मुस्लिम धर्मावलम्बीहरूले बनाए इद उल फित्र



इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल–फित्रको अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिदमा सामूहिक नमाजमा शनिबार सहभागी हुँदै मुस्लिम समुदाय । तस्बिरः किरणराज बिष्ट /रासस

बाँके ।

मुस्लिम धर्मावलम्बीहरूले शनिबार बाँकेसहित देशभर इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थानमा कोही छाता ओढेर, कोही पानीमा भिजेर मुस्लिम धर्मावलम्बीले बाँकेको नेपालगन्जको विपीचोकस्थित इदगाहमा इद उल फित्र मनाएका हुन् ।

यस वर्ष पर्वको अघिल्लो दिनदेखि वर्षा भइरहेकाले अघिल्ला वर्षको जस्तै सडकसहित खुला स्थानमा घुइँचो नभए पनि मस्जिदमा मुस्लिम धर्मावलम्बीको घुइँचो लागेको थियो । इदगाहको भित्रपट्टीको खुला स्थानमा केहीले छाता ओढेर र केहीले पानीमा भिजेर नमाज पाठ गरेका थिए। अरबी पात्रो हिजरी संवत्अनुसार नवौँ महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउने चलन छ ।

नेपालगन्ज–१७ परस्पर निवासी निजामुद्दिन इद्रिसीले एक महिनाको रोजा बस्नु भनेको प्रत्येक मुस्लिम समुदायको कर्तव्य र धर्म हुने उल्लेख गर्दै इद शान्तिको पैगाम भएको बताए । उनले विश्व शान्तिका लागि प्रार्थना गरिएको भन्दै मुस्लिम समुदायका लागि विश्वमा कुरान, अजान एकमात्र धर्मग्रन्थ रहेको उल्लेख गरे ।

मुस्लिम समुदायमा विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने चलन छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मिष्ठान्न भोजन गराउने प्रचलनसमेत रहेको छ ।

खुसीपूर्वक दानगरी दुःखी तथा गरिबलाई बाँडिने भएकाले यसपर्वलाई इद उल फित्र भनिएको हो । यसबाहेक नेपालगन्जसहित देशभरका अन्य मस्जिद तथा इदगाहमा पनि विशेष नमाज पाठ गरिएको थियो । एक महिनादेखि मुस्लिम समुदायको लामो व्रत (रोजा) सुरु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार