काठमाडौँ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को चैत १३ गते झापामा हुन लागेको केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित गर्ने निर्देशन दिएको छ । राखेपका संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले पत्राचार गर्दै एन्फाले सधारणसभामार्फत् गर्न लागेको निर्वाचन स्थगित गरी जानकारी गराउन निर्देशन दिएका हुन् ।
निर्वाचनको विषयमा कुनै प्रकारको समन्वय नगरी पुनःनिर्वाचन सम्बन्धी तालिका प्रकाशन गरिएको विभिन्न सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भाएको राखेपको भनाइ छ । ‘साधारणसभा तथा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ को (ग)अनुसार परिषद्को स्वीकृति नभएसम्म स्थगित गर्न राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को (ड) वमोजिम निर्देशन गरिएकोमा सो निर्देशनविपरीत अटेर र बेवास्ता गरि पुनःनिर्वाचनसम्बन्धी थप तालिका प्रकाशन गरिएको विभिन्न सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भएकोले परिषद्को गम्भीर ध्यानाकर्षण भएको जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।
निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य स्थगित गरी पत्र प्राप्त मितिले ३ (तीन) दिनभित्र राष्ट्रिय खेलकुद परिषद्लाई लिखित जानकारी गराउन पनि निर्देशन दिइएको छ । एन्फाले जिल्लाको निर्वाचन नगरी एकैपटक केन्द्रीय समितिको निर्वाचन गर्न लागेको भन्दै विरोध भइरहेको छ । यस विषयमा उच्च अदालत पाटनमा समेत मुद्दा परेको थियो । तर उच्च अदालतले निर्णय प्रक्रियामा सबै केन्द्रीय सदस्यको सहमति भएको भन्दै निर्वाचन गर्न बाटो खुला गरिदिएको थियो ।
तर राखेपले एन्फाको विधान संशोधन नगरी निर्वाचन गर्न नहुने भन्दै स्विकृति दिन अस्वीकार गर्दै आएको छ । एन्फा निर्वाचनमा हालका अध्यक्ष पंकजबिक्रम नेम्बाङ र उपाध्यक्ष दीर्घबहादुर केसीको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । यसका लागि सबै प्रक्रिया पूरा भएर मतदान हुन मात्र बाँकी छ ।









प्रतिक्रिया दिनुहोस्