दूर मानसिक स्वास्थ्य सेवाको तयारीमा सरकार



नेपालगन्ज ।

संघीय सरकारले ल्याएको ‘दूर मानसिक (टेलि–मेन्टल) स्वास्थ्य सेवा सञ्चालन कार्यविधि, २०८२’ माथि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकारीहरूले नेपालगन्जमा छलफल गरेका छन् । मानसिक स्वास्थ्य सेवाको बढ्दो माग, भौगोलिक असमानता र पहुँचको चुनौतीलाई सम्बोधन गर्न ल्याइएको उक्त कार्यक्रमको कार्यविधिले दूरसञ्चार प्रविधिमार्फत मानसिक स्वास्थ्य सेवा सर्वसुलभ बनाउन सघाउने अधिकारीहरूको निष्कर्ष छ ।

मानसिक रोग विशेषज्ञ डा. बिनिता ढुंगेलले कार्यविधिका प्रावधान, सेवा प्रवाहको ढाँचा तथा सम्भावित चुनौतीबारे प्रस्तुति गर्दै कार्यक्रमले ग्रामीण तथा दुर्गम क्षेत्रमा मानसिक स्वास्थ्य सेवा विस्तारको प्रभावकारी माध्यम बन्ने उद्देश्य राखेको बताइन् । छलफलमा सहभागिहरूले टेलि–मेन्टल स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि प्रविधि पूर्वाधार, दक्ष जनशक्ति, गोपनीयता सुरक्षा र पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।

साथै, उनीहरूले प्रदेश र स्थानीय तहबीच समन्वय अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए । छलफल कार्यक्रम स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कार्यक्रममा नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. पोमावती थापाले कार्यविधिलाई व्यवहारिक र प्रभावकारी बनाउन सुझाव संकलन गरिएको जानकारी दिइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य सेवा निर्देशनालय प्रमुख नोद नारायण चौधरी, कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्का लगायतको उपस्थिति थियो । कार्यक्रममा नेपालमा हाल दैनिक करिब २० जनाले आत्महत्या गर्ने गरेको र आर्थिक वर्ष २०८–०८२ मा मात्रै ७ हजार ५ जनाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गरिएको थियो ।

विशेष गरी कैलाली, कञ्चनपुर र इलाम जिल्लामा आत्महत्याको दर उच्च रहेको उल्लेख र आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या नै रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार