श्यामलाल पोखरेल । बुटवल ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सरकारले निजी क्षेत्रलाई सम्बोधन हुने गरी नीति कार्यक्रम बनाउनु पर्ने बताएका छन् । उनले उधारोमा भएको कारोबारले उद्योगी व्यवसायीलाई निकै अप्ठ्यारोमा पारेको भन्दै उधारो असुली हुने गरी कानुन आवश्यक पर्ने बताए ।
शनिबार तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको सम्पन्न १२औँ वार्षिक साधारणसभामा बोल्दै उनले कृषिको व्यावसायिक विकास र कृषिजन्य कच्चा पदार्थमा आधारिक औद्योगिक विकास हुनुपर्ने बताए । उद्योगी व्यवसायीका लागि चुनौती धेरै रहेको बताउँदै चुनौतीका सामना गरेर औद्योगिक विकास तथा निजी क्षेत्रको प्रवद्र्धनका लागि आफू र आफ्नो टिमले काम गर्ने आश्वासन दिए ।
उनले झण्डै दुईतिहाइ नजिकको जनमत प्राप्त गरेको रास्वपालाई निर्वाचनमा गरेका वाचा कार्यान्वयन गर्न सुझाव दिँदै अब बन्ने सरकारले निजी क्षेत्रका भावना बुझेर काम गर्नुपर्नेमा जोड दिए । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले निजी क्षेत्रका समस्याप्रति तिलोत्तमा नगरपालिका सधैँ सकारात्मक रहेको बताउँदै उद्योगी व्यवसायीका समस्यामा स्वयम् उद्योगी व्यवसायीले आवाज उठाउन आग्रह गरे ।
खुला सीमाको फाइदा उठाएर पारि जाने उपभोक्ताको बानी परिवर्तन गर्न आवश्यक रहेको भन्दै उनले भने, ‘प्रहरी प्रशासनले गर्ने ज्यादतीले भारतीय पर्यटक तथा सरकारको औद्योगिक नीतिले लगानीलाई निरुत्साहित गरेको छ ।’ उद्योग स्थापना गर्दा ७० प्रतिशत खुला राख्नुपर्ने र ३० प्रतिशत जमिनमा मात्रै भवन निर्माण गर्नुपर्ने प्रावधानले उद्योगीलाई निरुत्साहित गरेको औँल्याउँदै उनले नगरपालिकाले त्यसलाई संशोधन गरेर ५०÷५० प्रतिशतका प्रावधान बनाइएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले औद्योगिक नीति झन्झटिलो रहेको बताउँदै अब बन्ने सरकारले लिने नीतिले उद्योग व्यवसायको भविष्य निर्धारण गर्ने उल्लेख गरे । तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले अब बन्ने सरकारले नीतिगत सुधार गरेर सहयोग गर्नुपर्ने बताए ।
उनले नीजि क्षेत्र कमजोर भए देशको आर्थिक अवस्था झनै कमजोर बन्दै जाने भएकाले आर्थिक रूपमा गतिशील भएर औद्योगिक विकास, सुशासन, पारदर्शीता र उत्तरदायी भएर काम गर्न सुझाव दिए । उनले देशको मध्यभागमा रहेको तिलोत्तमा सम्भावित क्षेत्र भएको बताउँदै तिलोत्तमा र बुटवललाई औद्योगिक क्षेत्रको विकास गरेर आर्थिक हबको रूपमा विकास गर्न सकिने बताए ।
कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, महासचिव राजकुमार पाण्डेले उद्योगी व्यवसायीका समस्या उजागर गर्दै अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रलाई बलियो बनाउन नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्