको प्रयोगले शाब्दिक अर्थ बुझ्न कठिन, दफा १७७ को स्पष्टीकरणमा तत्कालै ज्यान नमरी सोही चोटको परिणामस्वरुप पछि ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिनेछ भन्ने उल्लेख भएबाट कति समयपछि मरेमा भन्ने समय यकिन भएको पाइँदैन । खसिया आखर, खश भाषा–शब्दकोष पृष्ठ ६४४ मा नियत भन्नाले – १. भित्री सोच, आन्तरिक उद्देश्य वा लक्ष्य, इरादा, मनसुबा, मनसाय विचार, चाहना भन्ने भन्ने र प्रज्ञा बृहद् शब्दकोषमा– आन्तरिक उद्देश्य वा लक्ष्य, इरादा, मनसुबा, मनसाय भन्ने उल्लेख छ । मुलुकी अपराधसंहिता, २०७४ को दफा ४१ बमोजिमका कसुरमा सजाय पाउने कुनै कसुरदारलाई जीवित रहेसम्म कैद सजाय गर्नु पर्ने भनिएको छ । संहिताको दफा ४५ तथा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६ ले बालबालिकाले त्यस्तो कसुर गरेमा कति वर्ष कैद सजाय हुने भन्ने स्पष्ट लेखिएको देखिँदैन । अपराधसंहिताको दफा २२८ मा कसुरदारबाट पीडितलाई मनासिव क्षतिपूर्ति भराइने भनिएको छ, मनासिव माफिकका मापदण्ड के हुने ? न्यायकर्तालाई नै स्वतन्त्र रूपमा छोडिदिएको पाइन्छ । अनुसन्धान कार्य सम्पन्न नहुँदै पत्रपत्रिका र समाचारले दिएका विचारले अनुसन्धान कार्य र न्यायिक कार्यलाई प्रभावित पार्ने देखिन्छ । उपर्युक्त समस्याको समाधान गर्नु पर्ने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्